काठमाडौं।
गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयलाई लिएर नागरिक स्तरबाट बढ्दै गएको जनचासो र प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उनले नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।
२०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गरेका छन्। उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै पदमा रहँदा कुनै प्रकारको ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।
गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन्। विशेषगरी युवापुस्ताबाट उठिरहेको आवाजलाई सकारात्मक रूपमा लिँदै उनले यसले नेतृत्वलाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे।
उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आह्वान गर्दै परिवर्तनका लागि सबैले नैतिक साहस देखाउनुपर्ने धारणा राखेका छन्।
गुरुङको राजीनामासँगै अब सम्बन्धित निकायबाट उक्त विषयमा छानबिन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया