काठमाडौं।
अखिल नेपाल फुटबल संघ (एन्फा) का २४ पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
अध्यागमन विभागले उनीहरूलाई कालो सूचीमा राख्दै विदेश जान प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयको निर्देशनपछि एन्फाका पदाधिकारीहरूका साथै प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरलाई पनि विदेश जान रोक लगाइएको स्रोतले जनायो ।
स्रोतको अनुसार सो निर्णय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा गरिएको हो । विदेश जान नपाइने सूचीमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाहसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु रहेका छन् ।
राष्ट्रिय खेलकुद ऐनको अवमूल्यन गरेर एन्फा गत चैत १३ गते अर्ली इलेक्सन गर्ने तयारीमा थियो । राखेपले नियमविपरित जान नपाउने भन्दै निर्वाचन गर्ने भए नियमअनुसार गर्नु भन्ने चेतावनी दिएको थियो । तर, एन्फा नमानेपछि अर्ली इलेक्सन हुन दुई दिनअघि चैत ११ गते राखेपले एन्फालाई ३ महिनाको लागि निलम्बन गर्ने लिएको थियो । राखेपको यो कदमपछि एन्फा अर्ली इलेक्सनबाट पछि हटेको थियो ।











प्रतिक्रिया