मच्छिन्द्र बन्यो इलाम गोल्डकपमा च्याम्पियन

एनआरटी ह्याट्रिकबाट चुक्यो

1.03k
Shares

इलाम।

इलाममा सम्पन्न तेस्रो संस्करणको एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ ।
लगातार दुई संस्करणको च्याम्पियन न्युरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो । मच्छिन्द्र इलाम गोल्डकपमा नयाँ च्याम्पियन पनि बन्यो । यससँगै एनआरटीको लगातार तेस्रो उपाधि जित्दै ह्याट्रिक गर्ने सपना अधुरै रह्यो ।

इलामको ठूलो टुँडिखेलमा शनिबार भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको ५ औँ मिनेटमा अविनाश याङतानले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफकै २४ औँ मिनेटमा मिलन चाम्लिङ राईले अर्को गोल थप्दै मच्छिन्द्रको जित सुनिश्चित गरे ।
दुई गोलले पछि परेको एनआरटीले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । निर्धारित समयसम्म थप गोल हुन नसकेपछि मच्छिन्द्र २–० ले विजयी बन्न सफल भयो । उपाधिसँगै मच्छिन्द्रले १० लाख नगद पुरस्कार प्राप्त ग¥यो भने उपविजेता एनआरटीले ५ लाख रुपैयाँ पायो ।

फाइनल खेलमा हावाहुरीसँगै परेको वर्षाले केही असर पारेपनि दर्शकको उत्साह भने कम भएन । छाता ओढेर र भिजेरै भए पनि दर्शकहरूले खेलको भरपुर आनन्द लिएका थिए । यसैबीच, आगामी वर्षदेखि आयोजना हुने इलाम गोल्डकपलाई इलाम नगरपालिकाले औपचारिक रूपमा आर्थिक सहयोग गर्ने भएको छ । फाइनल खेलकै अवसरमा रेडहर्ष फुटबल क्लब र इलाम नगरपालिका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आगामी वर्षहरूमा इलाम गोल्डकपका लागि इलाम नगरपालिकाले हरेक वर्ष ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नेछ । सम्झौता पत्रमा इलाम नगरपालिकाका मेयर केदार थापा र रेडहर्ष फुटबल क्लबका अध्यक्ष सजितसिंह खत्रीले हस्ताक्षर गरेका हुन् ।

उत्कृष्टलाई विशेष पुरस्कार

फाइनलका उत्कृष्ट–मच्छिन्द्रका प्रदीप बुढाथोकी–रु ८,१००

प्रतियोगिताका सर्वोत्कृष्ट–मच्छिन्द्रका सनिस श्रेष्ठ–रु ५१,०००

उदीयमान–रेडहर्षका विवेक सुनाम–रु.२५,०००

विधागत उत्कृष्ट खेलाडी र पुरस्कार (जनही १५ हजार रुपियाँ)

गोलरक्षक–मच्छिन्द्रका प्रदीप भण्डारी

डिफेन्डर–एनआरटीका आशिष गुरुङ

मिडफिल्डर–मच्छिन्द्रका युवराज ढकाल

सर्वाधिक गोलकर्ता–मच्छिन्द्रका मिलन चाम्लिङ

प्रशिक्षक– मच्छिन्द्रका प्रवेश कटुवाल