सरकार ढाल्ने ध्येय

1.13k
Shares

वर्तमान बालेन्द्र साह नेतृत्वको सरकार झन्डै दुई तिहाइ बहुमतको सरकार हो । विगतका सरकारले लामो कालखण्डमा शासनमा रहँदाका बखत पनि ‘नक्कली सुकुम्बासी हटाऊ र सक्कली सुकुम्बासीको पहिचान गरेर तिनलाई उचित व्यवस्थापनको काम गर’ भन्ने जनादेशलाई पूरा गराउन सकेका थिएनन् । उक्त कामलाई बालेन नेतृत्वको सरकारले केही दिनमै पूरा गरेर देखाइदियो । उता वास्तविक सुकुम्बासीको पहिचान भएकालाई सरकारले कसरी व्यवस्थापन गर्ला भन्ने कुरो भविष्यलाई जिम्मा लगाएर बस्नु उचित हुनेछ । देशमा भएका आम भ्रष्टाचारीलाई खोजबिन गरेर उचित कार्यवाही गर्नुपर्ने जनादेशको अर्को महत्वपूर्ण आदेश रहेको थियो, जुन कामलाई बालेन सरकारले हाल द्रुत गतिमा अगाडि बढाइरहेको छ । बालेन नेतृत्वको सरकारले विगतमा भएका वा हुने गरेका गलत क्रियाकलापलाई निमिट्यान्न पारेर लैजाने र भविष्यमा पनि अनैतिक काम गर्नु नहुने रहेछ भन्ने खालको पाठ पढाउने धुनमा रहेको पाइन्छ ।

मूलरुपमा भन्ने हो भने, विगतका सत्तारुढ राजनीतिक दलका नेता अनि तिनलाई अनैतिक काममा लाग्न हौसला प्रदान गरेर देशको ढुकुटी रित्याउने काममा लागेका जो–कसैलाई पनि नछोडी उचित कार्यवाहीको दायरामा ल्याउन सक्ने क्षमता हालको बालेन नेतृत्वको सरकारसँग रहेको पाइन्छ । यसै क्षमताका कारण सरकारले गर्दै गरेका अनेक थरीका सुधारका कामले आम नेपाली जनताको मन जित्न सफल बन्दै छ । विदेशी विशिष्ट पाहुना नेपाल आउँदा यहाँका विशिष्ट व्यक्तिलाई भेट्न जानुको साटो हाम्रै विशिष्ट व्यक्तिहरू उनीहरुलाई भेट्न हतारिएर पुग्ने चलनको अन्त्य गर्दै सरकारबाट नयाँ तरिका अपनाएर नेपालीको भाउ बढाउने काम भएको छ । संसारका विभिन्न देशसँगको कूटनीतिक मैत्रीपूर्ण सम्बन्धका कारणले गर्दा छिमेकीलगायतका अन्य देशहरुबाट हामीलाई विकासका विभिन्न क्षेत्रमा हुनुपर्ने सहयोगको अपेक्षा राख्न सकिने अवस्था सिर्जना हुँदै जान थालेको छ ।

अर्को कुरा, बालेन सरकारले साना सहकारी पीडितले पाउनुपर्ने रकम केही मात्रमा प्रदान गरेको छ । अब क्रमशः प्रदान गर्दै जाने ताकमा सरकार रहेको होला भन्न सकिने अवस्था बनेको छ । सरकारी कर्मचारीमा अनुशासन तथा कर्तव्यनिष्ठताको विकास गराउनमा सरकार दत्तचित्त भएर लागेको छ । विगतका सरकारले लुटेर खाएका र बाध्यतावश बन्द भएका उद्योगहरू जति सक्दो चाँडो खोल्ने दाउमा छ सरकार । बन्द भएका उद्योगहरू खोलिए हाम्रा हजारौँ युवाहरूले बाध्य भएर विदेश जानै पर्ने अवस्थाको अन्त्य भई स्वदेशमै बाँच्न र कमाउन सकिने अवस्था चाँडै सिर्जना हुनेछ भन्ने कुरामा आशावादी बन्न सकिने ठाउँ रहेको छ । आर्थिक क्षेत्रमा हेर्ने हो भने, नयाँ सरकारले आर्थिक मितव्ययिताको नीति अपनाएको छ । विगतका सरकारले देशको ढुकुटीको मूल चाबी हातमा थुतेर देश लुट्ने बाटोमा हिँड्ने परम्परा बसेकोमा यसलाई नामेट पार्ने धुनमा बालेन सरकार लागेको छ ।

वर्तमान सरकार विगतका सरकारको तुलनामा आर्थिक मितव्ययिताको सबल पक्षमा लागेका कारण राज्यको शासकीय खर्चमा मितव्ययिताको सिद्धान्त लागू भएको छ । सरकारले छोटो समयमा गरेका यी सकारात्मक कर्मका कारण विपक्षी राजनीतिक दलका मानसमा आगो बल्न थालेको छ । यो आगोको रापिलो तातोले आफैँलाई भतभत पोल्न थालेका कारण अब बालेन सरकारलाई कसरी ढाल्ने ? भन्ने उपायको खोजीमा लागेका देखिन्छन् । झन्डै दुई तिहाइ बहुमतको सरकार भएको हुनाले त्यसलाई हतपत ढाल्न सकिने अवस्था छैन भन्ने कुरा बुझेका प्रमुख प्रतिपक्षी राजनीतिक दलहरूले सरकारका जरा काट्न मज्जैले शुरु गरेको भान हुन थालेको छ । प्रतिपक्षीहरू जरा काटेर तत्काल सरकार ढाल्ने कार्यमा तदारुकताका साथ लागिरहँदा सरकार कतिको शक्तिशाली छ ? उसले विपक्षीको जरा कटाइलाई नियालिरहेको छ वा छैन ? र ढल्ने हो कि होइन ? भन्नेजस्ता यावत् कुराहरू सरकारको अबको कार्यशैलीमा भर पर्ने वा जोडिएका विषय हुन् ।

प्रतिपक्षीहरूले आफूले साँच्चै चाहेका खण्डमा केही घण्टामा नै बालेन सरकार ढाल्न सक्ने क्षमता रहेको कुरा बताएर आफ्नो पुरुषार्थको गाना गाइरहेका छन् । ती नेताले आम जनतालाई आह्वान गर्दै वर्तमानको बालेन सरकार ढाल्नको लागि एकपटक सबैले साथ दिनुपर्ने भनाइ राखेका छन् । साँचा नेपाली जनताले यो भनाइलाई कुनरुपमा लिए भन्दा पनि ती नेताको आह्वानलाई जनताले पत्याएर सम्मानका साथ सडक आन्दोलनमा उत्रने काममा सघाऊलान् त ? भन्ने कुरा महत्वपूर्ण रहेको छ । विगतमा आम जनतालाई पटक–पटक शासक बन्दै र धोखा गर्न पल्केका तिनले सरकारको विरुद्धमा विष वमन गर्न थालेका छन् । ती नेताबाहेकका अन्य राजनीतिक दलहरुले पनि विगतमा जताबाट जसरी मन लाग्छ त्यसै गरी देश लुटेर खान पल्केका र अहिले त्यसरी देश लुट्न त परै जाओस् विगतका दुष्कर्मले निम्त्याएको पापको फल भोग्नुपर्दाको भय र त्रस्त मानसिकताका कारण त्यसको आक्रोश वर्तमान सरकारसँग पोख्दै गरेको अवस्था छ । अब कसैले विदेशीसँग हारगुहार मागेरै भए पनि सरकार ढाल्नै पर्ने र आफ्नो भ्रष्ट युग पुनः फर्काएरै छोड्ने दाबी उनीहरुको मनले गरिरहेको होला ।

सरकारबाहिर रहेका विगतका सर्वाधिक ठूला ठानिएका राजनीतिक दलहरूले सरकार ढाल्नको लागि सरकारका जरा खन्ने काम तेजका साथ गर्दै छन् भने सरकारबाहिरकै अरु कुनै राजनीतिक दलहरूले सरकारले गरेका राम्रा कामका पक्षमा लाग्ने कुरा बताएर बालेन सरकाप्रतिको एकताको प्रतिबद्धता कायम राख्न खोजिरहेका छन् । यो प्रतिबद्धता कायम राख्नु भनेको सरकारलाई थप बल पुग्ने कुरा हो ।

सरकारबाहिर रहेका विगतका सर्वाधिक ठूला ठानिएका राजनीतिक दलहरूले सरकार ढाल्नको लागि सरकारका जरा खन्ने काम तेजका साथ गर्दै छन् भने सरकारबाहिरकै अरु कुनै राजनीतिक दलहरूले सरकारले गरेका राम्रा कामका पक्षमा लाग्ने कुरा बताएर बालेन सरकाप्रतिको एकताको प्रतिबद्धता कायम राख्न खोजिरहेका छन् । यो प्रतिबद्धता कायम राख्नु भनेको सरकारलाई थप बल पुग्ने कुरा हो ।

नेपालमा अबका दिनमा विगतको लोकतान्त्रिक शासन व्यवस्था टिकाउने हो भने सहज अवस्था हुने वा रहनेछैन । आम नेपाली जनताको बुझाइमा लोकतान्त्रिक व्यवस्था भनेको गरिब नेतालाई आम जनताले रगत र पसिना खर्चेर कमाएको धन सुम्पेर धनी बनाउने व्यवस्था रहेछ भनेर बुझेका छन् । त्यसैले व्यवस्था परिवर्तनको कार्य अनिवार्य छ भन्ने कुरा वर्तमान बालेन नेतृत्वको सरकारलाई पनि राम्ररी थाहा भएकै विषय हुनुपर्छ । सरकारका विपक्षी दलहरूले सरकारकै विरुद्धमा खन्न थालेको खाल्टो कसरी पुर्दै लैजाने हो वा त्यसै छोड्ने हो ? प्रधानमन्त्री बालेन साह र उनको राजनीतिक दल रास्वपाको अन्तरसम्बन्ध, हालको प्रधानमन्त्रीको मौनव्रत आदिले खासै प्रभाव नपार्ला । तर वर्तमान सरकारले सरकारको जरा खनेर ढाल्न खोज्नेलाई सोही खाल्टोमा दबाउन सक्छ । यसरी दबाउनको लागि कुनै देख वा अनदेख शक्तिको उपयोगको पनि जरुरत पर्नेवाला छैन ।

वर्तमान सरकार ढल्ने अवस्थामा पुग्नको लागि अबको बजेटमा विगतको लामो समयदेखि शिक्षा सुधारका खातिर विभिन्न माग राखेर विभिन्न आन्दोनमा प्रत्यक्ष जोडिएका शिक्षक कर्मचारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वर्तमानको बालेन सरकाप्रतिको शिक्षकहरुको त्यो विश्वासलाई कायम राख्ने मात्र होइन कि अझै बढावा दिने खालको व्यवस्था भएन भने बालेन सरकारलाई त्यो हलचलले कमजोर बनाउने कुरा निश्चित छ । मसिना झिँजाले मुढो पोल्छ भनेजस्तै आज हरेक नेपाली जनताले मात्र होइन कि लाखौँ विदेशीले समेतको बालेनको कामको प्रशंसा गरिरहेका छन् । भनिन्छ, सतीले सरापेको यो देशमा राम्रो तथा देशको भलो हुने काम गर्ने मान्छेको कहिल्यै भलो नहोस् भनेर भीम मल्लकी धर्मपत्नीले उनी सती बनेर चितामा जिउँदै जल्दै गर्दाको बखत दिएको श्राप लागेको छ । त्यसैले बालेन सरकारसमेत धेरै दिन वा पूरा दिन नटिक्ने दाबी गर्नेको पनि दुनियाँमा कमी छैन । तर आखिरमा जे भए पनि बालेन सरकारको विरुद्धमा सत्ताच्यूत हुनुपर्दाको पीडा मानसमा बोकेका विगतका शासकहरु नै लागेका कारणले गर्दा तरबारको धारमा हिँड्दाको जस्तो होसियारी अपनाएर अगाडि बढ्न सकेन र कहीँ कतै मात्र चुकेको खण्डमा खाल्टो गहिरो खनिराख्नै पर्नेछैन कि सानै खने पनि ढल्न सक्ने अवस्था बन्नेछ ।

विशेष गरेर बालेन सरकार सुकुम्बासी व्यवस्थापनका पक्षमा स्पष्ट दृष्टिका साथमा छैनन् भने तिनै सुकुम्बासीको नैतिकताको हतियारले उनको पतन गराएर छोड्नेछ । त्यस कारणले गर्दा प्रधानमन्त्री बालेन साहले मौनता साँधेर होइन कि संसद्लाई उचित तबरले सम्बोधन गरेर आफ्ना प्रतिबद्धतामा चट्टानझैँ दृढ रही अगाडि बढ्नु उचित हुनेछ ।

हरेक लोकतान्त्रिक शासन व्यवस्थामा सत्तामा पुगेका राजनीतिक दलले भ्रष्टाचार गरेर देश लुटेको भए पनि प्रतिपक्षले आफूले देश लुट्न नपाएको र सत्ताधारीले मात्र देश चुसेर मोटाएको भन्ने बुझाइको पीडामा छटपटिनुपर्ने रहेछ । देशको विकासको काम गरे पनि अब उसले वा फलानो पार्टीले चाँडै लोकप्रियता कमाउला तर आफ्नो राजनीतिक दल भने अनामी रहला कि ? भन्ने डाहले मन पोलेको हुन्छ । अझ बढेर भन्ने हो भने, हरेक समय नै सत्ताप्राप्तिको लालसा मानसमा रहेको हुन्छ । त्यो डाहको मानसिकतालाई समन गर्ने एउटै र मुख्य बाटो भनेकै बहालीमा रहेको सरकारलाई असमयमै ढालेर उसको अक्षमता जबरजस्तरुपमा देखाइदिनु र आफ्नो आवश्यकता पुष्टि गराउनु प्रमुख लक्ष्य रहेको पाइन्छ । सोही पूर्तिका लागि राजनीतिक किचलो सिर्जना गर्दै रहन्छ भने धमिलो पानीमा माछा मार्ने कामसमेत त्यहाँ चल्दै गरेको मात्र होइन कि राम्ररी फस्टाएको हुन्छ ।

विगतका सरकारको लागि हो भने सरकार गठन भएको तीन महिनासम्मको मधुमासको समयमा सरकार मधुमासकै रौनकमा डुबेको हुन्छ भन्ने मानिन्छ । त्यस कारण सरकार गठन भएको तीन महिना अर्थात् करिब ९० दिन बितेपछि मात्रै सरकारले गरेका काममध्ये कति न्यायका काम भए होलान् भनेर समीक्षा गर्नुका साथै सरकारका पक्षबाट देखाइएका कमजोर पक्षको स्वस्थ आलोचना गरी सरकारलाई सही बाटोमा ल्याउने प्रयास गर्नु हो । तर बालेन सरकार गठन भएको ६० दिनसमेत बित्न नपाउँदै सरकार ढाल्ने खतराजनक खेलमा लाग्नु औचित्यपूर्ण काम कदापि हुन सक्दैन । सबैलाई चेतना रहोस् ।