नेपाललाई संसारले चिन्ने सबैभन्दा ठूलो माध्यम सगरमाथा हो। सगरमाथा लगायतका हिमशिखरहरू अवस्थित नेपालको हिमाली क्षेत्र केवल हिउँले ढाकिएको अग्लो भूभाग मात्र होइन, नेपाली सभ्यता, संस्कृति, प्रकृति, अर्थतन्त्र, संघर्ष र आत्मविश्वासको पर्याय पनि हो। संसारभरका मानिसहरूले सगरमाथालाई साहस र सपनाको प्रतीकका रूपमा हेर्छन्, तर त्यसको काखमा बाँचिरहेका मानिसहरूको कथा भने अझै धेरै हदसम्म ओझेलमै छन्।
यसपाली “सगरमाथा दर्शन यात्रा–२०८३” मा सहभागी भएर काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म पुग्दा हिमाललाई केवल आँखाले मात्र होइन, तन र मनले पनि पढ्ने अवसर मिल्यो। यो यात्रा केवल पदयात्रा थिएन, यो प्रकृति, मान्छे, संस्कृति, संघर्ष, पर्यटन र बदलिँदो हिमालय क्षेत्रलाई नजिकबाट बुझ्ने यात्रा थियो।
काठमाडौंबाट हिमालतर्फ
बैशाख १३ गते बिहान काठमाडौंको मण्डिखाटारबाट यात्रा सुरु भयो। शहरको भीड, धुवाँ र कोलाहल छोड्दै हाम्रो टोली पूर्वतर्फ अघि बढ्यो। मनमा उत्साह थियो—सगरमाथाको काखसम्म पुग्ने।
तर यात्राको सुरुवातमै नेपालको जटिल प्रकृति र कमजोर भौतिक पूर्वाधारबिचको असन्तुलित सम्बन्धको यथार्थ रूप देखियो। रोशी खोलाको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि हामीले आफ्नो बाटो परिवर्तन गर्नुपर्यो। धुलिखेलबाट खाडिचौर, चरिकोट, तामाकोशी, मन्थली, खुरकोट र घुर्मी हुँदै ओखलढुंगासम्म पुग्दा धुलाम्मे सडक, पहिरोको जोखिम, साँघुरा मोडसहितको कमजोर यातायात पूर्वाधारले दशकौंदेखि चर्चामा रहेर पनि राम्ररी खुट्टा टेक्न नसकेको पहाडी र हिमाली क्षेत्रसम्म आवागमनको कमजोर पाटो उजागर गरिरहेको थियो।
नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्दै आइरहेको हिमाली पर्यटन क्षेत्र र पहाडी बस्तीहरूसम्म थोरै भएपनि सहजता लैजाने आधारभूत पूर्वाधारको अवस्था अझै कमजोर रहनु दुःखद लाग्यो।
लुक्लाको बाटो : जोखिमसँगको सहयात्रा
भोलिपल्ट बिहानै ओखलढुंगा सदरमुकामबाट सोलुखुम्बुतर्फको यात्रा सुरु भयो। पत्ताले, सल्लेरी, फाप्लु, ताकसिन्डो हुँदै सुर्केसम्म पुग्दा प्रकृतिका अनुपम छटाहरूको सान्निध्यताबाट प्राप्त रोमान्चकतासंगै कतै धुलो, कतै पहिरोको डरले कच्ची सडकको यात्रा चुनौतीपूर्ण बनाइरहेको थियो।
तर त्यही बाटो हुँदै खाद्यान्न, होटलका सामान, ईन्धन(ग्यास सिलिन्डर र तेलका कण्टेनर), निर्माण सामग्री र पर्यटकहरू ओहोरदोहोर गरिरहेका थिए। हिमालको जीवन कठिन छ, तर चलिरहेको छ।
लुक्लासम्म पुग्ने अर्को माध्यम हवाई यात्रा हो। विश्वकै जोखिमपूर्ण विमानस्थलमध्ये गनिने तेन्जिंग–हिलारी विमानस्थल को गाथा संसारभर चर्चित छ। मौसम बिग्रियो भने उडान रद्द। हावा बदलियो भने जहाज अवतरण नै असम्भव।
स्थानीयहरू भन्छन्—
“लुक्लाको यात्रा हिमालको इच्छामा निर्भर रहन्छ।”
त्यसैले अहिले धेरै पर्यटकहरूले हेलिकप्टर प्रयोग गर्न थालेका छन्। विमानस्थलहरूमा उडान र अवतरण बन्द भएको अवस्थामा, सानो ईलाकामा पनि बस्न र उड्न सक्ने भएकोले जटिल भूवनोट र अनिश्चित मौसम भएको नेपालको उच्च पहाडी र हिमाली इलाकाका लागि यो उपयुक्त विकल्प जस्तो पनि देखिन्छ। तर, हेलिकप्टरको बढ्दो प्रयोगले पदमार्गको स्थानीय अर्थतन्त्रमा असर गरिरहेको गुनासो पनि सुनिन्छ। पैदल यात्रु घटेपछि बाटोभरिका होटल, चिया पसल र साना व्यवसाय प्रभावित हुन थालेका छन्।
खुम्बु पदमार्ग : खुला संग्रहालयको अवलोकनको अवसर
लुक्लाबाट खुम्बुतर्फ लाग्ने पदमार्ग संसारकै चर्चित ‘ट्रेकिङ रुट’ मध्ये एक हो। चौंरीखर्क, फाक्दिङ, मोन्जो, नाम्चे, तेङ्बोचे, डिङ्बोचे, लोबुचे हुँदै कालापत्थर एवं सगरमाथा आधार शिविरसम्म पुग्ने यो बाटो साहसिक गतिबिधिमा सहभागिताको अवसर खोजिरहने संसारभरका मानिसहरूको सपनाको मार्ग हो।
हामीले आफ्नो यात्राको क्रममा पनि जीवनभरको सपना साँचेर सगरमाथालाई नजिकैबाट नियाल्न चाहेका थुप्रै उत्साही मानिसहरू भेट्यौं। कतै अमेरिकी वृद्ध दम्पती, कतै जापानी युवा टोली, कतै एक्लै यात्रा गरिरहेका विभिन्न देशका पर्यटकहरू भेटिन्थे। तर यसपटक विशेष गरी छिमेकी भारत र चीनबाट आएका पर्यटकहरूको उपस्थिति अत्यधिक देखियो।
रूस-युक्रेन युध्दको कारण विस्थापित भएर पछिल्लो समय टर्कीमा बसोबास गरिरहेकी करिब ८ दशक उमेर पार गरेकी एक रूसी महिलालाई नेपाली पथप्रदर्शकको सहयोगमा सगरमाथा आधार शिबिर पुर्याएर फर्काउंदै गरेकी युक्रेनियन युवतीलाई भेट्दा र पाँगवोचेमा एउटै होटलमा बास बस्न आइपुगेका ईजरेली सेनाबाट छुट्टीमा निस्केका सिपाहीहरूसंग कुरा गर्दा हामी यति भावुक भयौं कि हामीलाई सिध्दार्थ गौतमको रूपमा शान्तिको सन्देश छर्न भगवानले किन नेपाललाई नै जन्मथलो छान्नुभएको थियो भन्ने कुरामा कुनै सन्देह रहेन। कसैले सहमति जनाए पनि नजनाए पनि नेपाल शान्ति क्षेत्र नै थियो, छ र रहिरहनेछ।
समग्रमा, पदमार्गमा भेटिएका गैरनेपालीहरूसँग कुरा गर्दै जाँदा नेपालको हिमाली पर्यटनमा एशियाली र त्यसमा पनि भारतीय तथा चिनियाँ पर्यटकहरूको आकर्षण तीव्र रूपमा बढिरहेको स्पष्ट अनुभूति भयो। उनीहरूको आगमनले व्यापार र पर्यटनलाई चलायमान बनाएको छ, तर त्यससँगै पूर्वाधार व्यवस्थापन र सांस्कृतिक सन्तुलनका चुनौती पनि थपिएका छन्।
संकटमा एकल पदयात्री र सिक्नु पर्ने पाठ
यात्राकै क्रममा थुक-लाबाट लोबुचेतर्फ बढ्दै गर्दा लोबुचे हिमालको आधार शिविरनेर, हिंडडुल गर्ने बाटोभन्दा फरक ठाउँमा हाम्रो टोली हिंडीरहेको बाटोभन्दा करिब १०० मिटर पर अकस्मात एक जना विदेशी अचेत भएर लडेको देखियो। हाम्रा पथप्रदर्शक सुदिप राई र ज्वलन राईले दौडदै गएर उनलाई होसमा ल्याउने प्रयास गरे। सहयात्री कृष्ण भण्डारीले आफ्नो झोलाबाट तातोपानीको थर्मस निकाले अनि चन्द्र लामाले चकलेट र केहि अरू खानेकुरा। केहिबेरको प्रयासपछि ति ब्यक्तिलाई उठाएर सोधखोज गर्दा थाहा लाग्यो- उनी चिनीयाँ नागरिक रहेछन्। यसपटक तिब्बततिरबाट सगरमाथा आधार शिबिरको यात्रामा बिभिन्न कारणले नियन्त्रण गरिएको हुँदा उनी एक्लै नेपालतर्फबाट सगरमाथा हेर्ने धोको पुरा गर्न आएको बताए। अघिल्लो बेलुकी ६ बजेभन्दा पछि फेरिचेबाट लोबुचे पुगेका उनी चिसो र अत्यधिक टाउको दुखाइका कारण रातभर सुत्न नसकेको र बिहानै तयार भएर गोरकसेप तर्फ जान हिंडेको बताइरहेका थिए। तर उनी बिपरित दिशातर्फ जाँदै थिए। उनको अवस्थाका आधारमा उनलाई कम उचाईतर्फ जानु नै उपयुक्त हुन्थ्यो तर तलतिर जाने मानिसहरू नभेटिएको र उनी गोरकसेप तर्फ नै जान जिद्दी गरिरहेकोले चन्द्र र कृष्णले लगभग बोकेरै लोबुचेसम्म पुर्याए। होटलमा तातो “गार्लिक सूप” तथा केहि खानेकुरा खाइसकेपछि अक्सिमिटरबाट परिक्षण गर्दा उनको ‘ब्लड अक्सिजन’ को मात्रा ४२ मात्र देखियो। जुन उचाईको गम्भीर असरको परिणाम थियो। कोही भरपर्दो मानिसको साथ लगाएर कम उचाई भएको ठाउँतिर पठाइदिन होटलका ब्यवस्थापकलाई अनुरोध गरेर, ती चिनीयाँलाई पनि सम्झाएर रातको बास बस्न हामी केहि माथिको पिरामिडतर्फ लाग्यौं। अर्को दिन बेलुकी कालापत्थर समेत चढि फर्कंदा उनलाई गोरकसेपमा हामी बस्ने होटलमै भेट्यौं। त्यसपछि उनी कालापत्थर तथा आधार शिविरसम्म पुगे कि पुगेनन् हामीलाई थाहा भएन तर, त्यसको चौथो राती करिब एघार बजेतिर एउटा चिनीयाँ नम्बरबाट ह्वाट्सएपमा सन्देश आयो, “Dear friends, I am at the KTM Airport, will go back China soon. Thank you for taking care of me in the mountains. Wish you all the best-Kevin.”
ति चिनीयाँले आफ्नो घरमा पुगेर परिवारसँग हिमाली पदमार्गमा भोगेको चुनौती कसरी बताइरहेका होलान् त्यो त थाहा भएन, तर कुनैपनि देशका (नेपाली नै किन नहुन्) ‘केभिन’ हरू हिमालमा एक्लै यात्रामा ननिस्कुन् र लामो समयदेखिका अनुभवीहरूले पदयात्रीहरूलाई दिंदै आएको सुझावको बेवास्ता नगरून्- अन्यथा कोमल हिमालय क्षेत्रबाट अप्रिय समाचार आउने क्रम बढिरहने छ।
केभिनसँगको घटनाले केहि कुरामा सोंच्न बाध्य गरायो—खर्च कटौती गर्नका लागि पर्यटकहरू जोखिम मोलेर एक्लै पदयात्रामा निस्कने क्रम बढ्दो त छ नै, सम्बध्द नियामक निकायहरू पनि यस मामलामा आवश्यक मात्रामा गम्भीर हुन सकेका छैनन्। अर्कोतर्फ, हिमाली पर्यटनमा मानवीय संवेदनाभन्दा पैसाको प्रभाव कहिलेकाहीँ बढी देखिन थालेको छ। यात्रु, गाइड र भरियाहरू आफैं थकित हुन्छन्-आफ्नै ब्यवस्थापन उनलाई चुनौतीपूर्ण हुन्छ। ब्यवसायीहरू पनि जिम्मेवारीको प्राथमिकतामा अलमलिंदा मानिसको ज्यान गइसक्छ। यसैले होला-उद्धार सेवा, हेलिकप्टर समन्वय र उपचार प्रक्रियामा आर्थिक पक्ष अत्यधिक हावी भएको कुरा थुप्रै मानिसहरूबाट सुनियो।हिमालमा पर्यटकीय गतिबिधि बढ्दै जाँदा मानवीयताभन्दा व्यापार प्राथमिक बन्न थालेको हो कि भन्ने प्रश्न मनमा उठ्यो।
भरियाको थाप्लो र काँधमा टिकेको पर्यटन
निःस्वार्थ मनले खुम्बु क्षेत्रमा सबैभन्दा सम्मान गर्न लायक पात्र हुन्—भरिया।
सामान्यतया खुम्बु क्षेत्रमा सक्रिय संघसंस्थाहरूले स्वीकार गरेको र हालसम्मको स्थापित मान्यता अनुसार मानिसले बोक्ने भारी ३० किलोग्राम सम्मको हुने भन्ने रहेछ। तर, कतिपय भरियाले ७०–८० किलोसम्म सामान बोकेर उकालो चढिरहेका देखिन्छन्। विदेशी पर्यटकका झोला, होटलका सामान, ग्यास सिलिन्डर, खाद्यान्नदेखि निर्माण सामग्रीसम्म उनीहरूकै पिठ्युँमा चढेर हिमालको फेदि र अझै माथिसम्म पुग्छन् अनि ती कतै जीवन धान्ने अत्यावश्यक बस्तु त कतै विलासिताको बस्तुमा रूपान्तरित हुन्छन्।
भरियाहरूका लागि बिलासिता भनेको अत्यधिक थाकेर गलेको शरिर, चिसोमा निदाउन नसकेपछि स्थानीय भट्टी पसलहरूमा पाउने निम्नकोटीको मदिरा पिएर पाउने मातको बिलासिता मात्रै हो। कतिपय भरिया त्यहि मदिराको नशामा बाटोमा लडखडाउँदै उकालो-ओह्रालो गरिरहेका पनि भेटिए। खुम्बु क्षेत्रमा बाटोबाट चिप्लेर थुप्रै भरियाले ज्यान गुमाइसकेको सुनियो-शायद यसको प्रमुख कारण मदिरा सेवन र अत्यधिक भार उठाउने प्रयास पनि हुनुपर्छ।
हिमाल आरोहणमा जाने भरियाको कथा बेग्लै छ। यहाँ चर्चा गरिएको हिमालको फेदिसम्म पुग्ने भरियाहरूको बारेमा हो।
बाटोमा एक जना युवा भरियाले भनेका थिए—
“हामी हिमाल चढ्दैनौं, तर हिमाल बोक्छौं।”
यो वाक्यले सिंगो खुम्बु क्षेत्रको वास्तविक नियमितताको बयान गर्छ।
पर्यटकीय चक्रमा अर्बौं रुपैयाँको कारोबारको चर्चा हुन्छ, तर त्यो चक्रमा सबैभन्दा तल्लो तहमा रहेर सबैभन्दा कठिन श्रम गर्ने मानिसहरूको जीवन अझै जोखिमपूर्ण छ। उच्च हिमाली क्षेत्रमा स्वास्थ्य उपचार सेवा सीमित छ, दुर्घटनाको जोखिम ठूलो छ, बीमा सुविधा कमजोर छ।
हिमाली पर्यटनबाट प्राप्त हुने सफलता केवल आरोहीहरूको कथा होइन, ती भरियाहरूको पसिनाको कथा पनि हो। यात्राको क्रममा यो कथा अब फरक ढंगले भोगिनुपर्छ, लेखिनुपर्छ र देखिनुपर्छ भन्ने लाग्यो। जिम्मेवार निकायहरूले यसबारे अवश्य सोंचिरहेकै होलान्।
पथप्रदर्शकहरूको मौन जिम्मेवारी
पर्वतीय पदयात्राका ‘गाइड’हरू केवल बाटो देखाउने पात्र होइनन्। उनीहरू मौसम बुझ्छन्, उचाइको जोखिम चिन्छन्, बिरामी यात्रुलाई बचाउँछन्, मानसिक रूपमा कमजोर भएका यात्रुलाई हौसला दिन्छन्। यसो गर्नु उनीहरूको कर्म र धर्म पनि हो।
हाम्रो यात्रामा ‘गाइड’ सुदिप राई काठमाडौंदेखि नै निरन्तर हामीसँगै थिए। सवारी साधनमा यात्रा गर्दा आफैं बिरामी पर्ने खालका भएपनि आफ्नो आधारभूत जिम्मेवारी अर्थात पदयात्रा अवधिभर भने उनी दायित्व निर्वाहमा अब्बल साबित भए। कसैलाई सास फेर्न गाह्रो भयो भने गति मिलाउने, मौसम बिग्रियो भने सावधानी अपनाउने, सबैलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने, बासस्थान-खाना-खाजा-चियापानीको बन्दोबस्त गर्ने जिम्मेवारी उनकै काँधमा थियो।
सुर्के पुगिसकेपछि सहयोगीका रूपमा हामीसँग जोडिएका ज्वलन राई अर्का बिर्सन नसकिने पात्र थिए। मिलनसार अनि सकारात्मक सोंचका ज्वलन बाँसुरी पनि राम्रो बजाउँदा रहेछन्। तस्वीर तथा भिडियो खिंच्न महारथ हासिल गरिसकेका ज्वलनले भरिया हुँदै गाइड सम्मको अनुभव हासिल गरिसकेका रहेछन्। मुस्कुराइरहने उनको ओंठमाथीका रहरलाग्दा जुँगा हेरेर हामीले उनलाई थुप्रै उपनामले बोलायौं। अमिताभ बच्चनजस्तै शारीरिक उचाई भएका भण्डारीले “मुछे हो तो नत्थुलालके जैसे हो…” भन्दा ज्वलन हरेक पटक झन् झन् खुशीले मुस्कुराएका देखिन्थे।
सामान्यतया हिमाल आरोहण वा हिमाली पदयात्राको सफलताको श्रेय प्रायः आरोही, पर्यटक वा टोली नेताले पाउँछन्, गाइड र भरियाहरूको चर्चा कमै हु्छ। हाम्रै टोलीमा पनि सामान लिएर बिहानै हामीभन्दा अगाडी बासस्थानबाट निस्कने र हामीभन्दा छिटै अर्को बासस्थानमा पुगेर सबै बन्दोबस्त मिलाउने अन्य दुइजना भरियाहरूसँग हाम्रो बिरलै भेट भयो यात्रा अवधिभर।
नाम्चे : हिमाल मुन्तिरको अन्तर्राष्ट्रिय बजार
३,४४० मिटर उचाइमा रहेको नाम्चे बजार हिमालको ढोकैमा अवस्थित सानो अन्तर्राष्ट्रिय शहरजस्तो छ। कफी सप, बेकरी, बार, रेस्टुरेण्ट, ट्रेकिङ सामग्रीहरूका पसल, होटल, एटीएम लगायतका आधुनिक सुबिधाहरू र माने, छोर्तेन, गुम्बा लगायतका परम्परागत सांस्कृतिक सम्पदा यहाँ भेटिन्छन्। यस्का साथै स्थानबिशेषमा र वरपरका मानव बस्तीहरूमा उत्पादित उपभोग्य र उपहारजन्य सामग्रीहरू पनि पाइन्छन्।
तर, नाम्चेमा सामानको मूल्य अत्यन्त महँगो छ। किनकि अन्यत्रबाट यहाँ पुग्ने हरेक सामान या त जहाज चढेर आउँछ या मानिसको काँध चढेर।
एक बोतल पिउने पानी काठमाडौंभन्दा पाँच गुणा महँगो हुन सक्छ। तातो पानी, इन्टरनेट, मोबाइल फोन चार्जिङ सबैका छुट्टाछुट्टै शुल्क लाग्छन्। नाम्चेबाट खुम्बु क्षेत्रमा लाग्दा भौगोलिक उचाईसँगै उपभोग्य सामग्री, खाना, होटल लगायत बस्तु र सेवाहरूको मूल्य पनि उकालिंदै जान्छ। लगानीमा अति सामान्य मुनाफा जोड्दा पनि यसो हुनु स्वाभाविकै रहेछ।
सम्पन्न पृष्ठभूमि भएका पर्यटकका लागि त्यो रोमाञ्च होला, तर कम लागतमा भ्रमण गर्न चाहने मानिस र स्थानीयका लागि- बाध्यता।
बादलको घुम्टो ओढेको स्याङबोचेः याक फार्म, सर्वोच्च ठाउँको होटेल र ‘सगरमाथा नेक्स्ट’
नाम्चे बजारमा एक रात बिताएर अर्को बिहान हामी वरपरका अग्ला ठाउँहरू घुम्ने र नाम्चे वा नाम्चे सरहकै उचाई भएको कुनै ठाउँमा बास बस्ने योजनाका साथ हिंडेका थियौं। त्यस क्षेत्रका जानकार ईश्वरी पौडेल र ज्ञानेन्द्र श्रेष्ठको सल्लाह अनुसार स्याङबोचे घुमेर क्यानजोंग्मा पुग्ने निर्णय भयो। हिमाल चुमेर फर्किएको चिसो हावा, सिमसिम झरिरहेको पानी र बादलले पुरै ढाकेको आकाशले आजको यात्रा केही फरक हुने संकेत गरिरहेको थियो। बिहानको खाजा सकेपछि हामी स्याङबोचे (३,७८० मि.) तर्फ उकालो लाग्यौं। पाइला बढ्दै जाँदा बादल झन् नजिकिँदै आयो, र वरपरको दृश्यमा पर्दा लगाइदियो- मानौं हिमालले आफैंलाई धुम्म पर्दाभित्र लुकाइरहेको होस्।
स्याङबोचेमा बादलभित्र लुकिरहेको विमानस्थल हेर्ने अवसर मिल्यो। निकै उच्च स्थानमा रहेको यो एयरस्ट्रिप खुम्बु क्षेत्रमा पर्यटन बिकासको रोमान्चकताले भरिएको इतिहाससँग जोडिएको रहेछ। छोटो धावनमार्ग, अनिश्चित मौसम र जटिल हिमाली भूगोलबीच यहाँ हुने उडान आफैंमा साहसको उदाहरण हो। बादलले ढाकेको एयरस्ट्रिपको बिचतिर पुगेर हेर्दा देखिने दृश्य रहस्यमय लागिरहेको थियो।
स्याङबोचेको कुरा गर्दा छुटाउन नहुने अर्को बिषय हो- ‘सगरमाथा नेक्स्ट’। सगरमाथा क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन, पुनः प्रयोग र दीगो पर्यटनका क्षेत्रमा काम गरिरहेको यो केन्द्रले हिमाललाई हेर्ने मात्र होइन, जोगाउने जिम्मेवारी पनि हामीले नै निर्वाह गर्नुपर्छ भन्ने सन्देश त्यहाँ पुग्ने सबैलाई दिँदो रहेछ। प्रयोग भइसकेका प्लास्टिक र अन्य फोहोर सामग्रीलाई पुनः उपयोगमा ल्याउने तरिकाको प्रदर्शनी, आर्ट ग्यालरी सहितका बिबिध कुराहरू देख्दा वातावरण संरक्षणमा परिस्थिति अनुसार फरक ढंगले सोंच्न र काम गर्न सकिन्छ भन्ने महसुस भयो ।
स्याङबोचेमै अवस्थित पशु सेवा विभाग मातहतको ‘याक आनुवंशिक श्रोत केन्द्र’ मा पुगेर पाँच दशकभन्दा लामो समयदेखि हिमाली याकको संरक्षण र प्रवर्ध्दनमा भैरहेको सरकारी प्रयासबारे जानकारी लिँदै गर्दा धेरै अगाडी रेडियो नेपालबाट गुन्जने “उच्च हिमाली भेगमा, पहाडको लेक लेकमा, भेंडा र चौंरी पालेर, पशु है पालन गरेर, दुधको धारा बगाईदिउँ, दहिको पोखरी जमाइदिउँ…” भन्ने गित सम्झनामा आयो। अढ़ाई दशकदेखि उक्त केन्द्रमा कार्यरत प्राविधिक कर्मचारी ललन यादवले हिमालको कठोर वातावरणमा रहेर याक संरक्षणमा गर्नुभएको योगदानको कथा उहाँकै शब्दमा सुन्दा संभावनाहरूको खानी हाम्रो देशमा गर्न चाहे र गर्न खोजे धेरै गर्न सकिन्छ भन्ने लाग्यो। यादवको न्यानो आतिथ्यता त्यो चिसो मौसमको सबैभन्दा मीठो सम्झनामध्ये एक बन्यो।
स्याङबोचे भन्नासाथ हाम्रो दिमागमा आउने अर्को ठाउँ हो-‘होटेल एभरेस्ट भ्यू’। सामान्य ज्ञानका पुस्तकहरूमा थुप्रैपटक पढेर हाजिरी जवाफ प्रतियोगितामा ‘विश्वकै अग्लो स्थानमा रहेको होटेल कुन हो?’ भन्ने प्रश्नको जवाफ दिंदै हुर्किएका हामीलाई ३,८८० मिटरमा अवस्थित उक्त होटेलले आकर्षित गर्ने नै भयो। सामान्यतया यहाँबाट सगरमाथा, आमादब्लम, ल्होत्से र नुप्त्से हिमालको भव्य दृश्य देखिन्छ भनिन्छ। तर, त्यो दिन प्रकृतिले हामीलाई हिमालको स्पष्ट अनुहार देखाउन चाहेन। बाक्लो बादल, सिमसिम पानी र न्यून ‘भिजिबिलिटी’बीच हामीले हिमाललाई आँखाले होइन, मनले महसुस गर्र्यौं। होटेलको मुख्य प्रवेशद्वार अगाडीको सिंढीमा तस्वीरहरू लिने बाहेक हामीले त्यहाँबाट अरू केहि हेर्न पाएनौं। कहिलेकाहीँ प्रकृतिले दृश्य लुकाएर पनि अनुभूति भने अझ गहिरो बनाउँदो रहेछ।
पशु परिवहन र अव्यवस्थित ट्राफिक
खुम्बु क्षेत्रका चुनौतीहरू मध्येको एउटा प्रमुख पशु चौपाया (चौंरी, खच्चड, घोडा र जोक्पे)को अव्यवस्थित प्रयोग हो। साँघुरा पदमार्गमा एकातिर स्थानीय, पर्यटक तथा भरिया र अर्कोतिर भारी एवं मानिस बोकेका चौपाया हिँड्दा दुर्घटनाको जोखिम उच्च देखिन्छ।
कतिपय स्थानमा पर्यटकहरू भीरको किनारमा उभिन बाध्य हुने अवस्था रहेछ। अलिकति पानी पर्नासाथ चौपायाको मलमूत्र सहितको हिलोले बाटो भरिएर हिंडाइमा पैदा हुने असहजता शब्दहरूमा ब्यक्त गर्न पनि कठीन छ- तर यथार्थमा यो दशकौंदेखि चलिरहेकै छ।
खुम्बुको पर्यटन र जनजीवनको अभिन्न हिस्सा चौपायाहरूको स्वास्थ्य अवस्था, शारीरिक क्षमता र बोक्ने भार बिचको सन्तुलन तथा उचित रेखदेखको पक्षमा पशुपालकले बिचार पुर्र्याएकै होलान्। तथापि थुक-लाको उकालो चढ्दै गर्दा बाटो छेउमै लडिरहेको जोक्पेको मृत शरिर देख्दा हामीलाई सफल आरोही, पदयात्री बन्न सघाउने अबोध चौपायाहरूको वास्तविक अवस्थाप्रति हामी कतै गैरजिम्मेवार बनेका त छैनौं? भन्ने प्रश्नले सताइरह्यो।
खुम्बु क्षेत्रमा चौपायाका लागि बैकल्पिक मार्ग विकास गर्न सके पदयात्रा थप सुरक्षित र व्यवस्थित बन्न सक्ने देखिन्छ। मलमूत्र व्यवस्थापन, ट्राफिक अनुशासन र छुट्टै मार्गको अभावले पदमार्गको यात्रा मानिस र पशु दुवैका लागि जोखिमपूर्ण अवस्थामा रहेको देखियो।
पर्यटन सम्बध्द व्यवसाय र अर्थतन्त्र
खुम्बु क्षेत्रको अर्थतन्त्र मूलतः पर्यटनमै टिकेको छ। खुम्बु मात्र होइन, त्यहाँको पर्यटनले समग्र नेपालकै अर्थतन्त्रमा टेवा पुर्याइरहेको छ। होटल, रेस्टुरेन्ट, गाइड सेवा, ट्रेकिङ कम्पनी, हेलिकप्टर सेवा, पशु-चौपाया व्यवसाय, भरिया सेवा—सबै हिमालकै वरिपरि घुमिरहेका छन्।
लोबुचेस्थित “8000 Inn” होटलको ब्यवस्थापन समेत हेर्नुहुने पिरामिड अन्तर्राष्ट्रीय प्रयोगशाला तथा अवलोकन केन्द्रका कर्मचारी काजी बिष्टले बिगत दुई दशकभन्दा लामो समयदेखि हिमालमा भैरहेको उतारचढावको निरन्तर एवं प्रत्यक्ष अवलोकन गर्दै आउनु भएको छ।
“पहिले पर्यटक कम आउँथे। अहिले संसारभरका मानिस आउँछन्। तर जलवायु परिवर्तनले चुनौती पनि बढाएको छ।”
पर्यटनले अर्थोपार्जनको अवसर दिएको छ, तर अस्वस्थ प्रतिस्पर्धा, व्यावसायिक दबाब र अमर्यादित बजार संस्कृति पनि बढ्दै गएको छ।
कतिपय ठाउँमा “जसरी भए पनि कमाउने” प्रवृत्ति देखिन्छ। सेवा र दीगो प्रतिष्ठा भन्दा तात्कालिक नाफालाई प्राथमिकता दिने प्रवृत्तिले पर्यटनको गुणस्तरमा प्रश्न उठ्न थालेको छ।
कठीन भौगोलिक परिवेशमा जीविकोपार्जन गर्न गाह्रो छ, त्यो सत्य हो। सेवा, सुविधा र सामग्रीहरूको मूल्य सोही अनुरूप निर्धारण हुनु पनि पर्छ। तर विकसित मुलुकका पर्यटकहरू मात्र हाम्रा भाग्यविधाता हुन् भन्ने सोंचाईबाट हामीहरू बिस्तारै मुक्त हुँदै जानुपर्छ। यसले आन्तरिक पर्यटन बिस्तार गर्न र कारणवश बिदेशीहरूको आगमन रोकिए पनि पर्यटन उद्योगलाई जिवित राख्न मद्दत पुग्छ।
जलवायु परिवर्तन : पग्लँदो हिमाल
खुम्बु क्षेत्रमा पुग्दा देख्न सकिने अर्को गम्भीर यथार्थ हो—जलवायु परिवर्तनको असर।
पाँगबोचेमा होटल ब्यवसाय गर्ने सगरमाथा आरोही सोनाम ग्याल्जेन शेर्पा भन्छन्—
“पहिले यहाँ धेरै हिउँ पर्थ्यो, अहिले कम भएको छ। खुम्बु ग्लेसियर र आइसफल सर्दै गैरहेको छ।”
ग्लेसियर पग्लिरहेका छन्। मौसम अनिश्चित बन्दै गएको छ। हिमतालहरू थपिइरहेका र ठूलो आकारका भइरहेका छन्। हिमपहिरोको जोखिम बढिरहेको छ।
लोबुचे नजिक रहेको इटली र नेपाल सरकारको संयुक्त उपक्रम ‘पिरामिड अन्तर्राष्ट्रीय प्रयोगशाला तथा अवलोकन केन्द्र’ ले हिमालय क्षेत्रमा जलवायु परिवर्तनमाथि अध्ययन गर्दै आएको छ। वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्र विश्वको औसतभन्दा छिटो तापक्रम वृद्धिको चपेटामा छ।
तर हिमाल जोगाउने दीर्घकालीन सरकारी योजना अझै कमजोर देखिन्छ। यहाँनेर अनुभूत हुने र स्वीकार्नै पर्ने सत्य के पनि हो भने-नेपालको एक्लो प्रयासले खुम्बु क्षेत्रमा हुने मानवीय गतिविधि केहि ब्यवस्थित त गर्न सकिएला तर समग्र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न अन्तर्राष्ट्रीय सहकार्य बिना सम्भव छैन।
राज्यको उपस्थिति र सक्रियताबारे
सगरमाथा नेपालको गौरव हो। विदेशी मुद्रा आर्जनको प्रमुख श्रोत, अन्तर्राष्ट्रिय पहिचानको बिम्ब र पर्यटनको केन्द्र पनि हो। तर यति महत्वपूर्ण क्षेत्रका लागि अझैसम्म स्पष्ट दीर्घकालीन सरकारी दृष्टि देखिँदैन।
सगरमाथा राष्ट्रीय निकुन्ज घोषणा गरेर सेनाको सानो टुकडी तैनाथ गरेकै भरमा राज्यले न त त्यस क्षेत्रमा भैरहेका सबै मानवीय गतिबिधिको सूचना पाएको छ-न त अत्यावश्यक परिस्थितिमा उध्दार कार्य संचालन गर्न सक्छ। बिभिन्न मुलुकका सुरक्षा निकायहरूको बाक्लो गतिबिधि हुने गरेको सुनिने सगरमाथा क्षेत्रमा हामी यात्रारत रहेकै बेला एउटा शक्तिराष्ट्रका बरिष्ठ अधिकारी आएर ड्रोन उडाएको भन्ने सुनियो। अल-जजिराको अंग्रेजी च्यानलले सगरमाथा क्षेत्रमा चीन र अमेरिकाबिच ड्रोन परीक्षणमा प्रतिस्पर्धा चलिरहेको दाबी सहित समाचार सामग्री प्रसारण गर्यो। यहि सिजनमा भारतको ‘ईण्डो-टिबेटन बोर्डर फ़ोर्स’ का महिलाहरूको टोली आरोहणको तयारीमा छ। सीमाक्षेत्र र विश्वको ध्यान खिच्ने संवेदनशील ईलाकामा हुने यस्ता गतिबिधिबारे राज्य पूर्णतः जानकार छ नै भनेर विश्वास गरौं। स्थानीय पालिका र अन्य संघसंस्थाहरूले पनि राज्यको उपस्थिति सुनिश्चित गर्ने सक्दो कोशिस गरिरहेकै होलान्-तथापि के ति पर्याप्त छन् त?
खुम्बु क्षेत्रमा पर्यटकीय गतिबिधिमा संलग्न रहेर आम्दानी गर्ने र अनुभव हासिल गर्ने थुप्रै मानिसहरू विगतमा राज्यको नीति निर्धारण गर्ने तहमा पुगिसकेका छन् र हाल पनि सो तहमा त्यस्ता मानिसहरूको राम्रै उपस्थिति छ।
कहिलेकाहिं त सगरमाथा र नेपालका हिमालहरूबाट नेपालीलाई हुने अर्थोपार्जनभन्दा निकै बढ़ी कारोबार त्यहि हिमालको नाममा बिदेशमै हुने गरेको पनि सुनिन्छ। सन् १९९६ मै सगरमाथा आरोहण अनुमति प्राप्त गरेका लगभग ३० प्रतिशत समूहहरू अर्थोपार्जनका लागि मात्र सक्रिय रहेको भनेर आरोही तथा पत्रकार ज़ोन क्राकाउरले आफ्नो “इण्टु द थिन एअर” पुस्तकमा लेखेको कुरा हालै जयदेव गौतमले उनको कृति समीक्षामा उल्लेख गरेका छन्। यहाँनेर सबैभन्दा चिन्तालाग्दो पक्षचाहिँ हिमाल आरोहण र हिमाली क्षेत्रको पर्यटनमा विद्यमान समस्याहरू सम्बन्धमा अनुभवी ब्यवसायीहरू एक-अर्कासंग खुल्दैनन् भन्ने गुनासो हो।
हिमाली पर्यटनमा पूर्वस्वीकृति नलिई ‘रेकर्ड’ राख्ने वा अन्य उद्देश्यले थुप्रै गतिबिधि हुने गरेको कुरा चर्चामा आइरहन्छ। हाम्रो टोली सगरमाथा आधार शिबिरतिर बढ्दै गर्दा आमादब्लम हिमालको शिखरमा एकजना युरोपेली महिलाले भित्री वस्त्रमात्र लगाएर तस्बीर खिंचेको कुरा स्थानीयहरू बिच चर्चामा थियो। खासमा त्यो ‘फोटोसूट’ त्यहि भित्री वस्त्रको विज्ञापनका लागि गरिएको रे। प्रचलिल ऐन र स्थानीय संस्कार प्रतिकूल नहुने हो भने यस्ता कार्यहरू लुकीचोरी गर्नको सट्टा निश्चित शुल्क तिराएरै गर्ने अनुमति दिंदा राज्यलाई फाइदै होला।
फोहोर व्यवस्थापन, उद्धार सेवा, स्वास्थ्य पूर्वाधार, पदमार्ग सुरक्षा, भरिया–गाइड बीमा, जलवायु संरक्षण, हेलिकप्टर नियमन र व्यवस्थित पर्यटन नीतिमा एक अर्काको अनुभव समेटेर सरकार र ब्यवसायीहरूले धेरै काम गर्न बाँकी छ।
खुम्बु क्षेत्रबाट उठ्ने आम्दानीको निश्चित प्रतिशत पुनः खुम्बुकै पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र स्थानीय विकासमा लगानी गरिनु आवश्यक देखिन्छ।
हिमालले देशलाई धानिरहेको छ, अब राज्यले हिमाललाई धान्ने समय आएको छ।
थुक्ला पास : मौन स्मृतिहरूको साक्षी
दुघ-ला र लोबुचे बीच पर्ने थुक-ला (भन्ज्यांग) पुग्दा वातावरण अचानक भावुक बन्छ।
त्यहाँ सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीहरूका स्मारकहरू छन्।
सगरमाथाले धेरैलाई विश्वप्रसिद्ध बनाएको छ, सँगै धेरैलाई सदाका लागि आफैंसँग सुताएको पनि छ।
तेर्सैतेर्सो हिंडेर आउने केहिबेरको ठाडो उकालो पछिको भन्ज्यांग, थुक-ला पुग्दा ठूलै बाधा पार गरेको महसुस पनि हुन्छ। त्यो ठाउँमा उभिँदा महसुस हुन्छ—हिमाल केवल सौन्दर्य होइन, जोखिम पनि हो। त्यहाँ पुग्दा मानिस आफ्नो सीमितता महसुस गर्न बाध्य हुन्छ।
कालापत्थर : जहाँ शब्द हराउँछन्
५,५४५ मिटर उचाइको कालापत्थरबाट देखिने सगरमाथाको दृश्य बयान गर्न शब्द पर्याप्त हुँदैनन्। सुर्योदय वा सुर्यास्तको बेला कालापत्थरबाट सगरमाथा लगायतका हिमशृंखलाहरूको अलौकिक दृश्य देख्न सकिन्छ।
अनुभवीहरूको भनाइमा कालापत्थरमा पुगेर हिमाल देख्न पाउनु ठूलो भाग्यको कुरा हो। किनकी, छिनछिनमा बादलले छोपेर हिमाल अदृश्य बन्न पुग्छ।
हामी अपरान्हको समयमा गोरकसेपबाट कालापत्थर उक्लिएका थियौं। जयवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षित गर्न केहि बर्ष अगाड़ी मन्त्रिपरिषदको बैठक भएको थियो-गोरकसेपबाट केहि माथी कालापत्थरको फराकिलो ठाउँमा। त्यस ठाउँलाई हेर्दै चिसो सिरेटोमा कठ्यांग्रिंदै हामी निरन्तर उकालो चढिरह्यौं। हामी शिखरमा पुग्दा काठमाडौंमा दैनिक तारेभिर र शिबपुरी डांडातिर हिंडेर यो पदयात्राको लागि तयारी गरेका ब्यवसायी मित्र चन्द्र लामा हामीलाई पर्खिरहेका थिए। अस्ताउँदै गरेको घामले सगरमाथा, नुप्त्से, ल्होत्से र पुमोरी हिमाललाई सुनौलो रंगले रंगाइरहेको थियो। चिसो हावा, निस्तब्धता र हिमालहरूको विराट उपस्थितिले मन निःशब्द बनाइदिएको थियो।
पूर्वउल्लेखित मन्त्रिपरिषद बैठकको प्रत्यक्ष प्रसारणमा नेपाल टेलिभिजनको स्टूडियोमा बसेर मुख्य भूमिका निभाएका र जीवनभर हिमाल, पहाड़, प्रकृतिका सुन्दर दृश्यहरू सम्पादन गर्दै आएका नेपाल टेलिभिजनका निवर्तमान अपरेशन महाशाखा प्रमुख मित्र मिश्रीलाल यादवले सकिनसकी बोकेर लगेको क्यामेराको भरपूर सदुपयोग गर्न थाले। उनी चार दिन अगाडीमात्रै नेपाल टेलिभिजनबाट सेवा निवृत्त भएका थिए। हामीले पांग्बोचेमा मित्र ईश्वरी पौडेलको सौजन्यमा उनको ‘रिटायरमेण्ट सेरेमनि’ मनाएका थियौं।
कालापत्थरमा पुगेको त्यो क्षणमा महसुस भयो—
मानिस प्रकृतिभन्दा ठूलो कहिल्यै हुँदैन।
अनि शुरू भयो, हाम्रो सगरमाथा दर्शन यात्राको महत्वपूर्ण कार्यक्रम “सगरमाथा साहित्य उत्सव” प्रथम संस्करणको पहिलो कार्यक्रम। चिसो सिरेटोमा लुगलुग काम्दै गरेका हामीलाई सहयात्री कृष्ण प्रसाद भण्डारीले वाचन गरेको “धर्ती राम्रो प्रकृतिले पिरती गाँसेको” शीर्षकको कविताले बेग्लै न्यानोपनको अनुभूति दिलायो। नेपाली सेनाको उपरथी दर्जाबाट हालै सेवानिवृत्त भण्डारीले उक्त कविता सोही दिन बिहान गोरकसेपमा रचेका थिए।
सगरमाथा आधार शिविर : सपनाहरूको पोको
कालापत्थरबाट ओर्लेर हामी अघिल्लो रातझैं गोरकसेपमै बस्यौं। भोलिपल्ट बिहानैदेखि बाक्लो हिउँ परिरहेको थियो। योजना मुताबिक़को समयभन्दा दुई घण्टा ढिलासम्म पर्खंदापनि हिउँ पर्न नरोकिएपछि हामी आधार शिविरतर्फ अघि बढ्ने निर्णयमा पुग्यौं।
त्यहाँ पुग्दा काठमाडौंबाट अघिल्लो दिनसम्म सहयात्रा गरेका ललितपुर महानगरका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ र हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपीडिशन प्रा.लि. का ‘वेश क्याम्प म्यानेजर’ भोला पौडेल स्वागतको लागि पर्खिरहेका थिए। श्रेष्ठ यसपाली सत्रौं पटक आरोहण दलको सम्पर्क अधिकृतका रूपमा आधार शिविरमा पुगेका हुन्। निजामति कर्मचारीहरूको सगरमाथा आरोहण दलमा सम्मिलित भएर सगरमाथा शिखर चुमिसकेका उनीसँगको यात्रा हाम्रा लागि अविस्मरणीय रह्यो। अघिल्लो दिन हामी कालापत्थरतर्फ लागेपछि उनी छुट्टिएर सम्पर्क अधिकृतको जिम्मेवारी निभाउन ‘वेश क्याम्प’ तिर हिंडेका थिए। यस्तै, २८ बर्षदेखि निरन्तर आरोहण सिजनमा विभिन्न भूमिकामा आधार शिविर पुगिरहेका पौडेल थुप्रै आरोहीहरूको सफलताको माध्यम बनिसकेका छन्। उनी खुम्बु क्षेत्रमा सक्रिय पर्यटन ब्यवसायीहरू माझ परिचित व्यक्तित्व रहेछन्।
हामी पुग्दा बिभिन्न देशबाट सगरमाथा आरोहणका लागि आएर आफुलाई ‘एक्लिमटाइज’ गर्दै गरेका आरोहीहरू बस्ने रंगीन टेन्टहरू र त्यसैको वरपर दैनिक क्रियाकलापमा ब्यस्त आरोहीहरू, खुम्बु हिमनदीको गर्जन र हिमालको मौनताले वातावरणलाई अद्भुत बनाएको थियो।
आधार शिविरमा स्थापना गरिएको ’हिमालयन गाइड्स’ को क्याम्पमा केहिबेर सुस्ताएपछि हामीले केहि विदेशी पर्यटकहरूलाई भेटेर उनीहरूका अनुभव सुन्यौं। अनि शुरू भयो “सगरमाथा साहित्य उत्सव” प्रथम संस्करण अन्तर्गत दोस्रो कार्यक्रम अर्थात कृष्ण प्रसाद भण्डारीको एकल कविता वाचन।
सगरमाथाको आधार शिविरमा उभिएर उनले गत श्रावणमा दिवंगत भएकी आफ्नी आमाप्रति श्रध्दा प्रकट गरे, धेरै अगाड़ी बितेका बालाई नमन गरे, विद्यालयमा पढ्दा साहित्य सृजनामा लाग्न प्रेरित गर्ने गुरूलाई सम्झे अनि आफुले साढे तिन दशक सेवा गरेको नेपाली सेना र त्यससँग प्रत्यक्ष/परोक्ष सम्बन्ध राख्ने सबैप्रति समर्पित कविता गुन्गुनाए-“सिपाहीको गीत” शीर्षकमा। वीरता, देशप्रेम र एकताको सन्देशले भरिएको अनि प्रकृति र संस्कृतिका कुरा समेटिएको कविता हिमालको चिसो हावाबीच गुञ्जिँदा लाग्थ्यो—सगरमाथाको मौनताले पनि तनमनले आफुलाई सिपाही मात्र ठान्ने ‘जनरल’ को नेपाली कवितालाई सुनिरहेको छ।
…र अन्तमा,
जुन उत्साह र उमंगका साथ हामीले यो यात्रा थालेका थियौं- सो को समापन पनि त्यहि रूपमै भयो। शुरूमा सहयात्राको लागि तयारी गरेर कारणवश सँगै जान नपाएका मित्र कलाकार मनोज गजुरेल लुक्लामा आएर हाम्रो टोलीमा मिसिए। उनको प्रमुख आतिथ्य तथा यसपटकको यात्राको सबै चाँजोपाँजो मिलाउने एवं सहयात्रा गर्ने हिमालयन गाइड्स नेपाल, ट्रेक्स एण्ड एक्सपीडिशन प्रा.लि.का प्रवन्ध निर्देशक, पर्यटन व्यवसायी मित्र ईश्वरी पौडेलको अध्यक्षतामा ओखलढुंगा-सोलु सीमावर्ती पत्ताले धाप ईलाकामा साहित्य उत्सवको तेस्रो तथा अन्तिम कार्यक्रम सम्पन् गर्र्यौं। त्यहाँ “सगरमाथा” शीर्षकको कविता वाचन गर्दै भण्डारीले सुनाए, “गरि खाने श्रमिकको पेट पाल्ने मानो रैछ, साँच्ची हजुर सगरमाथा संसारको छानो रैछ।”
नाच्दै, गाउँदै १४ दिनपछि काठमाडौं फर्किँदा शरीर थाकेको थियो, तर मन असाध्यै भरिएको थियो।
हिमालले सिकाएको सबैभन्दा ठूलो कुरा शायद यही हो
उचाइ केवल शिखरमा हुँदैन,
संघर्ष गर्ने मानिसहरूको जीवनमा हुन्छ।
भरियाको काँधमा,
‘गाइड’ को धैर्यमा,
होटल व्यवसायीको मुस्कानमा,
स्थानीय बस्तीको आत्मीयतामा,
र हिमालसँग संघर्ष गर्दै बाँचिरहेका मानिसहरूको साहसमा पनि सगरमाथा जीवित छ।
सगरमाथा केवल हिमाल होइन,
नेपालको जीवित आत्मा हो।
“सगरमाथा साहित्य उत्सव” प्रथम संस्करण अन्तर्गत सम्पन्न कार्यक्रमहरूमा प्रस्तुत कविताहरू
पहिलो कार्यक्रम
स्थानः कालापत्थर
धर्ती राम्रो प्रकृतिले पिरती गांसेको
जून राम्रो पूर्णिमाको-फूल वसन्तको
हिउं राम्रो हिमालको-माया नेपालको।
बास राम्रो झुपडीको-बा ले ठड्याएको
गास राम्रो आमाको नै हातले बनाएको।
तन राम्रो श्रमिकको-पसिना झरेको
मन राम्रो इमान्दारी-सदभाव भरिएको।
गीत राम्रो बाजागाजा -सुर मिलाइ गाको
सांझ राम्रो जहान सबै-घर फर्कि आको।
बन राम्रो रूखपात-हरियाली छाको
खोला राम्रो कलकल माछा खेल्न पाको।
घर राम्रो दाजुभाइमा माया प्रेम भाको
दिन राम्रो दु:खकष्ट सबै बिति गाको।
धन राम्रो ईमानको-आफैं कमाएको
देश राम्रो शान्त-सबै जन रमाएको।
गाथा राम्रो पूर्वजको-त्याग र वीरताको
भाषा राम्रो मनका भाव-प्रष्टै पोख्न पाको।
धर्म राम्रो उपकार-दया करूणाको
कर्म राम्रो स्वाभिमानी बन्ने सृजनाको।
दृश्य राम्रो बादलमाथि हिमाल हांसेको
धर्ती राम्रो प्रकृतिले पिरती गांसेको।
दोस्रो कार्यक्रम
स्थानः सगरमाथा आधार शिविर
सिपाहीको गीत
म राई हुँ, कुमाईं हुँ, माझी हुँ म थारू हुँ
म डोम हुँ, चमार हुँ, क्षेत्री हुँ नेवार हुँ।
दुष्कर्मको विनाशक म–सज्जनको भाइ हुँ
माटो निम्ति बलि चढ्ने म नेपाली सिपाही हुँ।
म मष्ट हुँ, सिमेभूमे, चण्डी हुँ– कुमारी हुँ
म शान्तिको राग हुँ र साहसी खुकुरी हुँ।
पैंचो लिएको नुनलाई तिरिरहने खुनले
शरण र वचन खातिर–जल्ने म अग्निकुण्ड हुँ।
म वृक्ष हुँ–निकुञ्ज हुँ, बाघ हुँ
…











प्रतिक्रिया