फुटबल इतिहासकै सर्वाधिक सफल र प्रभावशाली खेलाडीमध्येका एक हुन ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो । उनका लागि सन् २०२६ को फिफा विश्वकप केवल एउटा प्रतियोगिता मात्र होइन, यो उनको खेल जीवनको कठिनतम र अन्तिम अग्निपरीक्षा समेत हो । साउदी क्लब अल–नासरमा स्थानान्तरण भएपछि पनि उनको गोल गर्ने भोक र तीक्ष्णतामा कमी आएको छैन । जसलाई तथ्याङ्क र मैदानको प्रदर्शन दुवैले पुष्टि गर्छन् । विश्लेषणात्मक दृष्टिकोणबाट हेर्दा, रोनाल्डोको उपस्थिति पोर्चुगलका लागि प्राविधिक रूपमा जति महत्वपूर्ण छ, मनोवैज्ञानिक रूपमा त्योभन्दा बढी अर्थपूर्ण देखिन्छ । उमेरको यो बिन्दुमा आएर पनि टोलीको मुख्य स्ट्राइकरको भूमिकामा रहनुले उनको अद्भूत शारीरिक क्षमता र मानसिक दृढतालाई त दर्शाउँछ । तर, आधुनिक फुटबलको उच्च गति र कडा प्रहारको सामना ४१ वर्षको उमेरमा कसरी गर्छन् भन्ने विषय नै मुख्य रणनीतिक चुनौती हो । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोको अनुभवलाई टोलीको मार्गदर्शक शक्तिका रूपमा प्रयोग गरिरहेका छन् । जसले मैदानभित्र उनको परम्परागत भूमिकामा केही परिवर्तन ल्याउन सक्छ । अब उनी ९० मिनेट नै तीव्र गतिमा दौडिने खेलाडीका रूपमा भन्दा पनि पेनाल्टी बक्सभित्रको उपयुक्त अवसरलाई गोलमा परिणत गर्ने ‘क्लिनिकल फिनिसर’ का रूपमा बढी केन्द्रित हुनेछन् । जसले पोर्चुगलको आक्रमणलाई नयाँ आयाम दिनेछ ।
२०२६ को फिफा विश्वकपको पूर्वानुमान र प्रक्षेपण गर्दा पोर्चुगललाई केवल एउटा ‘डार्क हर्स’ (अप्रत्याशित टोली) का रूपमा मात्र नभई उपाधिको प्रमुख दाबेदारका रूपमा पनि हेर्नु न्यायसंगत हुनेछ । विगतका संस्करणहरूमा पोर्चुगलको टोली अत्यधिक रूपमा रोनाल्डोको व्यक्तिगत क्षमता र एकल प्रदर्शनमा निर्भर रहने गर्दथ्यो । जसका कारण विपक्षी टोलीहरूले उनलाई रोक्नासाथ सम्पूर्ण टिमको लय बिग्रने गर्दथ्यो । तर, यस पटकको पोर्चुगिज टोलीको संरचना निकै भिन्न र सन्तुलित छ । मिडफिल्डमा ब्रुनो फर्नान्डेजको रचनात्मकता, भिटिन्हाको नियन्त्रण र जोआओ नेभेसको ऊर्जाले टोलीलाई यस्तो सन्तुलन प्रदान गरेको छ कि रोनाल्डोले गोल नगर्दा पनि टोलीले खेल जित्ने क्षमता राख्छ । छनोट चरणका खेलहरूमा पोर्चुगलले गरेको सानदार प्रदर्शन र २० गोलको आँकडाले यही सन्तुलित शक्तिको संकेत गर्छ । यसपटक पूर्वानुमान यसरी गर्न सकिन्छ कि, यदि मार्टिनेजले रोनाल्डोको अनुभव र युवा खेलाडीहरूको गतिको मिश्रणलाई सही ढंगले संयोजन गर्न सके भने पोर्चुगल नकआउट चरण पार गर्दै फाइनलसम्मको यात्रा तय गर्न पूर्ण रूपमा सक्षम छ । अन्तर्राष्ट्रिय फुटबलमा २ सय २५ भन्दा बढी खेल र १ सय ४३ गोलको विशाल कीर्तिमान बोकेका कप्तानले आफ्नो टोलीलाई कठिन परिस्थितिमा कसरी सम्हाल्नेछन् भन्ने कुरा नै पोर्चुगलको आगामी यात्राको निर्णायक मोड बन्ने देखिन्छ ।
आगामी महिनाबाट सुरु हुने विश्वकपको पूर्वसमीक्षा गर्दा यो प्रतियोगिता ऐतिहासिक र भावनात्मक दुवै दृष्टिकोणले अभूतपूर्व हुने निश्चित छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त भूमिमा आयोजना हुन लागेको यस महाकुम्भमा मैदान प्रवेश गर्नासाथ रोनाल्डो र उनका चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेसी विश्वकपको ६ वटा संस्करण खेल्ने विश्वकै दुर्लभ कीर्तिमानधारी खेलाडी बन्नेछन् । सन् २००६ देखि सुरु भएको रोनाल्डोको विश्वकप यात्राका २२ खेल र ८ गोल इतिहासका पानामा दर्ज भइसकेका छन् । यस पटकको प्रिभ्यूले के देखाउँछ भने, समूह चरणका खेलहरूमा पोर्चुगलले आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिनेछ भने रोनाल्डोले सुरुवाती ११ मै आएर खेलको लय निर्धारण गर्ने प्रयास गर्नेछन् । यद्यपि, प्रतियोगिताको उत्तरार्ध र कडा टिमहरू विरुद्धको खेलमा भने उनको शारीरिक ऊर्जालाई जोगाउन प्रशिक्षकले उनलाई ‘सुपर–सब’ अर्थात दोस्रो हाफमा मात्र मैदान प्रवेश गर्ने खेलाडीका रूपमा प्रयोग गर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । यो विश्वकप रोनाल्डोका लागि आफ्नो खेल जीवनको सुखद अन्त्य गर्ने र ट्रफी क्याबिनेटमा बाँकी रहेको एक मात्र अधुरो सपना पूरा गर्ने ‘गोल्डेन चान्स’ हो ।
समग्रमा भन्नुपर्दा क्रिस्टियानो रोनाल्डोको यो छैठौँ विश्वकप अभियान केवल फुटबलको एउटा प्रतियोगिता मात्र नभएर एउटा युगको महा–अवसान जस्तै हो । यदि उनले यसपटक पोर्चुगललाई विश्वविजेता बनाउन सके भने खेल इतिहासमा उनको कद खेलको सीमाभन्दा धेरै माथि पुग्नेछ र उनी सर्वकालीन महान् ‘गोट’ को बहसमा सबैभन्दा अगाडि उभिनेछन् । तर, यसको विपरित यदि पोर्चुगल यस पटक पनि असफल भयो भने अन्तर्राष्ट्रिय फुटबलका लगभग सबै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका रोनाल्डोका लागि विश्वकपको यो उपाधि जीवनभरको एउटा अतृप्त र अपूरो चाहना बनेर खड्किरहनेछ । फुटबलको क्रुर वास्तविकता के हो भने यसले इतिहास र भावनाको कदर गर्दैन, केवल मैदानको ९० मिनेटको प्रदर्शनलाई मात्र स्वीकार्छ । त्यसैले, यो विश्वकप रोनाल्डोका लागि आफ्नो करियरलाई पूर्णता दिने अन्तिम र ऐतिहासिक अवसर हो, जहाँ उनले आफ्नो सम्पूर्ण अनुभव र सामथ्र्यलाई देशका लागि दाउमा लगाउनुपर्नेछ ।











प्रतिक्रिया