कोशी प्रदेश सरकारद्वारा बेल्टारका अग्नि पीडितलाई राहत वितरण

752
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैंक लाइन क्षेत्रमा मंगलबार राति भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कोशी प्रदेश सरकारले घटना भएको २४ घण्टा नबित्दै राहत उपलब्ध गराएको छ ।

बुधबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल, बाल्टीन लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ ।

मंगलबार रातिको आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति ३० वर्षका पवन खड्काको जलेर दुःखद मृत्यु भएको थियो ।

घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर निस्कन नपाई ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । आगलागीमा जलेर मृत्यु हुने एक जनालाई १ लाख रुपैयाँ र एकै परिवारका थप सदस्यको मृत्यु भएमा थप ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रदेश सरकारको नीति अनुसार एकै परिवारका दुई जनाको मृत्यु भएको हुँदा उक्त परिवारले पाउने १ लाख ५० हजार रुपैयाँ राहत रकम प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिसकेको राज्यमन्त्री गौतमले जानकारी दिनुभयो ।