गृहमन्त्री गुरुङले नैतिकता देखाउँदै दिए राजीनामा

सबै जनालाई सत्यको बाटोमा हिँड्न आग्रह


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको छ । गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष दिएको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री बालेनले गृह मन्त्रालय आफ्नै जिम्मेवारीमा राख्नुभएको छ ।

नागरिक स्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका जनचासोलाई गम्भीर रूपमा लिएको उहाँले स्पष्ट पार्दै गृहमन्त्री सुधनले बुधबार सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गर्नुभएको थियो । आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको उहाँको भनाइ छ । आफ्नो सेयरको विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै उहाँले अरूलाई पनि सत्यको बाटोमा उभिन आग्रह गर्नुभएको छ ।

राजीनामा दिँदै उहाँले भन्नुभएको छ– ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् । पदमा रहँदा कन्फ्लिक्ट अफ इन्टेरेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’

उहाँले नैतिकताको आधारमा राजीनामा दिएको जनाउनुभएको छ ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ गुरुङले भन्नुभएको छ ।

उहाँले आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको जिकिर गर्दै भन्नुभएको छ–‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन–जी आन्दोलनले पनि यही सन्देश दिएको छ ।’