काठमाडौं।
सरकारले भोलि शनिवार र आइतबारभित्र काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँ खोला–नदीकिनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने भएको छ । बस्ती खाली गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कामपा प्रहरी बल तैनाथ हुनेछन् । तीन तहको सुरक्षा घेरा रहनेछ ः पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि कामपा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।
बस्तीको सुरक्षालगायतका अवस्था विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान विभागका प्रहरी परिचालित हुनेछन् ।
नेपाल प्रहरीले बस्ती खाली गराएपछि मात्र कामपा प्रहरीको निर्देशनमा डोजर चल्नेछ । सो विषयमा छलफल हिजो बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहरी विकास विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रतिनिधि, प्रधानमन्त्रीको सचिवालयका सदस्यलगायत निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
बैठकले बस्ती हटाउन सबै निकायको जिम्मेवारी बाँडफाँट गरेको थियो । मन्त्री लम्सालले सुकुम्बासी बस्ती हटाउन तीनवटा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको थियो । लगत्तै कामपाले पनि दिनभर बैठक राखेको थियो । बस्ती खाली गर्न हिजो साँझ र आजका लागि माइकिङ गर्ने कार्यतालिका रहेको छ ।
माइकिङ गरेको २४ घण्टामा बस्ती खाली गर्ने योजना छ । बस्ती खाली गर्नुअघि सुरक्षा निकायले अपाङ्ग, अशक्त, सुत्केरी र बच्चालाई कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग व्यास नेपालको कार्यालयमा खाने र बस्ने व्यवस्था मिलाएको छ । अर्थात् सत्सङ्ग केन्द्रलाई होल्डिङ सेन्टर बनाइने भएको छ । राधास्वामी सत्सङ्ग भवनमा अपाङ्ग, अशक्त र जेष्ठ नागरिकलाई सामूहिक खानपान र बस्ने व्यवस्था गरिएको छ । सो सेन्टरमा करिब १५ दिनका लागि सबै व्यवस्था कामपाले गर्नेछ । कामपाले सो संस्थालाई पत्राचार गरिसकेको छ ।
पहिलो चरणमा थापाथली सुकुम्बासी बस्ती खाली गराइनेछ । त्यहाँ करिब एक हजार घरटहरा छन् । सुरुमा थापाथली, त्यसपछि गैह्रीगाउँ र मनोहरा खाली गराइनेछ । प्रधानमन्त्री शाहको निर्देशनपछि कामपालगायत सरोकारवाला सबै मन्त्रालय बस्ती हटाउन तयार भएको हो । कामपाले बस्ती खाली गर्ने क्रममा पर्न सक्ने सबै व्यवस्था गरेको छ । सो क्षेत्रमा ३–३ वटा दमकल र एम्बुलेन्स तयार हुनेछन् । सो क्षेत्रमा उच्च सुरक्षा व्यवस्था हुनेछ । नेपाल प्रहरीको पानीको फोहोरासहितको सवारी परिचालन गरिनेछ ।
यसअघि कामपाले २०७९ मंसिरमा सुकुम्बासी बस्ती खाली गर्ने अन्तिम प्रयास गरेको थियो । सो क्रममा सुकुम्बासी र कामपा प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा तत्कालीन कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेसहित ३६ प्रहरी घाइते भएका थिए । दुई वर्षअघिको जस्तो घटना हुन नदिन सुरक्षा निकाय पूर्ण सुरक्षित अवस्थामा तयारी थालेको छ । बस्ती खाली भएपछि सरसफाइ गर्न कामपा प्रहरी बलका डीएसपीसहितको ३ वटा टिम परिचालन हुनेछ ।
शनिवार बिहान ७ बजेबाट डोजर चल्ने भएको छ । डोजर ल्याउने जिम्मा कामपा सडक विभागको रहेको छ । खोला किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन सरकारका सबै सरोकारवाला निकाय परिचालन भएका छन् । सुरक्षा निकायलाई निर्देशन दिएलगत्तै बिहीबार दिनभर सुरक्षा निकायको बैठक बस्यो ।
काठमाडौंको सीडीओ ईश्वरराज पौडेलको अध्यक्षतामा हिजो बिहान बैठक बसेर योजना बनाइयो । लगत्तै दिउँसो काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इं, सुकुम्बासी बस्ती भएका क्षेत्रका वडाअध्यक्ष र महानगर प्रहरी बलको बैठक बसेको थियो ।
बैठकले योजना पारित गरेको थियो । बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सरकारको निर्णय पालना गर्न सबैलाई निर्देशन दिनुभएको थियो । यसअघि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका आईजीपी कार्की, सशस्त्र प्रहरी बलका आईजीपी अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख कार्कीलाई प्रधानमन्त्री कार्यालय बोलाएर शनिवार र आइतबार बस्ती खाली गर्न निर्देशन दिनुभएको थियो ।
बंैठकमा १०, ६, ११ देखि १६, २६, ३१ र ३२ वडाअध्यक्षको उपस्थिति रहेको थियो । बैठकले तीनै सुरक्षा निकायसँगै कामपा प्रहरीले सहकार्य गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले २ दिनभित्र बस्ती खाली गर्न भन्नुभएको छ । ‘हामीले निरन्तर काम जारी राख्नेछौं,’ कामपा प्रहरी बल प्रमुख विष्णुराज जोशीले जानकारी दिनुभयो । गृहमन्त्रीबाट सुधन गुरुङको राजीनामापछि मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रधानमन्त्री शाहले सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिनुभएको थियो ।
तथ्यांकअनुसार काठमाडौं उपत्यकाका दर्जन बढी स्थानका खोला किनारामा सुकुम्बासी बस्ती छन् । तीमध्ये पहिलो चरणमा तीन स्थानको बस्ती खाली गर्न लागिएको हो । सरकारले उपत्यकामा शून्य सुकुम्बासी बनाउने निर्णयअनुसार खोला किनारामा मात्र बस्ती खाली गर्न लागेको हो ।
सुकुम्बासी हटाउने प्रधानमन्त्री कार्यालयको निर्देशन गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगिसकेको छ । काठमाडौंपछि भक्तपुरमा रहेको सुकुम्बासी हटाउने तयारी छ । बस्ती खाली भएपछि तत्काल सफा गर्ने र सुन्दरता कायम गर्न अस्थायी संरचना तयार गर्ने योजना छ । बस्ती खाली भएपछि कामपा वातावरण व्यवस्थापन विभाग र कामपा प्रहरीले सफा गर्नेछन् ।
काठमाडौं उपत्यकामा बल्खु, थापाथली, सिनामंगल र शान्तिनगर क्षेत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या छ । विष्णुमती, मनोहरा नदीको बहाव क्षेत्र नै ओगटेर पनि सुकुम्बासी बसिरहेका छन् । तीमध्ये कति वास्तविक सुकुम्बासी हुन् र कति नक्कली हुन् भन्ने यकिन तथ्यांक छैन ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले २०७९ मा काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्बासी बस्तीमा ३ हजार ४ सय ९६ घरधुरी रहेको जनाएको थियो । यसअघि महानगरको सहयोगमा समितिले धोबीखोला, वागमती, विष्णुमती, बालाजुलगायतका क्षेत्रबाट सुकुम्बासी बस्ती हटाएको थियो । खोला किनारामा बसोबास गर्नेमध्ये करिब १० प्रतिशतमात्र सुकुम्बासी रहेको दाबी गरिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाले वागमती र धोबीखोला करिडोर क्षेत्रअन्तर्गत थापाथलीस्थित रुद्रेश्वर मन्दिर आसपासमा बनेका संरचना हटाइसकेको छ । खोला किनारामा कतिपय धार्मिक संस्थाले किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डलीलगायतका संरचनाहरू निर्माण गरेका थिए । यसअघि समितिले शंखमूल नजिक रहेको समितिकै नेतृत्वमा सत्य साई बाबा ध्यान केन्द्र, ओम शान्तिको सभा हल र रुद्रेश्वर मन्दिर हटाइसकेको छ । सरकारले खोला किनाराको सौन्दर्य कायम गर्न सुकुम्बासी बस्ती हटाउन थालेको हो ।











प्रतिक्रिया