नयाँ सरकार, पुरानै चुनौती


झन्डै दुई तिहाइ बहुमतको सरकार गठन भएको तीन हप्ता पनि नपुग्दै मन्त्रीहरूको नैतिकता र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ । यो कुनै सुखद संकेत होइन । जनताले ठूलो बहुमत दिएको सरकारले जनताको पक्षमा काम गर्छ भन्ने विश्वासमाथि अहिले मन्त्रीहरूका बारेमा भइरहेका टिप्पणीले गम्भीर प्रश्नचिह्न लगाएको छ ।

विशेष गरी, नयाँ र पुराना दलबीचको भिन्नता दर्शाउन खोजिएको राजनीतिक प्रयोगमा पनि ठूलो धक्का लागेको छ । जेनजी आन्दोलनपछि बनेको यो सरकारमा रहेका केही मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा तीव्र आलोचना शुरु भयो । तर, त्यो मात्र ठूलो समस्या थिएन । भ्रष्टाचार, तानाशाही र कृपावादको विरुद्धमा आवाज उठाउँदै आएको पार्टीबाट मन्त्री बनेका व्यक्तिले नै आफ्नी श्रीमतीलाई लाभको पदमा नियुक्त गरेको आरोपले सिंगो सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । यस्तो आरोपबाट मुक्त हुन नसकेपछि ती मन्त्रीले राजीनामा दिन बाध्य हुनु अत्यन्त दुःखद संयोग हो ।

अहिले जसरी सरकार र मन्त्रीहरूको कार्यशैलीमाथि टिप्पणी हुन थालेको छ, यसले दुईवटा गम्भीर पक्षलाई उजागर गरेको छ । पहिलो, सरकार आफैंले जनतालाई दिएको बाचा र आचरणबीचको तालमेल कमजोर देखिएको छ । दोस्रो, नयाँ दल र पुराना दलबीचको नैतिकताको खाडल मेटिन सकेको छैन ।

पुराना दलमाथि भ्रष्टाचारको आरोप लगाउनेहरू आफैं पनि त्यही व्यवहारबाट मुक्त नरहेपछि जनताको मनमा ठूलो मोहभंग भएको छ । यसले एउटा स्पष्ट सन्देश दिन्छ– अब सत्तामा बस्नेहरूले अरूमाथि दोषारोपण गर्नुभन्दा पहिले आफ्नो विगतको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । जनताले पारदर्शिता र जवाफदेहिता माग गरिरहेका छन् । सम्पत्ति विवरण सार्वजनिक गर्नु र नियुक्तिमा पारदर्शिता अपनाउनु अबको अनिवार्य सर्त हो ।

सरकारलाई काम गर्न सहज वातावरण चाहिन्छ । तर शुरुवाती चरणमै मन्त्रीहरूको नैतिकतामाथि प्रश्न उठ्दा सरकारको मनोबल कमजोर हुन्छ, जनताको विश्वास डगमगाउँछ र विपक्षलाई हतियार मिल्छ । यसले सुशासनको बाटोमा ठूलो बाधा पु¥याउँछ ।

अतः अहिलेका मन्त्रीहरूले आफूमा कुनै कमी–कमजोरी वा विगतमा त्रुटि भएको महसुस गरेमा सोझो रूपमा स्वघोषणा गरेर सार्वजनिक माफी माग्नु सबैभन्दा उत्तम विकल्प हुनेछ । ढिला गर्दा न त व्यक्तिको राजनीतिक भविष्य सुरक्षित रहन्छ, न सरकारको साख नै । जनताले इमानदारी र पारदर्शिता नै खोजेका छन्, बहाना होइन । त्यसैले, बेलैमा विवेक पु¥याउनु नै बुद्धिमानी हो । अन्यथा, यो सरकार पनि पुराना सरकारजस्तै छिटो अविश्वासको घेरामा आउन सक्छ । जनता सचेत छन्, उनीहरू अब उही पुरानो खेल हेरेर बस्ने छैनन् । यो सरकारलाई सफल बनाउन हो भने पहिलो पाठ आत्मशुद्धि नै हो ।