नेपाल अमेरिकासँग फेरि पराजित


काठमाडौं।

नेपाल रुवान्डामा जारी आईसीसी महिला च्याम्पियन्स ट्रफीमा अमेरिकासँग फेरि पराजित भएको छ । प्रतियोगितामा पहिलो खेलमै अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल आइतबार भने ७ विकेटले पराजित भयो । यो नेपालको ५ खेलमा तेस्रो हार हो भने अमेरिकाले ५ खेलमा चौथों जित हासिल गरेको छ । अमेरिका ८ अंकसहित शीर्ष स्थानमा छ ।

नेपालले ८७ रनको सामान्य विजयी लक्ष्य दिएकोमा अमेरिकाले ३ विकेट गुमाएर ११.५ ओभरमै जित हासिल गरेको थियो । अमेरिकाका लागि इसानी भागेलाले सर्वाधिक ३५ रन बनाएकी थिइन् । नेपालको बलिङमा मनिषा उपाध्याय, कप्तान इन्दु बर्मा र पूजा महतोले १–१ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्रै बनाएको थियो । जसमा, रुबी पोद्दार एक्लैले सर्वाधिक ५० रनको योगदान दिइन् । नटआउट रहेकी उनले ५१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहारसमेत गरेकी थिइन्

रुबीको यो पहिलो अर्धशतकसमेत हो । साथै उनी दोहोरो अंकमा रन बनाउने नेपालकी एक मात्र ब्याटरसमेत बनिन् । उनलाई कोही ब्याटरले पनि राम्रो साथ दिन नसक्दा नेपालले बलियो लक्ष्य निर्धारण गर्न सकेन ।

रुबीबाहेक अमेरिकाका बलरसामु अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो समान ८ रनमा पभेलियन फर्केका थिए । यसैगरी, कविता कुँवर पनि ८ रन बनाएर आउट भइन् । ओपनर विन्दु रावलले ३ रन बनाइन् भने अर्की ओपनर सम्झना खड्का पहिलो बलमै आउट भएकी थिइन् । यस्तै, कविता जोशी १ रनमा आउट भइन् भने रोमा थापा ४ रनमा नटआउट रहिन् ।

कप्तान इन्दु फेरि असफल

नेपालकी कप्तान इन्दु बर्मा फेरि असफल भइन् । यस प्रतियोगितामा आफ्नो टोलीका लागि उनले कुनै ठोस योगदान दिन सकेकी छैनन् । उनले ५ खेल खेल्दा जम्मा ३३ रन बनाएकी छन् । उनले अमेरिकाविरुद्ध १ र ८ रन, इटालीविरुद्ध १० रन, रुवान्डाविरुद्ध १ रन तथा भानुआतीविरुद्ध १३ रन बनाएकी थिइन् । नेपालको अझै तीन खेल बाँकी हुँदा उनको लागि आफुलाई साबित गर्न मौका रहेको छ ।