राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्त आह्वान, के छन् न्यूनतम मापदण्ड?


काठमाडौं ।

सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक खुला दरखास्त आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आगामी जुन ५ भित्र आवेदन दिन आह्वान गरेको हो । मन्त्रालयले आवेदनका लागि आवश्यक योग्यता, सर्त तथा कार्यक्षेत्रसम्बन्धी निर्देशिका समेत सार्वजनिक गरेको छ ।

राजदूत पदका लागि उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । विशिष्ट श्रेणीसरहको यस पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । स्नातकोत्तर तहको शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त दरखास्तहरूको प्रारम्भिक छनोट (स्क्रिनिङ) गरी मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ । मन्त्रिपरिषद्ले योग्यताका आधारमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्नेछ । त्यसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ । नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी सम्हाल्नुपर्नेछ ।

मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम आवेदन आह्वान गरिएको जनाएको छ ।

के-के छन् योग्यता र सर्त ?

निर्देशिकाको दफा ३ (छ) अनुसार राजदूत बन्नका लागि उम्मेदवारले निम्न न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछः

कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।

नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने ।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको तथा भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने ।

कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने ।

नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको तथा अंग्रेजी भाषामा राम्रो दख्खल भएको हुनुपर्ने ।

प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने ।

यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तथा प्रस्तावित देशको भाषा जान्ने उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

आवेदन कसरी दिने ?

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फाराम भरी विस्तृत व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले प्राप्त आवेदनमध्येबाट सर्टलिस्ट तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन र सम्बन्धित देशबाट स्वीकृति प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूतको औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ ।