काठमाडौँ
इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत श्री अमरसिंह माध्यमिक विद्यालय लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउने, अनुशासनको भावना विकास गर्ने तथा समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का को विशेष उपस्थिति रहेको थियो । सार्वजनिक बिदाको दिन भए पनि आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यार्थीहरूलाई प्रेरित गर्दै पूर्व कप्तान पारस खड्काले भन्नुभयो, “वाईफाई नेपालको यस उदाहरणीय सामाजिक कार्यमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । समुदायप्रतिको उत्तरदायित्व निभाउँदै कम्पनीले समाजमा सकारात्मक प्रभाव सिर्जना गरिरहेको छ । विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षा र खेलकुद दुवैको समान महत्त्व छ, त्यसैले पढाइ र खेलकुदबीच सही सन्तुलन कायम राख्न म सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्दछु ।” उनले नेपालभर यस्ता सामाजिक गतिविधिहरू अझ बढी आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । उहाँले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको अन्तरसम्बन्धमाथि प्रकाश पार्दै भन्नुभयो, “शिक्षाले स्वस्थ मस्तिष्क निर्माण गर्छ भने खेलकुदले स्वस्थ शरीर । विद्यार्थीको समग्र मानसिक तथा शारीरिक विकासका लागि यी दुवै पक्ष उत्तिकै आवश्यक छन् । वाईफाई नेपालले आगामी दिनहरूमा देशका अन्य क्षेत्र र विद्यालयहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विस्तार गर्दै लैजाने योजना बनाएको छ ।”
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले वाईफाई नेपालप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रबाट शिक्षा र खेलकुदको विकासमा प्राप्त हुने यस्ता सहयोगले विद्यार्थीको मनोबल उच्च बनाउन ठुलो भूमिका खेल्ने उल्लेख गर्दै प्राप्त खेलकुद सामग्रीहरूको प्रभावकारी उपयोग गरिने विश्वास दिलाउनुभयो ।
वाईफाई नेपालले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने विद्यालय परिवार, स्थानीय समुदाय तथा सम्पूर्ण सहयोगीहरूमा धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा सामुदायिक विकासका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै देशभर गुणस्तरीय इन्टरनेट सेवा र डिजिटल पहुँच विस्तार गर्ने आफ्नो मूल लक्ष्यप्रति कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।











प्रतिक्रिया