काठमाडौं ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिविवि) क्रिकेट रंगशाला खाली नगराउने बताउनुभएको छ । यसले नेपाल क्रिकेट संघ, क्रिकेट खेलाडीहरू र समर्थकहरूलाई राहत दिएको छ । ‘क्रिकेट रंगशाला खाली गराउने होइन, भाडा सम्झौता रिन्यु गर्ने दिशामा छलफल अगाडि बढेको छ, राज्यको यत्रो लगानी भएको छ, राज्यकै संरचना हो’ –उहाँले भन्नुभयो ।
उहाँले त्रिविवि क्रिकेट रंगशालाको पुनः सम्झौता गर्नुपर्ने बताउनुभएको छ । यो रंगशाला क्रिकेट संघले लिजमा लिएर सञ्चालन गरिरहेको हो । भर्खर मात्र फ्लडलाइटसहितको व्यवस्थित र आकर्षक रंगशाला निर्माण भएको छ ।
यही बेला नै त्रिविविले ३५ दिनभित्र त्रिविविको जग्गा ओगटेर बसेका संघसंस्थाहरूलाई खाली गर्न गत वैशाख ४ गते निर्देशन दिएको थियो । त्रिविविको अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन जग्गा खोजबिन समिति नै गठन गरेर त्यसकै रिपोर्टको आधारमा फिर्ता गर्न आह्वान गर्दैै सूचना जारी गरिएको थियो ।
यसले क्रिकेट संघदेखि क्रिकेट समर्थकहरूलाई निरास तुल्याएको थियो । त्रिविविभित्र बनेको रंगशालाले ओगटेको क्षेत्र ७६ रोपनी रहेको छ । क्रिकेट संघबाट पनि क्रिकेट रंगशालाको सम्झौता चाँडै नै नवीकरण हुने पनि बताइरहेको छ । त्रिविवि र संघबीचको २५ वर्षको सम्झौता अवधि यही वैशाख मसान्तमा सकिँदै छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले त्रिविवि परिसरभित्र बनेका अन्य संघसंस्थाको संरचना र रंगशालाको प्रयोगको प्रकृति भिन्न रहेको बताइरहनुभएको छ ।
क्रिकेट रंगशालामा प्रतियोगिता हुँदा त्रिभुवन विश्वविद्यालयको पठनपाठनमा असर गरेको भन्ने कुरा पनि उठिरहेको छ । यसैले पनि विश्वविद्यालयले सम्झौता नवीकरण गर्न आनाकानी गरिरहेको विषयको पनि चर्चा भइरहेको छ । विश्वविद्यालयले एक कुरा प्रस्ट पारिसकेको छ कि कीर्तिपुर क्रिकेट रंगशाला भत्काउने छैन । योचाहिँ क्रिकेट प्रेमीहरूका लागि सकारात्मक विषय भएको छ ।
१ अर्ब खर्च
विगतमा नेपाल सरकारले झन्डै १ अर्ब रुपियाँ खर्च गरेर कीर्तिपुर रंगशालाको स्तरोन्नति गरेको थियो । जसमा १० हजार क्षमताको सिट राखिएको छ र फ्लडलाइट जडान गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार सिटको प्यारापिटको लागत ४३ करोड ७७ लाख रुपियाँ खर्च गरिएको थियो ।
यस्तै, ६ वटा फ्लडलाइटका पोलहरू जडान गर्न ४२ करोड १९ लाख रुपियाँ खर्च भएको पनि सार्वजनिक गरिएको थियो । यतिमात्रै होइन कीर्तिपुर रंगशालामा भीआईपी रुम, चेन्जिङ रुम र मिडिया बक्सको समेत निर्माण गरिएको छ ।
पहिलोपटक फ्लड लाइटमा गत मंसिरमा नेपाल प्रिमियर लिग–२ को सफल आयोजना पनि भइसक्यो । यस नवनिर्मित रंगशालामा हजारौं दर्शकले रमाइलो पनि गरेका थिए ।











प्रतिक्रिया