अतिक्रमित हातीमारा खोला उकास गर्न पहल

658
Shares

उदयपुर ।

त्रियुगा नगरपालिकाले खोला मासेर बस्ती बसाएको जग्गा उकास गर्न संघीय सरकारको नीति अनुसार आवश्यक प्रक्रिया प्रारम्भ गरेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै त्रियुगा नगरपालिकाले हातिमारा खोलासम्बन्धी विस्तृत विवरण संकलन प्रक्रिया अघि बढाएको छ ।


देशभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, पहिचान तथा अतिक्रमण नियन्त्रणका लागि राज्यले अभियान तीव्र बनाइरहेका बेला त्रियुगा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिको खोजी तथा अभिलेखीकरण प्रक्रिया सुरु गरेको हो ।

यसै क्रममा नगरपालिकाले वडा नं. ९ र १० अन्तर्गत पर्ने हातिमारा खोलासम्बन्धी विगतका सम्पूर्ण अभिलेख, नक्सा, जग्गा दर्ता विवरण तथा सम्बन्धित निकायका सिफारिस र कागजात उपलब्ध गराइदिन भूमि प्रशासन कार्यालय (मालपोत) उदयपुर र नापी कार्यालय उदयपुरलाई पत्राचार गरेको छ ।

नगर प्रमुख बसन्तकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा हातिमारा खोलाको वास्तविक अवस्था, खोलाक्षेत्रको जग्गा कुन–कुन व्यक्तिको नाममा र कहिले दर्ता भएको, त्यसमा संलग्न तत्कालीन सरकारी निकाय तथा पदाधिकारीहरूको विवरणसमेत माग गरिएको छ । नगरपालिकाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत यस विषयमा उजुरी परेको तथा स्थानीय तहमा पटक–पटक ध्यानाकर्षण गराइएकाले तथ्यगत अध्ययनका लागि अभिलेख आवश्यक परेको हो ।

नगर प्रमुख बस्नेतले सार्वजनिक सम्पत्तिमाथि कसैले अवैध कब्जा जमाउन नपाओस् भन्ने उद्देश्यले नगरपालिकाले अध्ययन प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार हातिमारा खोलासम्बन्धी यथार्थ अवस्था सार्वजनिक गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पुराना अभिलेखहरूको अध्ययन गरिनेछ । नगरपालिकाले दशकौँ पुराना अभिलेख, नक्सा तथा जग्गा दर्तासम्बन्धी कागजातको खोजी गरी हातिमारा खोलाको वास्तविक इतिहास पत्ता लगाउने तयारी गरेको जनाएको छ ।

प्राप्त अभिलेखका आधारमा खोलाक्षेत्रको अवस्था, स्वामित्व तथा सम्भावित अतिक्रमणबारे विस्तृत अध्ययन गरिने नगरपालिकाको भनाइ छ । स्थानीय तहको यो पहललाई सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।