नेप्से ४४.५९ अंकले बढ्यो, कारोबार पनि बढ्दै २६५२ अंकमा


काठमाडौं ।

बुधबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्ला सात कारोबार दिन लगातार घटेको बजार आज ४४.५९ अंकले बढेर नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ।

दिनभर बजार हरियो रह्यो भने कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो।

बजारमा २५२ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनी स्थिर रहे। सबै समूहका सूचकहरू वृद्धि भएका छन्।

विशेषगरी उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा पनि वृद्धि देखिएको छ।