चितवन।
चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण क्रमशः बढ्दै गएको देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ वैशाख ३१ गतेसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित फेला परेका छन् । संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्य क्षेत्र पनि सतर्क बनेको छ ।
कार्यालयका अनुसार डेंगु संक्रमण सबैभन्दा बढी रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा मात्रै ८३ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै भरतपुर महानगरपालिकामा ५५ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा १७ जना तथा कालिका नगरपालिकामा १० जना संक्रमित भेटिएका छन् । जिल्लाका अन्य स्थानीय तहमा पनि छिटफुट रूपमा संक्रमण देखिन थालेको जनाइएको छ ।
स्क्रब टाइफस संक्रमणको अवस्था पनि चिन्ताजनक बन्दै गएको छ । यो रोगको संक्रमण पनि रत्ननगरमै सबैभन्दा धेरै देखिएको छ । त्यहाँ २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । खैरहनी नगरपालिकामा ९९ जना, भरतपुर महानगरपालिकामा ७८ जना, राप्ती नगरपालिकामा ७२ जना तथा कालिका नगरपालिकामा ६४ जना संक्रमित फेला परेको तथ्यांकले देखाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा डेंगुको नयाँ संक्रमित थपिएका छैनन् । तर स्क्रब टाइफसका दुई नयाँ बिरामी पुष्टि भएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार वर्षायाम सुरु हुनुअघि नै संक्रमण बढ्न थालेकाले आगामी दिनमा जोखिम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
हालसम्म जिल्लामा डेंगु परीक्षण गर्नेको संख्या १० हजार २ सय ६ पुगेको छ भने स्क्रब टाइफस परीक्षण गर्नेको संख्या १० हजार ९ सय १० पुगेको कार्यालयले जनाएको छ । परीक्षणको दायरा बढाइएकाले संक्रमण पहिचानमा सहज भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
संक्रमण बढे पनि हालसम्म दुवै रोगका कारण कुनै पनि मृत्यु नभएको जनस्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । समयमै परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रमका कारण जटिल अवस्था आउन नपाएको कार्यालयको दाबी छ ।
स्वास्थ्यकर्मीहरूले डेंगुबाट बच्न घर वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट जोगिन झुल तथा लामो कपडा प्रयोग गर्न आग्रह गरेका छन् । यस्तै स्क्रब टाइफसबाट बच्न झाडी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन र शरीरमा असामान्य ज्वरो, टाउको दुख्ने, कमजोरी वा अन्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन सुझाव दिएका छन् ।
चितवनमा पछिल्ला वर्षहरूमा डेंगु र स्क्रब टाइफस दुवै रोग मौसमी रूपमा देखिने गरेकाले स्थानीय तह, स्वास्थ्य संस्था र सर्वसाधारणबीच समन्वय गरी रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता देखिएको छ ।











प्रतिक्रिया