लमजुङ।
लमजुङको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको गाउँशहरस्थित लमजुङ दरबारको पुनर्निर्माण कार्य १५ महिनापछि पुनः सुरु भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको दरबारमा गत वैशाख २० गतेदेखि पुनः निर्माण गतिविधि अघि बढाइएको हो ।
२०८१ माघ महिनादेखि निर्माण कार्य ठप्प बनेको दरबारमा बजेट अभाव, नयाँ टेण्डर प्रक्रिया र प्रशासनिक ढिलाइका कारण काम रोकिएको थियो । अहिले पुरातत्व विभागमार्फत नयाँ ठेक्का प्रक्रिया सम्पन्न भएपछि पुनः निर्माणले गति लिन थालेको हो ।
पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसारको काम सम्पन्न गर्न निर्माण कम्पनीले जरिवाना तिरेर समेत काम गर्न पाउने व्यवस्था गरिएको छ । उहाँले काठमाडौंस्थित एवान कम्पनीले करिब ४२ लाख रुपैयाँमा ठेक्का लिएर निर्माण कार्य अघि बढाएको जानकारी दिनुभयो ।
हाल दरबार क्षेत्रमा पुराना र नयाँ काठ छुट्याउने, केही पर्खाल पुनः निर्माण गर्ने तथा संरचनाको संरक्षणसँग सम्बन्धित काम भइरहेको विभागले जनाएको छ ।
गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले लामो समयपछि पुनः काम सुरु हुँदा स्थानीयमा आशा पलाएको बताउनुभयो। “धेरै समयदेखि काम नै रोकिएको थियो, अहिले फेरि सुरु भएपछि दरबार बन्ने अपेक्षा बढेको छ,” उहाँले भन्नुभयो ।
दरबार पुनर्निर्माण दुई वर्षमै सक्ने लक्ष्य राखिएको भए पनि बजेटको अस्थिरता र निर्माण प्रक्रियाको ढिलाइका कारण कामले अपेक्षित गति लिन सकेको छैन । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले केन्द्रीय सरकारको ढिलासुस्तीका कारण आयोजना प्रभावित भएको टिप्पणी गर्नुभयो । उहाँले नगरपालिका र गण्डकी प्रदेश सरकारले यसअघि गेट निर्माण, पर्खाल तथा ढुङ्गे सिँढी निर्माणमा सहयोग गरेको जानकारी दिनुभयो ।
इन्जिनियर अधिकारीका अनुसार दरबारमा अझै धेरै काम बाँकी छ । कालिका मन्दिरको पर्खाल निर्माण, छाना हाल्ने, गजुर राख्ने, झ्याल–ढोकाका खापा तयार गर्ने, प्लास्टर, रङरोगन तथा भुइँ व्यवस्थापनका काम अझै सम्पन्न हुन बाँकी रहेका छन् ।
पुरातत्व विभागका अनुसार चालु आर्थिक वर्षको बजेटले सम्पूर्ण पुनर्निर्माण सम्पन्न नहुने भएकाले अहिले मुख्य संरचनाको माथिल्लो भागमा पर्खाल लगाउने, छानाका लागि काठ राख्ने तथा पुराना काठ परीक्षण गर्ने काम मात्रै गरिनेछ ।
विभागले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०८१-०८२ मा भ्याटसहित ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ३५ लाख १७ हजार ८ सय ६६ रुपैयाँमा भक्तपुरस्थित शिल्पकार निर्माण सेवासँग सम्झौता गरी केही काम सम्पन्न गरिएको थियो । यसअघि आर्थिक वर्ष २०७९÷०८० मा एक करोड ३३ लाख रुपैयाँबाट पुनर्निर्माण सुरु गरिएको भए पनि त्यसपछिका वर्षमा बजेट घट्दै जाँदा आयोजना प्रभावित बनेको हो ।











प्रतिक्रिया