अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त आयोजना हुने फिफा विश्वकपअन्तर्गत समूह बी मा स्विट्जरल्यान्ड नै बलियो हुने देखिएको छ । यस समूहमा सहआयोजक क्यानडा, बोस्निया हर्जगोभिना र कतार जस्ता कमजोर टोली रहेको हुँदा स्विट्जरल्यान्डको लागि नकआउट पुग्न कुनै कठिनाई हुने छैन । बिगतमा पनि स्विट्जरल्यान्डले राम्रो प्रदर्शन नै गरेको आधारमा यति दाबी गर्न सकिन्छ ।
स्विट्जरल्यान्ड
स्विट्जरल्यान्ड युरोपको फुटबलमा एक शसक्त टोलीमध्ये एक हो । स्विस टोलीले विश्वकपमा पटकपटक स्तब्ध नतिजा पनि निकालिरहेको छ । तर, पनि यो टोली क्र्वाटरफाइनलभन्दा माथि पुग्न सकेको छैन । टोली १९३४, १९३८ र १९५४ को विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । गत कतार विश्वकपमा टोलीको यात्रा अन्तिम १६ सम्मै रहेको थियो ।
बोस्निया र हर्जगोभिना
बोस्निया र हर्जगोभिना १९९२ मार्च १ मा युगोस्लाभियाबाट छुटेर छुटै राज्य बनेका थिए । यसपछि बोस्निया हर्जगोभिनाले योसमेत गरी दुई पटक विश्वकपमा छनोट हुन पाएको छ । यसअघि ब्राजिलमा भएको २०१४ को विश्वकपमा छनोट भएको यो टोलीको यात्रा समूह चरणसम्मै सीमित भएको थियो । अब, १२ वर्षपछि फेरि एकपटक विश्वकपमा पुगेको टोलीले कस्तो नतिजा निकाल्ने हो त्यो हेर्न बाँकी नै छ ।
कतार
मध्यपूर्वी एसियाली टोली कतारले गत विश्वकप २०२२ को सफल आयोजना गरेको थियो । आयोजकको रूपमा भए पनि कतारले खासै प्रभाव छाड्न सकेन । कतारले पहिलो विश्वकप खेलेको सो प्रतियोगितामा तीनै खेलमा हार बेहोरेको थियो । यसपटक भने टोलीले विश्वकपमा पहिलो जित निकाल्ने दावी गरिएको छ । यदि, यसो गर्न सकेमा कतारको लागि यो विश्वकप ऐतिहासिक हुनेछ ।
क्यानडा
अहिले विश्वकपमा क्यानडा सहआयोजक राष्ट्र हो । यसअघि दुई पटक विश्वकप खेलेको क्यानडाको यो विश्वकप तेस्रोपटकको सहभागिता हुनेछ । अहिलेसम्म क्यानडाले खासै प्रभाव छाड्न सकेको छैन । टोलीले १९८६ र २०२२ को गरी विश्वकपमा ६ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ । क्यानडाले एक जित निकालेमा पनि त्यो ऐतिहासिक नै हुनेछ ।

जेठ ३० गते राति १२ः४५ बजे क्यानडा– बोस्निया–हर्जगोभिना (बीएमओ फील्ड)
जेठ ३१ गते राति १२ः४५ बजे कतार– स्विट्जरल्यान्ड (लिभाइज स्टेडियम)
असार ५ गते राति १२ः४५ बजे स्विट्जरल्यान्ड– बोस्निया–हर्जगोभिना (सोफी स्टेडियम)
असार ५ गते बिहान ३ः४५ बजे क्यानडा– कतार (बीसी प्लेस)
असार ११ गते राति १२ः४५ बजे बोस्निया–हर्जगोभिना– कतार (लूमेन फील्ड)
असार ११ गते राति १२ः४५ बजे स्विट्जरल्यान्ड– क्यानडा (बीसी प्लेस)











प्रतिक्रिया