काठमाडौं ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ को अवसरमा नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (ईन्जा)ले विश्वभर प्रेस स्वतन्त्रताको अवस्था झन् चुनौतीपूर्ण बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। ईन्जाले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारहरू दवाब, हिंसा तथा कानुनी अवरोधको सामना गर्न बाध्य भइरहेको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
नेपालको सन्दर्भमा संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरे पनि व्यवहारिक रूपमा अझै राजनीतिक दबाब, सूचनामा पहुँचको अभाव तथा आत्म–नियन्त्रण (self-censorship) जस्ता समस्या विद्यमान रहेको विज्ञप्तिमा उल्लेख छ। ईन्जाका अनुसार लोकतन्त्रलाई सुदृढ र उत्तरदायी बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य छ।
ईन्जाले पत्रकारको सुरक्षा सुनिश्चित गर्न, प्रेसमाथि हुने आक्रमण अन्त्य गर्न, सूचनामा सहज पहुँचको व्यवस्था गर्न तथा डिजिटल मिडियाको स्वतन्त्रता जोगाउन सम्बन्धित निकाय र सरकारसँग विशेष आग्रह गरेको छ।
अमेरिकास्थित ईन्जा केन्द्रले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध व्यक्तिहरूलाई शुभकामना समेत व्यक्त गरेको छ।











प्रतिक्रिया