‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेटको खेल तालिका सार्वजनिक


काठमाडौं । 

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ  ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएकाे छ।

भोलि (मंगलबार) देखि सुरु हुने प्रतियोगिताको उद्घाटन दिन कुल ६ खेल खेलाइनेछन् । माथिल्लो मूलपानीमा बिहान ९ बजे डीएभी सुशील केडिया विश्व भारती स्कुल र नेक्सस इन्टरनेशनल स्कुलबीच उद्घाटन खेल हुनेछ भने दिउँसो १ः३० बजे सैनिक आवासीय महाविद्यालय र त्रियोग उच्च माध्यमिक विद्यालय आमनेसामने हुनेछन्।

तल्लो मूलपानीमा बिहान ९ बजे ग्यालेक्सी पब्लिक स्कुल र हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुल भिड्नेछन्। सोही मैदानमा दिउँसो १ः३० बजे एन्जल्स हार्ट नेसनल स्कुल र अपी स्कूलबीच प्रतिस्पर्धा हुनेछ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे मोक्षदा स्कुल र विज्डम इङ्ग्लिस एकेडेमीबीच खेल हुनेछ। सोही मैदानमा दिउँसो १ः३० बजे रत्न राज्य माध्यमिक विद्यालय र अक्षरा स्कूलबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणका खेलहरू तीनवटै मैदानमा दैनिक दुई सत्रमा सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। क्वाटरफाइनलका खेल जेठ २३ गते तल्लाे र माथिल्लाे मूलपानी क्रिकेट मैदानमा हुन्छ। सेमिफाइनल जेठ २४ गते तथा फाइनल जेठ २५ गते हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालिले विजेता टोलीको पुरस्कार रकम उपलब्ध गराउनेछ भने सह–प्रायोजक ई–सेवाले उपविजेता टोलीको पुरस्कार रकम प्रदान गर्नेछ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पिक पोइन्ट एकेडेमीको तर्फबाट नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। साथै, विधागततर्फ उत्कृष्ट खेलाडीलाई किट ब्याग, उत्कृष्ट ब्याटरलाई ब्याट र उत्कृष्ट बलरलाई बलिङ स्पाइक जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

यती एयरलाइन्सले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ लाई माउन्टेन फ्लाइट टिकट प्रदान गर्नेछ। प्रतियोगिताबाट काठमाडौं जिल्लाको उत्कृष्ट एक विद्यालयलाई नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने राष्ट्रिय विद्यालय क्रिकेट प्रतियोगिताका लागि छनोट गरिनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ सेन्टर रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। साथै विभिन्न बैंक, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याएका छन्।

प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रा.लि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कुल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कुल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक,पाईलट पेन, होप हस्पिटल  र लोकल थकालीको सहयोग रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा २४ विद्यालयको सहभागिता रहनेछ। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा डीएभी सुशील केडिया विश्व भारती स्कुल, नेक्सस इन्टरनेशनल एकेडेमी र रेडियन्ट रिडर्स स्कुल रहेका छन्। समूह ‘बी’ मा सैनिक आवासीय महाविद्यालय, त्रियोग उच्च माध्यमिक विद्यालय र क्रियटिभ एकेडेमी रहेका छन्।

यस्तै, समूह ‘सी’ मा ग्यालेक्सी पब्लिक स्कुल, हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुल र केएमसी स्कुल रहेका छन् भने समूह ‘डी’ मा एन्जल्स हार्ट नेशनल स्कुल, ज्ञान मन्दिर सेकेन्डरी इङ्ग्लिस स्कुल र अपी स्कुल रहेका छन्।

समूह ‘ई’ मा मोक्षदा स्कुल, विज्डम इङ्ग्लिस एकेडेमी र क्लिन्टन स्कुल रहेका छन्। समूह ‘एफ’ मा रत्न राज्य माध्यमिक विद्यालय, अक्षरा स्कुल र संस्कृति इन्टरनेशनल स्कुल रहेका छन्।

त्यसैगरी, समूह ‘जी’ मा जेम्स स्कुल, अक्षारिका स्कुल र लिभरपुल सेकेन्डरी स्कुल रहेका छन् भने समूह ‘एच’ मा नेपाल पुलिस स्कुल, द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक पोइन्ट एकेडेमी रहेका छन्।