सेलिना र पिटरको विवादले लियो कानुनी मोड


बलिउड अभिनेत्री सेलिना जेटली र उनका अष्ट्रियाली मूलका व्यवसायी पति पिटर हागबीचको वैवाहिक विवादले गम्भीर कानुनी मोड लिएको छ। मुम्बई प्रहरीले पिटर हागविरुद्ध विभिन्न कानुनी धाराअन्तर्गत एफआईआर दर्ता गरेको छ। अनुसन्धानमा सहयोग नगरेको आरोपमा उनीविरुद्ध लुकआउट सर्कुलरसमेत जारी गरिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमअनुसार सेलिना जेटलीले आफ्ना पतिमाथि घरेलु हिंसा, मानसिक यातना, शारीरिक दुव्र्यवहार र ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छन्। उनको उजुरीका आधारमा मुम्बईको वर्सोवा प्रहरी थानामा मुद्दा दर्ता गरिएको हो। प्रहरीका अनुसार पिटर हागले अनुसन्धान प्रक्रियामा सहयोग नगरेपछि उनी भारत छाडेर भाग्न सक्ने आशंकामा लुकआउट सर्कुलर जारी गरिएको हो। उनी अष्ट्रियाली नागरिक भएकाले हाल भारतबाहिर रहेको अनुमान गरिएको छ। आवश्यक परे अन्तर्राष्ट्रिय कानुनी सहयोग लिने सम्भावनाबारे पनि विचार भइरहेको बताइएको छ।

सेलिनाले यसअघि सन् २०२५ को नोभेम्बरमा घरेलु हिंसा ऐन २००५ अन्तर्गत अदालतमा निवेदन दर्ता गरेकी थिइन्। उनले विवाहपछि निरन्तर मानसिक र शारीरिक यातना सहनु परेको दाबी गरेकी छन्। साथै, आफ्ना सन्तानस“ग भेट्न र कुरा गर्नसमेत रोक लगाइएको आरोप उनले लगाएकी छन्।