स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, विशेषज्ञ चिकित्सक थपिने


काठमाडौं।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ । मन्त्रालयले संघीय पुल अन्तर्गत कूल १८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत दरबन्दीका आधारमा अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जनाएको छ । मन्त्रालयका अनुसार हाल कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थपिएपछि कूल संख्या १८०८ पुगेको हो ।

स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले नयाँ संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दी उल्लेखनीय रूपमा वृद्धि गरिएको जनाएको छ । सचिवालयका अनुसार संघीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवा सुदृढ गर्न तथा सेवा पहुँच विस्तार गर्न नयाँ दरबन्दी स्वीकृत गरिएको हो ।

मन्त्रालयले स्वीकृत दरबन्दीलाई ‘संघीय पुल दरबन्दी’को संरचना मात्र भएको स्पष्ट पारेको छ । सचिवालयका अनुसार सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश र स्थानीय तहहरूमा निकट भविष्यमै ठूलो संख्यामा खुला गरिनेछ ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति अभाव रहेको अवस्थामा नयाँ ओएनएम स्वीकृत भएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको संख्या वृद्धि हुँदा संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा विस्तार र गुणस्तर सुधारमा समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले जनशक्ति अभावका कारण धेरै सेवा प्रभावित हुँदै आएको तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक अभाव चुनौतीका रूपमा रहेको बताउँदै आएको थियो । नयाँ दरबन्दी स्वीकृतिपछि ती समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ ।