बेलका पर्यटन महोत्सवबाट उत्साह

470
Shares

उदयपुर । नयाँ वर्षको अवसरमा सप्तकोशी किनारमा रहेको रमणीय स्थल अवलोकनार्थ एवं विभिन्न साहसिक खेललगायतका कार्यक्रमहरुसहित आयोजित ६ दिने ‘प्रथम बेलका पर्यटन महोत्सव’ सम्पन्न भएको छ । ‘बेलकाको जल, जमिन र आकाशमा रमाऔँ, ऐतिहासिक, प्राकृतिक र साहसिक पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ वैशाख १ गतेदेखि सो महोत्सव सञ्चालन गरिएको थियो ।

धार्मिक तथा पर्यटकीय स्थल वराहधामको सप्तकोशी किनारदेखि बेलका–८ सोमबारेस्थित बेलका रिसोर्टसम्म विभिन्न साहसिक गतिविधिसहितको महोत्सव गरी समापन गरिएको आयोजकले जनाएका छन् । समापनका क्रममा ¥याफ्टिङ, बोटिङ, प्याराग्लाइडिङ तथा साइक्लिङजस्ता आकर्षक कार्यक्रमहरू आयोजना गरिएका थिए, जसले सहभागीहरूलाई विशेष रोमाञ्चकता प्रदान गरेको थियो । बेलकालाई पूर्वी नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सवले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनको नयाँ सम्भावना उजागर गरेको छ । यसले स्थानीय स्तरमा उत्साह जगाएको छ ।

आयोजकका अनुसार यस प्रकारका गतिविधिले बेलका नगरपालिकाको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । त्रियुगा नगरपालिकाका पूर्वमेयर तथा उदयपुर विकास समितिका अध्यक्ष बलदेव चौधरीले महोत्सवको उद्देश्यबारे प्रस्ट पार्दै बेलकालाई ‘पूर्वी पर्यटनको हब’ बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार यहाँ ¥याफ्टिङ, बोटिङ, प्याराग्लाइडिङ, जंगल सफारी, बर्ड वाचिङ, ट्रेकिङ तथा हाइकिङजस्ता विविध पर्यटकीय गतिविधिहरू विकास गरिनेछन् । साथै स्थानीय परिकारको ब्रान्डिङमार्फत पर्यटक आकर्षित गर्ने योजना पनि अघि सारिएको छ ।

उनले बेलकालाई नेपालको अग्रणी प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै स्थानीय रोजगारी सिर्जना, आर्थिक समृद्धि तथा संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बेलका नगर पर्यटन विकास समिति, उदयपुर पर्यटन विकास बोर्ड तथा बेलका होटल तथा पर्यटन समितिको संयुक्त आयोजनामा सम्पन्न महोत्सवले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको होटल व्यवसायी रमण भट्टराईले जानकारी दिए ।

उदयपुर र सुनसरी जिल्लाको सीमामा रहेको कोशी पुल त्यसै पनि पर्यटक लोभ्याउने ठाउँ रहेको र दिनहुँ सयौँ मानिस यहाँ घुम्न आउने गरेको पाइन्छ । यहाँबाट करिब ५ किलोमिटर उत्तरमा नेपालको पहिलो तीर्थस्थल बराहक्षेत्र धाम रहेकाले कोशी पुल हेर्न र वरपरका क्षेत्रको रमणीय स्थल घुम्न आउने जो–कोही पनि यस ठाउँमा आएर रमाइलो गर्ने, ¥याफ्टिङ–बोटिङ गर्ने, पानीजहाज चढेर मनोरञ्जन लिने गरेको देख्न पाइन्छ ।

यस क्षेत्रमा खासगरी उदयपुर, सुनसरी, मोरङ, भोजपुर, धनकुटा, सिराहा, सप्तरी तथा भारतको विसार क्षेत्रका पर्यटकहरु धेरै आउने गरेको पाइन्छ । यहाँ खास गरी जल क्रीडा गर्न, कोशी टप्पुमा अर्ना, बँदेल, चराचुरुङ्गी, डल्फिन, गोही हेर्न, जंगल सफारी गर्न, हात्ती चढ्नका लागि पनि भारतीय पर्यटकहरु आउने गरेको बेलका विच रिसोर्टका सञ्चालक तथा कोशी प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका सदस्यसमेत रहेका रमण भट्टराईले बताए ।

उदयपुरको विकासका लागि पर्यटन प्रवद्र्धन गर्न सके प्रशस्त सम्भावना रहेको जानकारी दिँदै उदयपुर विकास समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीले पर्यटकहरुका लागि बस्ने, खाने र घुमफिर गरी रमाइलो गर्ने ठाउँको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।