१६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई


सुर्खेत । 

१६ औं कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । वीरेन्द्रनगरमा जेठ १२ देखि १४ गतेसम्म सञ्चालन भएको तीन दिने प्रतियोगितामा कर्णाली प्रदेशका नौ जिल्लाका खेलाडीहरूको सहभागिता थियो । कर्णाली खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेत समग्र टोलीतर्फ प्रथम बन्न सफल भएको हो ।

प्रतियोगितामा सुर्खेतले कराते, तेक्वान्दो, उसु, कबड्डी, भलिबल तथा एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ५८ पदक जितेको छ । सुर्खेतले ३८ स्वर्ण, ९ रजत र ११ कास्य पदक हात पार्दै उपाधिमाथि कब्जा जमाएको हो ।

त्यसैगरी, कालीकोट दोस्रो स्थानमा रह्यो । कालीकोटले ८ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल १९ पदक जितेको छ । प्रतियोगितामा रुकुम पश्चिम तेस्रो भएको छ । रुकुम पश्चिमले ६ स्वर्ण, ७ रजत र १५ कास्यसहित २८ पदक जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

 । प्रथम हुने टोली र खेलाडीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै, दोस्रो स्थान हासिल गर्ने टोली तथा खेलाडीलाई समाजसेवी घनश्याम भण्डारीले सम्मान गरेका थिए भने तेस्रो हुने टोली र खेलाडीलाई सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यहरूले शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेशस्तरीय प्रतियोगिताले खेल प्रतिभाको विकाससँगै जिल्लाबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।