उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबीच समझदारी


काठमाडौं।

नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यसहित वायुसेवा सञ्चालक संघ, नेपाल (AOAN) र एरोनटिकल सोसाइटी अफ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आइतबार सम्पन्न समझदारीमार्फत दुवै संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

AOAN सन् २०५५ मा नेपालको उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापना भएको हो भने AeSN सन् २०७५ देखि प्राविधिक ज्ञान, अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा सक्रिय रहँदै आएको छ। दुवै संस्थाले आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई एकीकृत गर्दै नेपालको उड्डयन क्षेत्रको सुदृढीकरणका लागि संयुक्त रूपमा काम गर्ने जनाएका छन्।

समझदारीअनुसार उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम सञ्चालन, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रवर्द्धन तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ। साथै विद्यार्थी, युवा पेशाकर्मी तथा भावी नेतृत्व विकासका कार्यक्रमहरूमा पनि सहकार्य गरिने बताइएको छ।

दुवै संस्थाले उड्डयन क्षेत्रमा सुरक्षा संस्कृतिको विकास, दिगो उड्डयन प्रवर्द्धन, डिजिटलाइजेशन, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (AI) लगायत उदीयमान प्रविधिको प्रयोग विस्तारमा समेत सहकार्य गर्ने भएका छन्।

समझदारीले वायुसेवा कम्पनी, विमानस्थल तथा सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद्, विद्यार्थी तथा भावी उड्डयन व्यवसायीहरूलाई एउटै साझा मञ्चमा जोड्दै ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

यसैगरी सेमिनार, सम्मेलन, कार्यशाला तथा प्राविधिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा ज्ञान आदानप्रदान र नीति संवाद कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

AOAN का अध्यक्ष प्रतापजंग पाण्डेले नेपालको उड्डयन क्षेत्रलाई एकीकृत, प्रतिस्पर्धी, सुरक्षित तथा भविष्यका चुनौतीसँग जुध्न सक्षम बनाउने अभियानमा सबै सरोकारवालालाई सहभागी हुन आह्वान गरेका छन्।