सामान्यतया अहिले वामपन्थी भनेको साम्यवादी भन्ने बुझिन्छ । प्रतिपक्षीलाई पनि वामपन्थी भनिन्छ । वामपन्थ प्रगतिशील चरित्र हो । तर यहाँ त्यस्तो नभएकाले यसबारेमा संक्षिप्तमा केही चर्चा गरौं ।
वि.सं. २०८२ भाद्र २३–२४ गतेको आँधीहुरीले अपदस्थ गरिएको पुरानो संसद्वादी व्यवस्था (सामन्ती, दलाल तथा नोकरशाही पूँजीवादको सञ्चालक समिति) का सञ्चालकहरूलाई गत फागुन २१ गते हठात गरिएको निर्वाचनले अस्तित्व रक्षाको सङ्कटमा पु¥याइदिएको छ । पुराना र नयाँ रास्वपाको गठबन्धनमा यस्तो नतिजा आएको हो र यस्तो नतिजा आउनुमा मुख्यः रूपमा पुराना संसद्वादी दलहरू नै जिम्मेवार थिए । यसो हुनुमा आन्तरिक कारणको भूमिका प्रधान हुन्छ ।
उनीहरूको समाज र नागरिकहरूप्रतिको अपहेलना र रूखो व्यवहारकै कारण यो परिस्थिति बनेको हो । जहिले पनि बाह्य कारण सहयोगी हुने हुन्छ नै । पुरानो सदनभित्र पनि सरकार पक्ष र प्रतिपक्ष देखाउने दाँतजस्ता मात्र थिए, गर्ने कामकुरा एकै थिए । कुन विषय राष्ट्रिय हितका हुन् र कुन–कुन विषय राष्ट्रिय हित विपरीतका हुन् भन्ने विषय छुट्टिएर आवाज घन्किएको देख्न र सुन्न पाइएन । बरू राष्ट्रिय स्वाधीनता र अस्मितालाई कहाँ–कहाँ कस–कसलाई कसरी–कसरी बन्धकमा राख्ने, कस–कसको व्यक्तिगत हितलाई सम्बोधन गर्दा कति–कति फाइदा हुने हो भन्ने आधारमा नीति तथा कार्यक्रम बन्ने अनि सत्तापक्ष र प्रतिपक्षले मिलाएर व्यवहार गर्ने परिपाटी भएको स्थानमा वामपन्थको अवस्था दुर्दशा नै हुने हुन्छ ।
बन्न नसकेको वामपन्थ ः
आफ्नो नेतृत्वको सरकार अपदस्थ भएर असंवैधानिक सरकार गठन भएर गर्छु भनेको निर्वाचन पनि असंवैधानिक हुन्छ । अपदस्थ भएको सरकार र व्यवस्थामा रहकाहरूले संविधानकै फेरो समातेर गर्ने भनिएको निर्वाचनको विपक्षमा हुनुपर्दथ्यो । निर्वाचन बहिस्कार गर्नुपर्दथ्यो । तत्कालै हाम्रा प्रतिक्रिया र सुझाव यसै अनुरूपका रहेका थिए । लेख, रचना, सामाजिक सञ्जालमार्फत विषयहरू धेरै आएकै थिए । तर वामपन्थी चरित्रसमेत गुमाइसकेकाहरूले यो स्तर र यो उचाइको राजनीतिक निर्णय गर्ने हैसियत राख्न नसक्नु पनि स्वाभाविक नै हुन्थ्यो । नत्र भने अराजनीतिभित्र राजनीति खोज्नु के हो त ? यसको के अर्थ हुन्छ ? संसद् पुनस्र्थापनाको सर्वोच्चमा रिट हालेर सुविधाजनक अवतरणको बाटो रोज्नु सरकार र व्यवस्था गुमिसकेपछिको वामपन्थको के औचित्य ? के हैसियत ?
नेपालको राजनीतिमा लोकतन्त्रवादीहरूकै दुर्दशा रहेको अवस्थामा वामपन्थको उभार देखिनुपर्ने, जनमतको र लोकप्रियताको दृष्टिले पनि कम्युनिस्ट झुकाव राम्रो रहेको स्थानमा । त्यो कम्युनिस्ट झुकावलाई न्याय गर्न नसके पनि लोकतान्त्रिकहरूले भन्ने गरेका वामपन्थले आफ्नो न्यूनतम इमानदारिता त देखाउनुपर्ने ? केही पनि छैन । चाहे झापा विद्रोहबाट विकास भएकाहरू हुन्, चाहे रोल्पा विद्रोहबाट विकास भएका नै किन नहुन् ? दुवै किसान मजदुरको व्यवस्था स्थापना गर्न सङ्घर्षको उच्चतम बलिवेदीमा पुगेका शक्तिहरू हुन् । आखिर तिनीहरूको सङ्घर्ष भनेको जसरी पनि सरकारमा पुग्ने र पुरानाको ठाउँ ओगट्ने रहेछ । नयाँ जनमुखी, देशमुखी काम गर्नु नपर्ने रहेछ । यस्तो छ नेपाली वामपन्थको कथा ।
वामएकताको पुन्तुरो ः
अहिले बजारमा मूच्र्छामा परेर केही ल¥याङम¥याङ गरिरहेका टाउकाहरू वामएकताको पुन्तुरो फुकाइरहेका छन् र भनिरहेका छन्– अब ‘एकता’को विकल्प छैन । साँच्चिकै भन्ने हो भने उनीहरूको अगाडि यो एकताबाहेक अर्को विकल्प पनि छैन । यी ‘कथित संसद्वादी वामपन्थी’हरूसँग जनतामा जाने अर्को ‘ऐजेन्डा’ पनि छैन । किनभने यिनीहरू हिजो कम्युनिस्टको भ्रम दिन सक्थ्ये तर आज सक्दैनन् । यिनीहरू त केवल कम्युनिस्टको नाममा कम्युनिस्ट पार्टी, कम्युनिस्ट आदर्श, विचार, सिद्धान्त, निष्ठा र इमान्दारितासहितको आशावादलाई समाप्त गर्न उभिएका जस्ता देखिन्थे । यसका कारण समाजमा थप निराशा र दिशाहीनताको अवस्था निर्माण गरी सिङ्गो समाज र परिवर्तनलाई नै गुमराहमा पार्ने, भ्रममा राख्ने र बन्धक बनाउने भएको थियो ।
यो एकताको कुरा पनि ६ जनाको बन्ने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुने व्यवस्था भएकाले त्यो पद पाउन र नियुक्तिमा भागवण्डा लगाउन नै हो । यसमा पनि बालेन अधिनायकत्व लागू भइसक्यो । अध्यादेशमार्फत गणपूरक सङ्ख्या ४ को ठाउँमा उपस्थित सङ्ख्या ४ र गणपूरक सङ्ख्या ३ हुने संशोधन भएर प्रमाणित भइसकेको अवस्था छ ।
यो ‘तुरुप’ले पनि काम नगर्ने देखियो । तैपनि महाभारत महाकाव्यको कथामा सिङ्गो यदुवंशीको विनाशको दुश्चक्रमा महाभारतका नायक श्रीकृष्णले सय अपराध पुगेपछि मात्र शिशुपालको बध गर्दछन् र महाभारत युद्ध त्यति बेलासम्म हुँदैन जबसम्म त्यहाँ भनिएको धर्मको पक्षमा र अधर्मको पक्षमा सारा जगत् र राज्यहरू ध्रुवीकृत हुँदैनन् । यहाँ पनि त्यही हो, कम्युनिस्टका नामका कलङ्क र हुन नसकेका वामपन्थीहरू एकातिर र सच्चा कम्युनिस्टहरू एकातिर हुन नसक्दासम्म निर्णायक सङ्घर्ष हुन सक्दैन ।
को बन्ला वामपन्थी ?
प्रगतिशील चरित्र गुमाइसकेका, सत्ता आस्वादनमा पतन भएका वामहरूले भनेजस्तो अवस्थालाई कायम राख्न नसक्ने देखेपछि के लोकतान्त्रिक, के वामपन्थी सबैलाई एउटै कन्टेनरमा पु¥याउनुको विकल्प उनीहरूमा थिएन । त्यसको विकल्पमा गरिएको वितण्डतापछिको स्थितिले यो सदनमा को वामपन्थी हुन्छ ? को दक्षिणपन्थी हुन्छ भन्न सक्ने अवस्था पनि धुमिल नै छ ।
साम्यवादी धाराबाट संसद्मा वामपन्थको अवसान भएपछि लोकतान्त्रिक वा स्वतान्त्रिक (स्वतन्त्रखाले) दलबाट वामपन्थको खोजीकार्य चलिरहेको छ । लोकतान्त्रिक शक्तिको वामपन्थी चरित्र गुमिसकेको अवस्थामा स्वतान्त्रिकद्वारा दिने भ्रमबाट कम्युनिस्ट जनमत झुक्किरहन सकोस् भन्ने रहेको छ । केही समय देशमा यस प्रकारको भ्रमले पनि काम गर्ने देखिन्छ ।
के साँच्चिकै वामपन्थी बन्ने हो त ?
नेपालको परिवर्तनको आन्दोलन वा अभियानमा लागेकाहरूलाई कम्युनिस्ट आन्दोलनमा लाग्ने मुख्य अवसर रहेको छ । राजासहितको कम्युनिस्ट, बहुलवादसहितको कम्युनिस्ट, संसद्वादसहितको कम्युनिस्ट अब सम्भव छैन । संसद्वाद भनेको दलाल पूँजीवाद नै हो । वास्तवमा हिजोको सङ्घर्ष पनि र आजको सङ्घर्ष पनि कम्युनिस्ट र गैर–कम्युनिस्टबीचको सङ्घर्ष नै मुख्य सङ्घर्ष हो । चेतन सङ्गठित रूपमा र अचेतन असङ्गठित रूपमा सङ्घर्ष चलिरहेकै छ । अब प्रश्न यहाँ के हो भने, कम्युनिस्ट चित्र र चरित्रमा उठ्न कठिन हुन्छ भने पनि कमसे कम वामचित्र र चरित्रमा सजिलै उभिन सकिन्छ ।
नयाँ राजनीतिक मोड ः
नेपालको संसद्वादी राजनीतिक व्यवस्थामा वामपन्थी बन्ने अवसर पनि समाप्त भइसकेको छ । जेन्जी आन्दोलन अपहरण गरेर भएको असंवैधानिक निर्वाचनबाट बनेको दुई तिहाइनजिकको सरकारले घोषणा गरेको सयबुँदे प्रतिबद्धताको बुँदा नं. ३ अनुसार सदनमा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको कसैको निर्वाचन घोषणापत्र, कसैको प्रतिबद्धतापत्र, कसैको करारपत्रजस्ता पत्रहरूका साझा विषयहरू समेटेर ६ वटै दलहरू बसी १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ प्रस्तुत गरिसके । त्यही अनुरूपको सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत भइसक्यो । परम्परागत भने पनि वा नयाँ भने पनि सरकारको नीति तथा कार्यक्रम पास पनि भइसकेको छ । अब यहाँ कहाँ प्रतिपक्ष रह्यो र ? सबैको सहमतिको विषयहरू कार्यान्वयनको स्तरमा हुने नोकझोक पनि वामपन्थ हुन्छ र ?
वामपन्थ भनेको के हो ?
साधारणतया संसद्वादी व्यवस्थामा जनताबाट तोकिएको सङ्ख्यामा निर्वाचित प्रतिनिधिहरूमध्ये धेरै (बहुमत) प्रतिनिधि भएको दल वा समूहले सरकार गठनको अधिकार पाउँछ । सरकार गठन गर्ने पक्ष सदनमा रहेको सभामुखको आसनको दायाँतर्फ बस्ने गर्दछ, जसलाई दक्षिणपन्थी भनिने गरिन्छ । जनताबाट तोकिएको सङ्ख्यामा निर्वाचित प्रतिनिधिहरूमध्ये कम (अल्प) सङ्ख्या भएकाहरू सभामुखको बायाँतर्फ बस्ने गर्दछन्, जसलाई प्रतिपक्ष वा वामपन्थी भनिने गरिन्छ ।
वामपन्थ सरकारको हरेक क्रियाकलापको आलोचक हुने गर्दछ । सरकारको चरित्र जहिले पनि देश र जनविरोधी हुने भएकाले जनताको असली प्रतिनिधिको रूपमा वामपन्थीलाई यो बहुलवादी संसद्वादी व्यवस्थाले स्वीकार गरेको सिद्धान्त हो । वामपन्थीहरू जहिले पनि देशभक्त हुन्छन्, राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ रहन्छन् र जनजीविकाको सवालमा जस्तासुकै सङ्घर्ष र बलिदानी दिन तत्पर रहेका हुन्छन् । नेपालका वामपन्थीहरुमा यस्तो चरित्र देखिँदैन ।
हाम्रोमा के हुन्छ ?
संसद्वाद भनेको पूँजीवाद नै हो । प्रारम्भमा संसद्वादी पूँजीवादको प्रगतिशील चरित्र रहेको थियो, जसले गर्दा प्रतिपक्षीहरू थप प्रगतिशील र क्रान्तिकारी हुने गर्दथे । समयक्रममा यसको प्रगतिशील चरित्र पतन भई प्रतिक्रियावादी चरित्र धारण हुन पुग्यो । यही विषयलाई लिएर पुष्पलालले ‘संसद्वाद भनेको पूँजीवाद हो’ भनेर निष्कर्ष निकालेका छन् भने लेनिनले रूसको संविधानसभामा भनेका थिए– ‘संसद् भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो ।
’ यस भनेर उनले संसदीय व्यवस्थाको अन्त्यका लागि संसद्को उपयोग गरेका थिए । संसद्वादमा पतन भएका नेपालमा यही भइरहेको छ । बोकाको मासु हैन, कुकुरकै मासु हो भन्ने कोही छैन । बरू त्यो कुकुरको मासु बेच्ने बन्नका लागि उचित÷अनुचित सबै कर्म गर्न तयार हुन्छन् ।
यसरी नेपालमा साम्यवादी र प्रगतिशील चरित्र बोकेका वामपन्थीहरू यो आन्दोलनलाई नै दुर्गन्धित बनाएर आफैं दुर्गतिमा पतन भएका छन् ।
(लेखक, नेपाल कम्युनिस्ट पार्टीका सङ्गठन विभाग प्रमुख हुनुहुन्छ ।)











प्रतिक्रिया