झोलुङ्गेपुल निर्माणपछि वर्षायाममा आवागमनमा सहज

564
Shares

उदयपुर ।

वर्षौदेखि आवागमनमा समस्या भोग्दै आएका स्थानीयहरुलाई त्रियुगा नदीमा झोलुङ्गेपुल निर्माण भएपछि अब वर्षाका समयमा त्रियुगा नदीमा ज्यान माया मारेर हेल्नु पर्ने बाध्यता हटेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित शिवनगर र ईक्राहा जोड्ने त्रियुगा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले बाढीमा हेलिनु पर्ने समस्या समाधान भएसँगै राहत पाएका छन् ।

मंगलबार सो पुलको एक समारोहका विचमा उद्घाटन गरेपछि पुल संचालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै वर्षौंदेखि त्रियुगा नदीमा वर्षामा आउने बाढीका कारण नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयले सहजता महसुस गरेका छन ।

पुल निर्माण भएपछि इक्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी लगायत क्षेत्रका करिब ७सय ५० सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी बिरामी, सुत्केरी, विद्यार्थी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई अब सहज भएको छ ।

त्रियुगा नगरपालिकासँग सिमा जोडिएको चोदण्डीगढी नगरपालिकाको ९ र १० नं वडाको हडिया क्षेत्रका जनतालाई मात्र होइन त्रियुगा नगरपालिकाको १ र २ र ३ नं वडाका जनतालाई पनि वर्षाका समयमा आवत जावत गर्न त्रियुगा नदीमा आएको बाढीले ठूलो समस्यामा पारेको थियो ।

वर्षायाममा त्रियुगा नदीको बहाव बढ्दा शिवनगर क्षेत्र टापुजस्तै बन्ने गरेको थियो । मदन भण्डारी लोकमार्गबाटपारी सम्मको करिब ९ सय मिटर दुरीमा रहेको शिवनगर हडिया गाउँका जनताले पुलको अभावमा समस्या झेल्दै आएका थिए । तर अब भने नयाँ झोलुङ्गे पुलको निर्माण पश्चात भने उक्त समस्या समाधान भएको छ ।

पुल निर्माण भइपछि स्थानीय जनताको उत्पादन बोकेरै भए पनि बजारसम्म लैजान सहज भएको छ भने विद्यार्थीलाई विद्यालय जान, वर्षाका समयमा पर्ने आपत विपतको अवस्थामा आवागमन गर्न, सामाजिक, शेषिक आर्थिक गतिविधि संचालन गर्न वा अन्य कसनै पनि समयकालागि आवागमनका अत्यन्त सहज भएको सो क्षेत्रका स्थानीयले बताएका छन् ।

अर्को तर्फ वर्षाका समयमा वा अन्य समयमा जुन समय लाग्दथ्यो त्यो समयको बचत भएको स्थानीयको भनाई रहेको छ ।

निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको उक्त पुल ५ सय ५७ मिटर लामो रहेका छ । २०८२ असार ३० गते शिलान्यास भएको उक्तपुल निर्माण भएपछि चौदण्डीगढी नगरपालिकाको वडा नं ९ र १० जनताका साथै त्रियुगा नगरपालिका लगायतका अन्य स्थानीय तहका जनताकालागि पनि वर्षाका समयमा र अन्य समयमा पनि आवागमनमा निकै सहज भएको चौदण्डीगढी नपा १० नं वडाका वडाध्यक्ष धर्मेन्द्र खडेकाले बताए ।