त्रिविका ३५० शिक्षक–कर्मचारीलाई सम्पर्क गर्न १५ दिने अल्टिमेटम

1.22k
Shares

–५० करोड उठ्नसक्ने अनुमान
–तत्काल फर्कन निर्देशन

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका ३ सय ५० जना प्राध्यापक र कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।

अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । अघिल्ला उपकुलपति प्राडा दीपक अर्यालको नेतृत्वको पदाधिकारीले अध्ययन बिदा सकिएका प्राध्यापक र कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा त्रिविले सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ– ‘तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने छ ।’ त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका करिब ५० जना प्राध्यापकले रकम फिर्ता गरेका थिए । त्रिविले ५० प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपियाँभन्दा बढी रकम फिर्ता भइसकेको छ । त्रिविको सूचनाको आधारमा अध्ययन बिदा लिएर बसेका प्राध्यापकले विवेकको आधारमा रकम फिर्ता गरेका थिए । कानुनतः त्रिविले विदेशमा बसेका वा प्राध्यापक र कर्मचारीसँग रकम असुल गर्ने व्यवस्था छैन ।

कि त नेपाल प्रवेश गर्नासाथ पक्रिन प¥यो । होइन भने कानुन बनाएर अनिवार्य रूपमा सम्पर्कमा ल्याउने व्यवस्था गरी रकम फिर्ता गर्नुप¥यो । अध्ययन बिदा लिएर विदेश पलायन भएका प्राध्यापक र कर्मचारी दिल्ली हँुदै नेपाल प्रवेश गर्ने गरेका छन् । अब नेपाल आउनासाथ पक्राउ गरी रकम फिर्ता लिने व्यवस्था गरेमा मात्र त्रिविलाई ठगी गर्ने प्राध्यापक र कर्मचारीबाट रकम असुल गर्न सकिने तर्क त्रिविको छ । पूर्व उपकुलपति दीपक अर्यालले आफूहरूको कार्यकालमा करिब ११ करोड रुपियाँ फिर्ता गरेर महत्वपूर्ण काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘त्यसबेला नगरेको भए अहिले कसरी यति धेरै रकम संकलन हुन्थ्यो ।’ अघिल्लो कार्यकालका पदाधिकारीको कारण अध्ययन बिदा दिएर नफर्किएका शिक्षक र कर्मचारीको सूची सार्वजनिक गर्न सफल भएको हो । विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । तर, केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ ।

त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ । त्रिविका कर्मचारी र प्राध्यापकले ५ वर्षे अध्ययन बिदा पाउनेछन् । सो बिदाको दुरुपयोग गर्ने प्राध्यापकले अहिले धमाधम जरिवाना तिरिरहेका छन् ।
त्रिवि कार्यकारी परिषद्ले गएको पुस २५ गते डा. जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय खोजबिन समिति गठन गरेको थियो ।

समितिले चार महिना लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । विश्वविद्यालयको नियम, मर्यादा तथा जिम्मेवारीप्रति बेवास्ता गर्दै ठगी गरेका प्राध्यापक र सहप्राध्यापकमध्ये केही विदेशमा गायब छन् भने केहीले प्रमाणपत्र पेस गरेका छैनन् । रकम नतिरेर ठाँटले बसिरहेका छन् । त्यसरी त्रिविलाई ठगी गर्नेको संख्या ३९८ छन् । तीमध्ये १ सय ९१ नफर्किएका र २ सय ७ जना बिदा लिएर अध्ययन पूरा नगर्नेमा अर्थात प्रमाणपत्र पेस नगर्ने छन् ।

प्रतिवेदनमा ९ अध्ययन संस्थानमध्ये इन्जिनियरिङका ६२ जना नफर्किएका र ३७ जना प्रमाणपत्र पेस नगरेका गरी ९९, विज्ञान प्रविधि अध्ययन संस्थानका १०६, वन विज्ञानका २८, कृषि तथा पशु विज्ञानतर्फको १३, चिकित्साशास्त्र अध्ययन संस्थानको ९ जना, मानविकी तथा सामाजिक संकाय अध्ययन संस्थानमा ११४ रहेको छ । शिक्षाशास्त्रमा ९, व्यवस्थापनमा १९ र कानुनमा प्रमाणपत्र पेस नगरेका १ जना छन् । ९ वटा संकायमा नफर्कने १९१ र प्रमाणपत्र पेस नगरेका २०७ गरी ३९८ छन् ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । पाँच वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि विदेश बस्ने सबै शिक्षक र कर्मचारीको फेहरिस्त तयार गरेको थियो । त्रिविका शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ ।