बेंसीशहर ३ बालमैत्री वडा घोषणा

1.03k
Shares

लमजुङ। 

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

विहीबार आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर ३ का वडाअध्यक्ष चित्रबहादुर दनाईलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नगरप्रमुख अर्यालले दियोमा बत्ती बालेर तथा व्यानर वाचन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहले बालमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा तथा समग्र विकासका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्दै अन्य वडालाई समेत बालमैत्री बनाउने अभियानलाई अघि बढाइने बताउनुभयो । उहाँका अनुसार यस अघि ५ वटा वडालाई घोषण गरीसकेको छ भने अगामी २५ गते वडा नम्बर ५ लाई बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको छ ।

नगरप्रमुख अर्यालले राम्रो तयारी, प्रभावकारी अनुगमन तथा सबै पक्षको सहकार्यबाट वडा नम्बर ३ लाई बालमैत्री घोषणा गर्न सफल भएको भन्दै वडा कार्यालय, वडा अन्तर्गतका संघ–संस्था, ग्रामीण सामुदायिक विकास केन्द्र तथा वल्र्ड भिजनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बालमैत्री वडा घोषणाका लागि तयार पारिएका ५१ वटा सूचक पूरा गरेपछि वडा नम्बर ३ ले कुल ९४.११ प्रतिशत अंक प्राप्त गरेको छ । बालमैत्री वडा घोषणा गर्न कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

बालमैत्री वडा घोषणा कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वल्र्ड भिजनका प्रतिनिधि प्रकाश तिवारी, लमजुङ माविका प्रधानाध्यापक सीता बराल तथा वडा स्तरीय बाल क्लबका अध्यक्ष दिपेश थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बालमैत्री वडा घोषणा गर्न पूरा गर्नुपर्ने ५१ वटा सूचकको अवस्थाबारे जानकारी गराउनुभएको थियो । ती सूचकअन्तर्गत दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाहमुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने तथा ५ देखि १४ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्ने लगायतका बालअधिकारसँग सम्बन्धित विषयहरु समावेश रहेका छन् ।

वडा अध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सूचकअनुसार आर्थिक, भौतिक तथा सांस्कृतिक रुपमा सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

औपचारिक घोषणा कार्यक्रम अघि वडा नम्बर ३ को गाउँशहर दरबारदेखि लमजुङ माविको प्राङ्गणसम्म आमा समूहलगायतको सहभागितामा ¥याली समेत निकालिएको थियो।