कटारीमा खानेपानीको समस्या: स्थानीयद्वारा नगरप्रमुखको घर घेराउ गर्दै प्रदर्शन

0
Shares

उदयपुर । 

उदयपुरको दोश्रो ठूलो नगरपालिका र बजार रहेको कटारी बजारमा अहिले खानेपानीको समस्या भएपछि स्थानीयले कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको घर अगाडि रित्तो गाग्रो लिएर खानेपानीको माग गर्दै प्रदर्शन गरेका छन् ।

कटारी नगरपालिकाको बजार क्षेत्र  रहेको वडा नं ३ ,४ ५ नं वडामा खानेपानीको एकसातादेखि समस्या भए पनि समाधानमा तत्परता नदेखाएपछि स्थानीयहरु रित्तो गाग्रो बोक्दै नगर प्रमुखको आँगनमा पुगेर प्रदर्शनमा उत्रिएका हुन । 

कटारी बजार क्षेत्रमा धेरै होटल, रेष्टुरेन्ट तथा व्यवसायिक प्रतिष्ठानहरु रहेको हुँदा होटलहरुमा दैनिक रुपमा पानीको प्रयोग अत्यधिक हुने गरेको छ । त्यसमाथि पनि गर्मीको समयमा पानीको प्रयोग बढी  हुने गरेकोले व्यवसायिक रुपमा पनि पानीको व्यपारले बढावा पाएको छ । पानीको अभाव भएपछि अधिकांसले बजारबाट महंगो पान किनेर खान बाधय भएको हुँदा सबैले पानी किनेर खान सक्ने अवस्था नभएको हुँदा स्थानीइ सरकार समक्ष रित्तो गाग्रो बोकेर पानीका लागि गुहार माग्न पुग्नु परेको स्थानीयको भनार्य रहेको छ । 

कटारी बजार नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार आयोजनाको मुख्य मोटरमा प्राविधिक समस्या देखिएपछि पानी वितरण प्रभावित भएको छ ।

खानेपानीको समस्या भएपछि कतिपय होटल तथा रेष्टुरेन्ट संचालकहरुले पानीको समस्या समाधान गर्न अटो तथा सिटी सफारीमा, ट्रयाक्टरमा, जीपमा स्थानीय तावा खोलाबाट पानी ल्याएर काम चलाउने गरेको स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले बताएका छन् । 

कटारीस्थित खानेपानी तथा सरसफाई स्वच्छता उपभोक्ता संस्थाद्धारा खानेपानी वितरण हुने गरेकोमा बजार क्षेत्र र वरपरका क्षेत्रमा विकराल रुप लिएको स्थानीयले बताएका छन् ।

आफ्नो घर अगाडि घेरा हालेर स्थानीयले रित्तो गाग्रो प्रदर्शन गरेपछि नगर प्रमुखले पालिकाको दमकलबाट एकसातादेखि पानीको अभाव झेलेका स्थानीयलाई पानी ल्याएर वितरण गरिएको छ ।

स्थानीय पत्रकार ऋषि बहादुर राईले कटारीमा एकसातादेखि खानेपानीको हाहाकार भएको र भान्सा प्रयोग गर्न, गाईबस्तुलाई खुवाउन, नुहाउन कपडा धुन र शौचालयकालागि समेत समस्या उत्पन्न भएपछि स्थानीयहरु रित्तो गाग्रो बोकेर नगरप्रमुखको घर अगाडि जम्मा भएर प्रदर्शन गरेको बताए ।

स्थानीयको गुनासो सुनेपछि मेयर श्रेष्ठले तत्काल समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका थिए । उनले भने, ‘मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रक्रिया अन्तिम चरणमा छौँ । भोलि वा पर्सिसम्म पानी सञ्चालन हुन नसके नगरपालिकाको स्रोत प्रयोग गरेर पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर अहिले दमकलबाट पानी वितरणको व्यवस्था गरेका छौँ ।’

बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी व्यवस्थापन गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । मेयर श्रेष्ठका अनुसार नगरपालिकाले खरिद गरेको मोटरसमेत भन्सार प्रक्रियामा रहेकाले केही प्राविधिक जटिलता उत्पन्न भएको हो । यद्यपि, नयाँ मोटर जडान गरी छिट्टै खानेपानी सेवा पुनः सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए ।

कटारी ४ का युवा अस्मित पौडेलले पनि खानेपानी उपभोक्ता समितिको मोटर बिग्रेका कारण खानेपानीको समस्या भएकोले मोटर मर्मतसम्भार भैरहेकोले सोमबार साँझदेखि नियमित पानी वितरण गर्ने तयारी भएको बताए ।

पौडलले एकसातादेखि खानेपानीको समस्या भएपछि मोटर मर्मत नगरेको कारण नगरप्रमुखलाई स्थानीयले समस्या समाधानकालागि रित्तो गागे सहित ध्यानाकर्षण गराएकाले उपभोक्ता समितिले मोटर मर्मतकालागि प्रयास गरिरहेको बताए ।

कटारी नगरपालिका  वडा न. ५ डाडाटोलमा पनि खानेपानीको समस्या विराल छ । ह्याण्डपाइप र इनार सफल नहुने समस्या छ । खोलाको फोहरपानीबान बाध्य हुनु पर्ने अवस्था रहेको भए पनि स्थानीय सरकारले यस विषयमा चासो नदिएको स्थानीयले बताएका छन् ।