नेपाली एमएमएकी उदीयमान तारा युगीन शर्मा

फाइटर युगीनको यूएफसी च्याम्पियन बन्ने लक्ष्य

0
Shares

नेपाली खेलकुदको आकाशमा एउटा यस्तो ताराको उदय भएको छ, जसको मुट्ठीमा पहाड खार्ने अदम्य शक्ति लुकेको छ भने आँखामा विश्वकै प्रतिष्ठित मार्सल आट्र्स मञ्च ‘अल्टिमेट फाइटिंग च्यालेन्ज’ (यूएफसी) को स्वर्ण बेल्ट चुम्ने सपना । २१औं शताब्दीकी यी साहसी नेपाली नारी केवल कोमल भावना र समाजले कोरेको परम्परागत परिभाषामा मात्र सीमित छैनन् । जब उनी स्टिलको जालीबाट निर्मित आठवटा कोणयुक्त अक्टागन भित्र छिर्छिन्, तब विपक्षीका लागि एउटा अभेद्य तगारो र कहिल्यै नझुक्ने योद्धा सावित हुन्छिन् । उनी हुन् “एमएमए” अर्थात् नयाँ युगको फुल कन्ट्याक्ट मार्सल आर्ट्स फाइटर युगीन शर्मा । जसलाई नेपाली महिला मिक्स्ड मार्सल आट्र्स (एमएमए) को क्षेत्रमा ‘फेरोसियस’ अर्थात् ‘भयानक’ उपनामले चिनिन्छ । भर्खरै २१ वर्षमा टेकेकी, ५ फिट ४ इन्च उचाइ र ५२ केजी तौलकी यी नेपालकै युवा एमएमए लडाकु सुन्दरीले अहिले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दरिलो उपस्थिति मात्र होइन, एउटा नयाँ इतिहासको पटकथा समेत लेखिरहेकी छन् ।

युगीनको यो यात्रा केवल एउटा खेलाडीले रोज्ने सामान्य गन्तव्य मात्र होइन, नेपाली समाजले एउटी छोरीप्रति राख्ने पुराना र संकुचित अपेक्षाहरूलाई योजनाबद्ध रूपमा भत्काउने एउटा साहसी विद्रोह पनि हो । उनी व्यक्तिगत डरलाई जितेर र रगत–पसिना बगाएर देशको झन्डा विश्वसामु लैजाने अभियानमा होमिएकी छन् । एमएमए खेल्नका लागि बनाइएको अष्टकोणीय जालीयुक्त घेरा, जसलाई ‘अक्टागन’ भनिन्छ, त्यसका फलामे ढोकाहरूले केवल दुई लडाकुहरूलाई मात्र थुनेर राख्दैनन्, तिनले युगीन जस्ता खेलाडीको महत्वाकांक्षा, त्याग र मानवीय इच्छाशक्तिको आँधीबेरीलाई पनि आफूभित्र समाहित गरेका हुन्छन् । त्यो फलामे घेराभित्र युगीनले आफ्नो अस्तित्वको खोजी मात्र गर्दिनन्, हरेक प्रहारसँगै नेपाली नारीको शक्तिलाई विश्वस्तरमा प्रमाणित गर्ने कसमसमेत खाएकी हुन्छिन् ।

युगीनको मार्सल आट्र्सको औपचारिक यात्रा सन् २०२१ बाट सुरु भएको थियो । जुन समय उनले आफ्नो जीवनको चुनौतीपूर्ण र जोखिमपूर्ण बाटो रोज्ने दृढ संकल्प गरिन् । सुरुमा ‘बक्समाण्डु’ क्लबमार्फत बक्सिङको लयवद्ध प्रहारबाट आफ्नो करियरको जग बसालेकी उनले प्रशिक्षक सन्दिप श्रेष्ठबाट बक्सिङको आधारभूत सीप सिकिन् । त्यसपछि नक्सालस्थित ‘रेज फिटनेस’ मा पुगेपछि उनको क्षमताले अझ फराकिलो रूप लियो । त्यहाँ उनले किक–बक्सिङ, मुवाँ थाईको आक्रामक कला, कुस्तीको प्राविधिक संघर्ष र जिउ–जित्सु जस्ता जटिल मार्सल आर्ट्सका विधाहरूमा आफूलाई निखारिन् । एउटा पूर्ण कदको फाइटर बन्नका लागि आवश्यक पर्ने मानसिक दृढता र शारीरिक निपुणता उनले अथक मिहिनेत र अनुशासनबाट आर्जन गरेकी छन्, जसले उनलाई आजको यो स्थानमा ल्याई पु¥याएको छ ।

उनको खेल करियर सुरु भएकै वर्ष नेपालका लागि पहिलो एमेच्योर अन्तर्राष्ट्रिय एमएमए प्रतियोगितामा ५२ केजी तौल समूहमा स्वर्ण पदक जितेर उनले आफ्नो अपार क्षमताको प्रमाण पेश गरिन् । सफलताको सिलसिला त्यतिमा मात्र रोकिएन । सोही वर्ष अल नेपाल नेशनल नोभिस बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनले ‘फाइटर अफ द डे’ को विशिष्ट अवार्डसमेत हात पारिन् । ‘द कन्टेन्डर सिरिज’ मा मुवाँ थाईतर्फ नगद पुरस्कारसहितको जित र मंगलादेवी किकबक्सिङमा उनले प्रदर्शन गरेको दमदार शैलीले आयोजकहरूलाई समेत ‘शो–स्टपर’ को संज्ञा दिन बाध्य बनायो । यी सुरुवाती विजयहरू ती झिल्काहरू थिए, जसले युगीनभित्र एउटा ठूलो आगो बाल्यो र यो सावित गरिदियो कि उनको ‘फेरोसियस’ उपनाम कुनै सस्तो प्रचार होइन, पसिनाले आर्जेको एक वास्तविक पहिचान हो ।

प्रत्येक ‘पर्फमेन्स अफ द नाइट’ र हरेक स्वर्ण पदकको चमक पछाडि एउटा यस्तो कठोर र कष्टपूर्ण दिनचर्या लुकेको छ, जसले सामान्य मानिसको हिम्मतलाई सजिलै गलाउन सक्छ । युगीनको जीवन अहिले शारीरिक र मानसिक शुद्धीकरणको एक अनुशासित चक्र बनेको छ । उनले आफ्नो दैनिक जीवनलाई तीनवटा कठिन खण्डहरूमा विभाजित गरेकी छन् । जसमा दैनिक ४ देखि ५ घन्टाको कठोर श्रम समावेश हुन्छ । बिहान सबेरै उठेर दौड र कार्डियोमार्फत स्टामिना बढाउने, दिउँसो सीप र प्रविधिको मिहिन अभ्यास गर्ने र साँझ शरीरलाई फलाम जस्तै बलियो बनाउन वेट लिफ्टिंग तथा कन्डिसनिङ गर्ने उनको नियमित तालिका हो । हुक प्रहार गर्दा चिउँडोको सन्तुलन मिलाउनेदेखि विपक्षीलाई भुइँमा ढाल्ने टेक्निकसम्म उनी घण्टौं अभ्यास गर्छिन्, ताकि रिङभित्र कुनै सानो गल्तीको ठाउँ नरहोस् ।


‘रेज फाइट टिम’ को सदस्यका रूपमा प्रशिक्षक सन्देश पालुङ्गवा लिम्बुको रेखदेखमा उनले आफ्नो शरीरलाई एक उच्च क्षमताको मेसिन जस्तै बनाएकी छन् । प्रशिक्षण मात्र होइन, खानपानमा पनि उनी उत्तिकै सचेत र निर्मम छिन् । विशेषगरी खेलअघि तौल घटाउनुपर्ने समयमा उनले पिउने पानीको एक–एक थोपाको समेत हिसाब राख्नुपर्छ । जुन एक खेलाडीका लागि सबैभन्दा ठूलो परीक्षा मानिन्छ । यस्तो कठिन समयमा उनका गुरुको प्रत्यक्ष निगरानीले उनलाई थप जिम्मेवार बनाउँछ । यद्यपि, युगीनले लडेका सबैभन्दा कठिन लडाइँहरू सधैँ अक्टागनको जालीभित्र मात्र सीमित थिएनन् । उनको यो यात्रामा एउटा गहिरो भावनात्मक बोझ र पारिवारिक विमतिको अग्लो पर्खाल पनि थियो, जसलाई पार गर्नु उनको अर्को ठूलो चुनौती थियो ।

विशेषगरी उनकी आमा वसन्ता मल्ल शर्माको मन सधैं छोरीको अनुहारमा लाग्ने चोट, रगत र दागहरू देखेर पिरोल्थ्यो । आमाको ममतामय चाहना थियो कि युगीनले कम्प्युटर पढेर कुनै सुरक्षित जागिर गरोस् वा शान्त प्राज्ञिक करियर बनाएर सम्मानजनक जीवन बिताओस् । तर, युगीनको भित्री हृदयमा त अर्कै ज्वाला दन्किरहेको थियो । यस यात्रामा उनले आफ्नो बुवा अनिल कुमार शर्मामा शक्तिको एउटा अटुट स्तम्भ भेटिन् । “संसारको सबैभन्दा उच्च स्थानमा पुग्ने लक्ष्य राख्नुपर्छ” भन्ने बुबाको प्रेरणादायी शब्दहरूले उनलाई सधैं अगाडि बढ्न ऊर्जा दिइरह्यो । कम्प्युटर साइन्समा स्नातक तह (बिएससी.सिएसआइटी) जस्तो प्राविधिक विषय पूरा गरेर शैक्षिक उपलब्धि हासिल गरिसकेकी युगीनले अन्ततः आरामदायी अफिसको कुर्सीको सट्टा पसिनाले भिजेको म्याट र चुनौतीले भरिएको रिङलाई नै आफ्नो संसार रोजिन् ।

युगीनको आत्मविश्वासको तह यति उच्च छ कि उनी भन्छिन्,–“यदि म खेलकुदमा नआएको भए सायद सेनामा भर्ना हुन्थेँ, किनकि मलाई शारीरिक र मानसिक रूपमा अत्यन्तै बलियो र अनुशासित हुनु थियो ।” सुरुका दिनहरूमा रिङभित्र छिर्न डर लाग्ने यी युवतीले आज आफ्नो त्यही डरलाई नै सबैभन्दा शक्तिशाली हतियार बनाएकी छन् । शरीरलाई क्षणभरमै पक्षघात समेत गराउन सक्ने भीषण डरमाथि विजय प्राप्त गर्नु नै सायद आजसम्मको उनको सबैभन्दा ठूलो व्यक्तिगत जित हो । हालैको कुरा हो, सहयोगीहरुको साथ र जसोतसो आफ्नै स्रोतमार्फत खर्च जुटाएर सन् २०२६ को जनवरीमा श्रीलंकामा आयोजित ‘कर्मा फाइट लिग ००७’ मा युगीनले दोस्रो पटक आफ्नो अन्तर्राष्ट्रिय किक–बक्सिङ खेल खेलिन् । दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका लगायत अमेरिकासम्मका खेलाडीहरू सहभागी भएको उक्त मञ्चमा युगीनले आयोजक देशकी प्रतिस्पर्धीलाई पहिलो राउण्डमै टेक्निकल नकआउट (टिकेओ) गर्दै सानदार जित हासिल गरेर सनसनी मच्चाईन ।

अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन हुँदा पनि उनले आफ्नो कौशलता र धैर्यतामा कुनै कमी आउन दिइनन् । यो जितले उनको समग्र फाइट रेकर्डलाई थप उचाइमा पु¥याएको छ । हाल उनको प्रोफाइलमा बक्सिङमा ४–१, मुवाँ थाईमा २–१ र एमएमएमा २–० को प्रभावशाली नतिजा समावेश छ । नेपालमा एमएमए अझै पनि शैशवकालमै छ र सरकारी स्तरबाट सहयोगको अपेक्षा गर्न गा¥हो छ । यहाँ व्यावसायिक स्तरमा प्रतिस्पर्धा गर्ने युगीन शर्मा र सुनिता धामी जस्ता महिला खेलाडीहरू औंलामा गन्न सकिने मात्र छन् । यस्तो स्रोत र साधनको अभावमा पनि युगीनले यूएफसी जस्तो विश्वकै सबैभन्दा ठूलो फुल कन्ट्याक्ट फाइटको मञ्चमा पुगेर च्याम्पियनसिप बेल्ट जित्ने र नेपालको शिर विश्वसामु गर्वले उचो बनाउने स्पष्ट लक्ष्य लिएकी छन् ।

युगीन ‘द फेरोसियस’ केवल एक खेलाडी मात्र होइनन्, उनी आधुनिक नेपाली नारीको सोच र सामाजिक परिवर्तनकी एक बलियो संवाहक पनि हुन् । शिक्षित, अनुशासित र आफ्ना सपनाका लागि रगत र पसिना बगाउन नडराउने उनी नयाँ पुस्ताका नेपाली मार्सल आर्ट्स खेलाडीहरुका लागि एक मार्गदर्शक र संरक्षक बन्न चाहन्छिन् । उनको यात्रा त भर्खर सुरु भएको छ र उनले जित्न बाँकी अझै धेरै बेल्टहरू र संसारका ठूला मञ्चहरू छन् । खेलका राउन्डहरूबीचको त्यो कौतुहलपूर्ण र निशब्द क्षणमा जब दर्शकहरू चिच्याइरहेका हुन्छन् र सास फेर्न गा¥हो भइरहेको हुन्छ, युगीन केवल एउटा जितका लागि मात्र लडिरहेकी हुँदिनन्, उनी यो प्रमाणित गर्न लडिरहेकी हुन्छिन् कि नेपालकी एउटी छोरीले पनि साहस गरेमा विश्वलाई आफ्नो मुट्ठीमा राख्न सक्छे ।

भविष्यमा कुनै एक दिन जब यूएफसीको अक्टागनमा उद्घोषकले “युगीन शर्मा फ्रम नेपाल” भनेर ठूलो स्वरमा सम्बोधन गर्नेछन्, तब सारा विश्वले नेपाली नारीको शक्तिलाई सलाम गर्नेछ । उनको साहस र समर्पणले यो कुरालाई झल्काउँछ कि अक्टागनको त्यो घेरा भौगोलिक रूपमा सानो भए पनि त्यहाँभित्र जन्मिएका र हुर्किएका युगीनका सपनाहरू भने अनन्त, विशाल र सबैका लागि प्रेरणादायी छन् । आफ्नो लक्ष्यप्रति अडिग यी लडाकू सुन्दरीको यात्राले आगामी दिनमा थुप्रै नयाँ खेलाडीहरूलाई रिङभित्र छिर्ने साहस प्रदान गर्नेछ र नेपाली खेलकुदको इतिहासमा एउटा गौरवशाली अध्याय थपिने निश्चित छ ।