काठमाडौं ।
नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा शनिबार सम्पन्न ३६ किमी दूरीको चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा पहिलो भएका छन् । नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा भएको ट्रेल रनमा राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गरे ।
ताप्लेजुङका रमेश लिम्बुले २ घण्टा ७ मिनेट ३० सेकेन्ड तथा आर्मीका गोपाल तामाङले २ घण्टा ७ मिनेट ४२ सेकेन्डमा दूरी तय गरे । चौथोदेखि दशौं स्थानमा क्रमशः आर्मीका गजेन्द्र राई, प्रवल क्षेत्री, राजेन्द्र तामाङ, तिलकबहादुर सुनार, विरेन्द्र पाण्डे, विशाल र रिखुलाल सिन्जाली रहे ।
महिलातर्फ सुनमायाले निर्धारित दूरी पूरा गर्न २ घण्टा २७ मिनेट १४ सेकेन्डा समय खर्चिन् । आर्मीकी सुनसरी रोकाया दोश्रो र खोटाङकी निर्मला राई तेस्रो भए । दौड सकाउन सुनसरीले २ घण्टा ४४ मिनेट ५३ सेकेन्ड तथा निर्मलाले २ घण्टा ४६ मिनेट २९ सेकेन्ड समय लगाए । फ्रान्सकी एलिस विसकेफ, आङ फुर्वा शेर्पा, काब्या रावल, सपना गुरुङ, शासा श्रेष्ठ, मुना लिम्बु र शारदा राईले क्रमशः चौथोदेखि दसौं स्थानमा दौड टुंग्याए ।
दुवै विधाका शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार जिते । छैटौंदेखि दसौं स्थान हात पार्नेलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
जुनियर यु–२० को ७ किलोमिटर दूरीको पुरुषमा उत्तम तामाङ २१ मिनेट ९ सेकेन्ड समय निकाल्दै पहिलो भए । सुसन लामिछाने २१ मसनेट १५ सेकेन्डमा दोश्रो तथा खकेन्द्र शर्मा २१ मिनेट १९ सेकेन्डमा तेश्रो बने । सोही स्पर्धाको महिलामा शर्मिला गोले पहिलो भइन् ।
शर्मिलाले २७ मिनेट १९ सेकेन्डमा दूरी पार गरिन् । गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए । गीताले २७ मिनेट ४८ सेकेन्ड र मनिषाले २८ मिनेट २८ सेकेन्ड समय निकाले । दुवै समूहमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पारे । दसौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो । दोश्रो भएकी गीताको नतिजा भने प्राविधिक कारणले हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया