बुटवल ।
बुटवलमा गर्भपतनको क्रममा पाल्पाकी २९ वर्षीय गर्भवती गीता पाण्डेको मृत्युको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई २६ पृष्ठको प्रारम्भिक प्रतिवेदन बुझाएको छ । तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने छानबिन समितिका संयोजक डा. सम्राट पराजुली बताउनु भयो ।
डा. पराजुली नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन अनुसार गीताको गर्भपतनको उपचार भएका बुटवलका जोनल फार्मेसी र इन्दु लेखा स्वास्थ्य क्लिनिकलाई ततकालका लागि सिल गरिएको र डा. सतिष रुपाखेतीलाई बिरामी चेकजाँच गर्न नपाउने गरी निलम्बन गरिएको काउन्सिलका रजिस्टार डा सतिसकुमार देवले बताउनु भयो ।
जोनल र इन्दुलेखा दुई मेडिकललाई कारवाही गरेको भएता पनि मृतकका पति प्रकाश पाण्डेले किटानी जोहरीमा परेका खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीका बारेमा भने प्रतिवेदनमा केही पनि उल्लेख गरिएको छैन । गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउंदा धाउंदै वैशाख ६ गते गीताको ज्यान गएको थियो ।
१३ हप्ता बढीको गर्भमा रहेको भ्रूण अस्वस्थ भएको भन्दै वैशाख ५ गते आफ्ना श्रीमान्सहित बुटवल इटाभट्टीको खत्री नर्सिङ्ग होम गएकी थिइन् । यस अघि उनलाई चैत २७ गते खत्री नर्सिङ होममा जाँचका लागि ल्याइएको थियो । त्यहां डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी वैशाख ४ गते बोलाएका थिए । गीता वैशाख ५ गते खत्री नर्सिङ होम गएकी थिइन् । तर खत्री नर्सिङ होमले गीतालाई आफ्नोमा उपचार नगरी लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठायो । जोनल फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर गीतालाई दुईथरि औषधी दिएर पठाएको थियो । जोनलबाट गीतालाइृ इन्दु लेखा क्लिनिकमा पु¥याईएकी गीताको गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले चेकजाँच गरेका थिए ।
पत्नीको मृत्युलाई उनका पति प्रकाशले स्वास्थ्य संस्थाहरुले उपचारको नाममा नाफा कमाउने उद्देश्य राखेर व्यापार गर्ने क्रममा हत्या गरेको आरोप लगाएका थिए । मृतकका पति प्रकाशले पत्नी गीताको मृत्युमा मुख्य दोषी आरोप लगाउँदै डाक्टर डिबी खत्री र डाक्टर सतीश रुपाखेतीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए । दुई डाक्टर बाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी-क्लिनिक सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक) लाई पनि कारबाहीको माग गर्दै उनले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।
जाहेरी दर्ता पछि प्रहरीले पांचैजनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको थियो । पक्राउ परेका मध्ये डा. खत्री र रुपाखेती थुनामुक्त भइसकेका छन् । मृतकका आफन्तहरुले खत्री नर्सिङ होम,जोनल फार्मेसी र इन्दु लेखा क्लिनिकमा तालाबन्दी गरेका थिए । मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् । मृतक गीताका पति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।











प्रतिक्रिया