काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत तीन सातामा विभिन्न सेवा समूहका २ सय २२ जना कर्मचारीको सरुवा र पदस्थापन गरे पनि सरुवा कार्यान्वयनमा भने उदासीनता देखाएको छ ।
रास्वपाकी युवा नेत्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै उहाँले स्थानीय तहमा रिक्त रहेका स्थानमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाएर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिनुभएको थियो । साथै स्थानीय तहमा लामो समयदेखि रहँदै आएको ‘निमित्तको रोग’ हटाएर सबै स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत पठाउनसमेत मन्त्री रावलले निर्देशन दिनुभएको थियो ।
मन्त्रीको सोही सक्रियता र निर्देशनलगत्तै मन्त्रालयले चैत १९ गते नै विभिन्न गाउँपालिकाहरूमा ७८ जना प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । त्यसयता मन्त्रालयले ७४ जना उपसचिवको समेत विभिन्न निकायमा पदस्थापन गरेको छ । यसरी मन्त्रालयका अनुसार विगत तीन सातामा मात्रै विभिन्न सेवा समूहका अधिकृत र उपसचिव गरी २ सय २२ जना कर्मचारीको सरुवा र पदस्थापन गरिएको छ ।
पदस्थापन गरिएका ७४ जना उपसचिव तोकिएको स्थानमा हाजिर हुन गए पनि सरुवा भएका अन्य डेढ सयमध्ये आधाजसो कर्मचारी भने तोकिएको निकायमा हाजिर हुन नगई आलटाल गरेर बसिरहेको बताइएको छ ।
मन्त्री रावलले सरुवा भएका कर्मचारीहरूलाई छिटोभन्दा छिटो तोकिएको स्थानीय तहमा पठाउन सचिव तथा सहसचिवलाई निर्देशन दिँदै आउनुभएको छ । तर, मन्त्रालयको प्रशासनिक नेतृत्व भने मन्त्रीको स्पिरिटअनुसार अघि बढ्न नसकेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ ।
मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले कडाइ गर्न नसक्दा कर्मचारीहरू तोकिएको ठाउँमा जान आलटाल गरिरहेको मन्त्रालयका ती कर्मचारीको भनाइ छ । यद्यपि, सचिव पौडेलले मन्त्रालयका अधिकारी सरुवा कार्यान्वयनको विषय सम्बन्धित मन्त्रालयको समेत हुने र ती मन्त्रालय र निकायले आवश्यक सहयोग नगर्दा समस्या भइरहेको गुनासो गर्दै आइरहनुभएको बताइएको छ ।
मन्त्री रावलले पनि सचिवलगायत मन्त्रालयका महाशाखा प्रमुखहरूलाई आफ्नो स्पिरिटअनुसार उच्च गतिका साथ परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिँदै आइरहनुभएको छ ।
मन्त्रालयले निजामती सेवा ऐनविपरीत हुने गरी आफंैले गरेको सरुवा आफंै बदर गर्दा मन्त्री रावललाई समेत थाहा दिएको थिएन । यस विषयमा मन्त्री रावल असन्तुष्ट बनेको बताइएको छ । निजामती सेवा ऐनको दफा १८ को उपदफा १२ अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा बदर गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै छ । तर, मन्त्रालयले केही दिन अघिमात्रै सोही ऐनविपरीत हुने गरी एक उपसचिवको आफैंले गरेको सरुवा आफंै बदर गरेको थियो ।
यस विषयमा मन्त्री रावलले सचिव पौडेलसँग स्पष्टीकरण लिनुभएको बताइएको छ । आगामी दिनमा यसखालको निर्णय गर्दा आफूलाई जानकारी गराएर मात्रै गर्न मन्त्री रावलले सचिव पौडेललाई निर्देशन दिनुभएको मन्त्रीनिकट स्रोतले जानकारी दियो ।
मन्त्री रावलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही महत्वपूर्ण नीतिगत सुधारका कार्यहरू गर्नुपर्ने तथा सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने सम्बन्धमा विशेष काम गर्न मन्त्रालयका अधिकारीहरूलाई निरन्तर निर्देशन दिँदै आइरहनुभएकाले मन्त्रालयका अधिकारीहरू सो कार्यका लागि खटिरहेको बताइएको छ । साथै, मन्त्रीकै सक्रियतामा संघीय निजामती सेवा विधेयकको मस्यौदा बनाउने कामसमेत धमाधम भइरहेको मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया