काठमाडौं ।
उपत्यकाका तीनै जिल्ला भएर बग्ने नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै बस्तीको भग्नावशेष व्यवस्थापनको समस्या सुरु भएको छ । वागमती, विष्णुमती, धोबीखोला, रुद्रमतीलगायतका खोला किनाराका एक दर्जनभन्दा बढी सकुम्बासी बस्ती भत्काएपछि त्यहाँ सयौं टन भग्नावशेष थुप्रिएको छ ।
सहरी विकास मन्त्रालय, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र काठमाडांै महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने ती सुकुम्बासी बस्तीको भग्नावशेष व्यवस्थापनमा समस्या आएको छ ।
सहरी विकास मन्त्रालयले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र कामपालाई भग्नावशेष व्यवस्थापन गर्न आग्रह गरेको छ । तर, दुई निकायले हालसम्म ठोस निर्णय गर्न सकेको छैन ।
तथापि, समितिले जुन खोला किनारामा बस्ती भत्काइएको छ, त्यहाँको भग्नावशेष त्यही व्यवस्थापन गरी पार्क निर्माण गर्ने तयारी गरको जानकारी दिँदै समितिका प्रवक्ता एवं आयोजना उपनिर्देशक उद्धव नेपालले भन्नुभयो– ‘सकेसम्म जहाँको भग्नावशेष हो, त्यही व्यवस्थापन गर्नेछौं । नभए काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्नेछ ।
’ भग्नावशेष कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘हामीले सबै क्षेत्रको फिल्डमा पुगेर प्राविधिक अध्ययन गरिरहेका छांै, केही दिनपछि के गर्ने ? सो क्षेत्रलाई कस्तो बताउने भन्ने विषयमा निर्णय गर्नेछौं ।’
काठमाडौं महानगरपालिकाले सहरी विकास मन्त्रालयको निर्देशनअनुसार व्यवस्थापन गर्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले यो विषयमा मन्त्रालय, समिति र कामपाबीच सहकार्य भइरहेको जानकारी दिनुभयो । कामपाले थापाथली क्षेत्रको भग्नावशेष हटाउन थालेको छ ।
सो क्षेत्रका भग्नावशेषलाई दक्षिणकाली नगरपालिका–७ स्थित महर्षीडोलमा व्यवस्थापन गरिरहेको छ । विभागीय प्रमुख राईले सो क्षेत्रमा खोला किनारामा केही मात्रामा भग्नावशेष अझै रहेको र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको बताउनुभयो । भग्नावशेष व्यवस्थापन गर्न लाखौं रुपियाँ ढुवानीमा खर्च हुने अनुमान कामपाको छ ।
कामपा प्रहरी प्रमुख विष्णुराज जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘खाली भएका सुकुम्बासी बस्तीमध्ये मनोहरा खोलालाई पहिला सुकुम्बासी बसेका बस्तीमा फर्काउने, गैरीगाउँमा करिडोर बिस्तार गर्ने र थापाथलीमा यूएनपार्क निर्माण हुने भएको छ ।’ मन्त्रालयसहित तीनवटै निकायले सबै सुकुम्बासी वस्तीलाई सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।
नदी किनाराको बस्ती हटाउन ७ दिन डोजर चल्दा १६ हजार विस्थापित भएका छन् । वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीबाट ८१० जना विस्थापित भएका थिए । त्यहाँ १४३ कच्ची संरचना थिए, जसमा १३६ परिवार बस्थे । गैरीगाउँ क्षेत्रबाट २८५ पक्की, ५९३ कच्ची गरी ८७८ वटा संरचना भत्काएको बताएको छ ।
१३ गते मनोहरा क्षेत्रमा डोजर चलाएको थियो । उक्त दिन १३१ घर भत्काइएको थियो । १७ गते कालोपुल क्षेत्रबाट ३ परिवार बस्ने ३ संरचना हटाइएको थियो । १८ गते वंशीघाट क्षेत्रबाट २११८, बल्खुबाट ४८१०, शंखमूलबाट ५८०, कालिमाटीबाट ११३५ जना विस्थापित भएका थिए ।
सरकारले सात दिनमा २ हजार ६८७ संरचना भत्काएको थियो ।
सबै परिवारलाई आधा दर्जन होल्डिङ सेन्टरमा राखिएको छ । सरकारले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने तयारी गरेको छ । सरकारी भनाइअनुसार सुकुम्बासीलाई विस्थापित गर्न नभई व्यवस्थापन गर्न बस्ती खाली गराएको हो ।











प्रतिक्रिया