राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा महालेखापरीक्षक तोयम राया ले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन्।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सार्वजनिक निकायहरूमा जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर हुँदै गएको देखिएको बताए।

उनले भने, “बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।” अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा हुने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका विषयहरूले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई अझ बढी जिम्मेवार बनाउने विश्वास व्यक्त गरे। साथै, सरकारी खर्चको बेरुजु घटाउँदै आर्थिक अनुशासन कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उनले आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन सुदृढ गर्नेतर्फ महालेखापरीक्षकको कार्यालय अझ सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।