शान्ति स्थापनामा नेपालको गौरवपूर्ण योगदान : ४४ मिसनमा १ लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिक परिचालन


पाँचखाल काभ्रे ।

संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (BPOTC) मा आयोजित कार्यक्रममा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति स्थापना कार्यमा नेपाली सेनाले हासिल गरेको अन्तर्राष्ट्रिय प्रतिष्ठा नेपालको गौरवको विषय भएको बताए। उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने सैनिकहरूको व्यावसायिक दक्षता, अनुशासन र समर्पणले नेपाललाई विश्वसामु विश्वसनीय राष्ट्रका रूपमा स्थापित गरेको उल्लेख गरे।

उपरथी अनुपजंग थापाले नेपाली सेनाको शान्ति स्थापना यात्राको इतिहास र उपलब्धिबारे प्रकाश पारे। उनका अनुसार नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि सन् १९५८ देखि शान्ति मिसनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ।

हालसम्म नेपाली सेना ४४ वटा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भइसकेको छ। फेब्रुअरी २०२६ सम्मको तथ्यांकअनुसार नेपाली सेनाले १ लाख ६२ हजार ४ सय ९६ जना शान्ति सैनिक विभिन्न मिसनमा परिचालन गरिसकेको छ। शान्ति स्थापनाका क्रममा ७४ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना घाइते भएका छन्।

कार्यक्रममा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भूमिकाबारे पनि जानकारी गराइएको थियो। सन् १९८६ मा स्थापना भएको उक्त केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जानुअघि सैनिकहरूलाई आवश्यक पूर्वतयारी तालिम प्रदान गर्दै आएको छ। हाल केन्द्रले वार्षिक रूपमा चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिकलाई तालिम दिने गरेको जानकारी दिइयो।

“Peace with Pride” नारासहित सञ्चालन भइरहेको केन्द्रले संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय अभ्यास, सेमिनार, कार्यशाला तथा ज्ञान आदानप्रदानका कार्यक्रममार्फत केन्द्रले आफूलाई विश्वस्तरीय शान्ति कार्य तालिम केन्द्रका रूपमा विकास गरिरहेको सेनाले जनाएको छ।

कार्यक्रममा शान्ति मिसनमा ज्यान गुमाएका नेपाली शान्ति सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विश्व शान्ति, मानव सुरक्षा र द्वन्द्व प्रभावित क्षेत्रका नागरिकको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको चर्चा गरिएको थियो। नेपाली सेनाको योगदानलाई संयुक्त राष्ट्रसंघले समेत उच्च मूल्यांकन गर्दै आएको कार्यक्रममा उल्लेख गरियो।