काठमाडौं।
नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत मनाइएको छ। कार्यक्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, वर्तमान सहकार्य तथा भावी सम्भावनाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री रमेश नाथ पाण्डे, परराष्ट्र मन्त्रालय (युरोप डिभिजन) का सहसचिव गणेश प्रसाद ढकाल, नेपालका लागि रुसी महासंघका कार्यवाहक राजदूत (Chargé d’Affaires) रिन्चेन रक्षाायेभ तथा रुसका लागि नेपालका पूर्व राजदूत हिरणयलाल श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो।
छलफलमा नेपाल र रुसबीच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्धले समयसँगै विकास सहकार्य, शिक्षा, पूर्वाधार, जलविद्युत र स्वास्थ्यजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरियो। वक्ताहरूले सोभियत संघ र त्यसपछिको रुसी महासंघले प्राविधिक सहयोग, शैक्षिक आदान–प्रदान र क्षमता अभिवृद्धिमार्फत नेपालको विकासमा दीर्घकालीन भूमिका खेलेको बताए।

उद्घाटन मन्तव्यमा अनास्तासिया खोखलोभाले नेपाल–रुस सम्बन्धको बल सांस्कृतिक तथा शैक्षिक आदान–प्रदानमा निहित रहेको उल्लेख गर्दै पुस्तौँसम्म जोडिने मानवीय सम्बन्धको महत्त्व औंल्याइन्।
कार्यक्रममा सहसचिव गणेश प्रसाद ढकालले नेपालको भावी अन्तर्राष्ट्रिय सहकार्यबारे दृष्टिकोण प्रस्तुत गरे। उनले नेपालले पूर्वाधार विकास, शिक्षा, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा केन्द्रित अर्थपूर्ण अन्तर्राष्ट्रिय साझेदारी खोजिरहेको बताए। साथै, उनले जनस्तरको सम्बन्ध सुदृढ गर्न सार्वजनिक कूटनीतिक पहलहरू आवश्यक रहेको उल्लेख गरे।
मुख्य अतिथि रमेश नाथ पाण्डेले द्विपक्षीय सम्बन्धको ऐतिहासिक स्थायित्वलाई स्मरण गर्दै त्यसको आधुनिकीकरण आवश्यक रहेको बताए। उनले जनताको आकांक्षासँग जोडिएको सहकार्यलाई नै साँचो मित्रताको आधार मान्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा जनस्तरको कूटनीतिलाई विशेष जोड दिइएको थियो। वक्ताहरूले पर्यटन, सांस्कृतिक सम्पर्क र प्रत्यक्ष हवाई उडानमार्फत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए।
समापन मन्तव्यमा रिन्चेन रक्षाायेभले नेपाल–रुस सम्बन्ध समानता, पारस्परिक सम्मान र अहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै भविष्यमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
कार्यक्रमले ७०औँ वार्षिकोत्सवलाई केवल विगतको स्मरणमा सीमित नराखी, शिक्षा, युवा आदान–प्रदान, पर्यटन र सांस्कृतिक सहकार्यजस्ता क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।











प्रतिक्रिया