ललितपुर।
ललितपुरका नेवाः समुदायका परम्परागत पेशा, संस्कृति, संस्कार उजागर गरी पर्यटन प्रवर्द्धन गर्न पाटन दरबार क्षेत्रमा यल नेवाः महोत्सव शुरू भएकाे छ।

यल नेवाः समाजले ललितपुर महानगरपालिका – १६ वडा कार्यालयकाे सहयाेगमा साे महोत्सव आयाेजना गरेकाे हाे । महाेत्सवमा हस्तकला, खाद्य सामग्री, संस्कृति, संस्कार झल्काउने करिब १५ वटा स्टल रहेकाे छ । त्यसमा बाैध्द विहार संघले विभिन्न संस्कारमा प्रयाेग हुने सामग्री, ताम्रकार समाजले तामा पित्तलका भाँडाकुँडा , नकर्मी समाजले फलामका विभिन्न अाैजारहरू, स्यस्यः समाजले खाद्य सामग्री, सिकमी समाजले काष्ठकलाका सामग्री लगायत स्टलहरू छन्। साे महाेत्सवका शुभारम्भ गर्दै वडाअध्यक्ष निर्मलरत्न शाक्यले नेवाः समुदायकाे एकता र सामूहिकताकाे भावना मार्फत कला संस्कृति जर्गेना गर्न महाेत्सवले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयाे । संस्कृति, सम्पदाकाे संरक्षणका साथै नेपाल भाषा, कला संस्कृतिकाे लागि नेवाः समुदायबीच एकता र सहअस्तित्व भाव वृद्धि गर्नुपर्नेमा वडाअध्यक्ष शाक्यकाे जाेड रहेकाे छ।

साे अवसरमा यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले ललितपुरका २१ जातीय , समाज खलः पुचलाई एकीकृत गरी स्थापित समाजले सामूहिकता, समन्वय र एकताकाे भावले काम गर्दै आएकाे उल्लेख गर्दै त्यसकाे सन्देश दिन महोत्सव आयाेजना गरेकाे उल्लेख गर्नुभयाे। नेवाः समुदायका साझा लक्ष्यका लागि कुनै एउटामात्र समाज लागेर मात्र नहुने बाेध गर्दै नेवाः समाज गठन भएकाे पनि अध्यक्ष शाक्यले स्पष्ट पार्नुभयाे। यल नेवा समाजका महासचिव सञ्जयशर्मा राजाेपाध्यायले स्थानीय तहले ललितपुरका सबै समाजलाई बजेट, नीतिगत छलफलमा अनिवार्य सहभागी गराउनुपर्ने बताउनुभयाे ।

महोत्सव शनिबारसम्म चल्नेछ। जेठ १६ गते शनिबार बिहान वाग्मती प्रदेशमा नेपालभाषाकाे प्रयाेगका विषयमा छलफल हुनेछ। त्यसमा स्राेत व्यक्तिका रूपमा नेवाः देय् दबूका केन्द्रीय महासचिव श्रीकृष्ण महर्जन, नेपाल भाषा मंका खलःका पूर्वअध्यक्ष किरण शाक्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ। महोत्सव अवधिभर साँझ नयाँ तथा चर्चित कलाकारहरूबाट सांगितिक प्रस्तुती हुनेछ। महोत्सव शुभारम्भ हुनुअघि सांस्कृतिक र्यालीकाे अायाेजना गरिएकाे थियाे।












प्रतिक्रिया