वर्षापछि बाढीको जोखिम बढेपछि बीपी राजमार्गको केही खण्ड बन्द


काठमाडौं । 

दिउँसो परेको वर्षाका कारण बाढीको जोखिम बढेपछि बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटारसम्मको सडकखण्ड शनिबार दिउँसो ३:३० बजेदेखि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार रोशी खोलामा पानीको बहाव अत्यधिक बढेपछि सम्भावित दुर्घटना रोक्न आवागमन रोकिएको हो।

प्रहरीले सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र अर्को सूचना नआएसम्म उक्त खण्ड प्रयोग नगर्न आग्रह गरेको छ। वर्षाका कारण यसअघि बनाइएको अस्थायी डाइभर्सन बग्ने जोखिम रहेकाले सवारी साधनहरूलाई काभ्रेभञ्ज्याङ र नेपालथोकमा रोकिएको छ।

गत वर्षको बाढीपहिरोले यस क्षेत्रको सडकमा ठूलो क्षति पुर्‍याएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो भने हाल स्थायी सडक निर्माणको काम जारी रहेको जनाइएको छ।