बुटवल ।
मोतिपुर औद्योगिक क्षेत्र आसपासका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध सडकमा उत्रिएका छन्। औद्योगिक क्षेत्रको जग्गा खाली गराउन निर्देशन आएपछि स्थानीयमा आक्रोश चुलिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्वासी हुनु रहर होइन, बाध्यता हो’, ‘सामाजिक सञ्जाल स्टाटस बन्द गर, सुकुम्वासी समस्या समाधान गर’ जस्ता नारा लगाएका थिए। उनीहरूले पुनर्वासको ठोस व्यवस्था नगरी बस्ती हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन्।
स्थानीयका अनुसार अचानक जग्गा खाली गराउन निर्देशन आउँदा आफूहरू असुरक्षित महसुस गरिरहेका छन्। “हामीलाई बस्नको विकल्प नदिई हटाउने काम उचित होइन,” एक प्रदर्शनकारीले भने, “पहिले पुनर्वासको ग्यारेन्टी हुनुपर्छ।”
प्रदर्शनमा महिला, वृद्ध र युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। उनीहरूले दीर्घकालीन नीति निर्माणमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
सरकारी पक्षले भने औद्योगिक क्षेत्र विस्तारका लागि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ। स्थानीय र सरकारबीच सहमति नबन्दा स्थिति थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।











प्रतिक्रिया