प्रचण्डको स्वास्थ्य अवस्था स्थिर, निमोनियाको उपचार जारी


काठमाडौं ।

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर रहेको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालले आइतबार साँझ जारी गरेको स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको हो।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि प्रचण्ड शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालका चिकित्सकहरूले गरेको परीक्षणका क्रममा उनलाई निमोनियाको सङ्क्रमण भएको पुष्टि भएको छ।

अस्पतालले जारी गरेको बुलेटिनमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न भइसकेको र चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको उल्लेख गरिएको छ। उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिन थालेको अस्पतालले जनाएको छ।

‘हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ,’ अस्पतालद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानीस्वरूप उहाँलाई अझै दुईदेखि तीन दिन अस्पतालमै राखिनेछ।’

अस्पताल स्रोतका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। चिकित्सकहरूको टोलीले नियमित रूपमा उनको स्वास्थ्य अवस्थाको अनुगमन गरिरहेको छ भने निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक औषधोपचार जारी छ।

प्रचण्ड अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत समेत उनको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको शुभकामना दिइएको छ।

पछिल्लो समय विभिन्न राजनीतिक कार्यक्रम, भेटघाट र पार्टी गतिविधिमा व्यस्त रहेका प्रचण्डलाई स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्थामा थप सुधार आएपछि चिकित्सकहरूको सिफारिसका आधारमा डिस्चार्जबारे निर्णय गरिने अस्पतालले जनाएको छ। हाल उनी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेका छन्।