ओखलढुङ्गा ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजनामा छैटौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईको सह-अध्यक्षतामा जिल्ला समन्वय समिति ओखलढुङ्गाका उप प्रमुख, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख -उप प्रमुख तथा समन्वय समितिका सदस्यहरूको उपस्थितिमा जिल्ला सभा सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाको सभा हलमा बुधवार सम्पन्न सभाले विभिन्न सामाजिक क्षेत्रका १६ वटा विषयमा छलफल गरी सर्व सहमतिले पारित गरिएको छ । सभामा ओखलढुङ्गामा विकास आयोजना छनौट गर्दा सामाजिक, आर्थिक लाभ र जलवायु परिवर्तनका नकरात्मक असरहरूलाई न्यून अनुकुलन क्षमतामा वृद्धि गर्ने योजना बनाउने निर्णय गरेको छ ।

सभाले उत्पादनशील तथा रोजगारमुखी योजनालाई उच्च प्राथमिकतामा राख्ने, सामाजिक न्याय र समावेशिता प्रवर्द्धन गर्ने तथा वातावरणमैत्री विकासलाई अघि बढाउने नीति लिएको छ । साथै, स्थानीय सीप र प्रविधिको उपयोग बढाउने, युवालाई सीप विकासमा जोड्ने र बहुवर्षीय योजनामार्फत रोजगारी सिर्जना गर्ने निर्णयसमेत गरिएको छ । त्यसैगरी, सञ्चालनमा रहेका योजनाहरू समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायी माथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ ।
यसैगरी नापी कार्यालय ओखलढुङ्गाको भवन निर्माणका लागि आवश्यक जग्गाको भु उपयोग स्वामित्व हस्तान्तरण गर्ने र सिद्धिचरण नगरपालिकामा तिलगङ्गा सर्जिकल आँखा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय समेत सभामा निर्णय गरिएको छ । सभाले वातावरण मैत्री समाज निर्माण, युवा स्वरोजगार, अपाङ्ग मैत्री समाज निर्माण जस्ता विषय बस्तुहरूलाई प्राथमिकतामा राखी नीतिहरू पारित गरिएको जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले बताउनु भयो ।

सभासँगै आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा पनि गरिएको थियो । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा सञ्चालन गरि रहेका विभिन्न योजनाहरूको समीक्षा गरिएको जिल्ला समन्वय अधिकारी शान्ता कडरियाले बताउनु भयो ।











प्रतिक्रिया