चितवनको मेघौलीमा ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ सुरु, वन्यजन्तु पर्यटन प्रवद्र्धनमा नयाँ पहल

940
Shares

चितवन ।

नेपाल पर्यटन बोर्डले पहिलोपटक चितवनको मेघौलीमा ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को औपचारिक सुरुआत गरेको छ। स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले नेपालको वन्यजन्तु पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई हिमालको मात्र होइन, समृद्ध जैविक विविधता, जीवित सांस्कृतिक सम्पदा र विश्वस्तरीय वन्यजन्तु पर्यटनका कारण पनि चिनिने देशका रूपमा प्रस्तुत गरे। उनले यस्तो किसिमको मार्टले अन्तर्राष्ट्रिय बजारमा नेपालको छुट्टै पहिचान स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, कार्यक्रममा हुने छलफल र अन्तरक्रियाले नयाँ लगानी भित्र्याउने, सहकार्य विस्तार गर्ने र वन्यजन्तु पर्यटनका नयाँ सम्भावना खोज्ने अवसर सिर्जना गर्ने बताए।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गरे। उनले दिगो पूर्वाधार निर्माण र समुदायको सक्रिय सहभागिता बिना पर्यटन विकास सम्भव नभएको भन्दै स्थानीय सरकार त्यसतर्फ केन्द्रित रहेको बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘सफारी मार्ट’ लाई नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गरे।

उनले यो कार्यक्रम जिम्मेवार र दिगो पर्यटन प्रवद्र्धन गर्ने नयाँ अवधारणा भएको स्पष्ट पारे। त्यस्तै, बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यसलाई केवल व्यापारिक कार्यक्रम नभई सबै सरोकारवालालाई जोड्ने साझा प्लेटफर्मका रूपमा व्याख्या गरे। वरिष्ठ प्रबन्धक सूर्य थापलियाले पनि यो मार्ट रणनीतिक रूपमा महत्वपूर्ण भएको र दीर्घकालीन पर्यटन विकासमा योगदान पुर्‍याउने बताए।

अन्तर्राष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले विश्वभर जिम्मेवार पर्यटनको माग तीव्र रूपमा बढिरहेको उल्लेख गरे। उनका अनुसार अहिले पर्यटकहरू त्यस्ता गन्तव्य रोज्न थालेका छन् जहाँ प्रकृति संरक्षण र पर्यटनबीच सन्तुलन कायम हुन्छ र स्थानीय समुदायसँग गहिरो सम्बन्ध स्थापित हुन्छ। कार्यक्रममा डा. विश्वराज सुवेदीले चितवनको पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे प्रस्तुति दिएका थिए। त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षणका उपलब्धि तथा आगामी प्राथमिकताबारे जानकारी गराएका थिए। यो कार्यक्रमले चितवनलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।