काठमाडौंस्थित बंगलादेश दूतावासमा ‘पहेला बोइशाख’ उल्लासपूर्ण रूपमा मनाइयो


काठमाडौ ।

काठमाडौंस्थित बंगलादेश दूतावासले बंगलादेशी नयाँ वर्ष १४३३ को पहिलो दिन ‘पहेला बोइशाख’ शुक्रबार दूतावास परिसरमा उत्साह र उल्लासका साथ मनाएको छ।

कार्यक्रममा दक्षिण एसियाली तथा अन्य विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, विभिन्न मुलुकका कूटनीतिज्ञ, नेपाली उद्योगी–व्यवसायी, नेपालमा बसोबास गर्ने बंगलादेशी समुदाय तथा उनीहरूका परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। भारत, पाकिस्तान, म्यानमार र श्रीलंकाका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई क्षेत्रीय स्वरूप दिएको थियो।

स्वागत मन्तव्यमा बंगलादेशका राजदूतले ‘पहेला बोइशाख’ को उत्पत्ति र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यस पर्वले बंगलादेशको विशिष्ट इतिहास, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई समेट्ने बताए। उनले यो पर्वले प्रत्येक वर्ष समाजमा परिवर्तन र नयाँ सुरुवातको सन्देश बोकेर आउने उल्लेख गरे।

‘हलखाता’ जस्ता परम्पराले नयाँ आर्थिक वर्षको सुरुवातलाई जनाउने बताउँदै उनले यो पर्वले धर्म, समाज र भौगोलिक सीमाभन्दा माथि उठेर साझा सांस्कृतिक भावना अभिव्यक्त गर्ने धारणा राखे।

राजदूतले दक्षिण तथा दक्षिण–पूर्व एसियाबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन यस्ता पर्वहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विभिन्न देशबीच आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताए।

उनले ६औँदेखि १२औँ शताब्दीसम्मका बौद्ध भिक्षुहरूले रचना गरेका ‘चर्यापद’ लाई बंगाली भाषाको प्रारम्भिक लिखित स्वरूपका रूपमा उल्लेख गर्दै यसलाई मानव सभ्यताको साझा सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गरे।

नेपाल र बंगलादेशबीचको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धले दुई देशबीच सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवर्द्धनका लागि बलियो आधार तयार पारेको पनि उनले बताए।

प्रमुख अतिथिले बंगलादेशको समृद्ध सांस्कृतिक परम्पराको प्रशंसा गर्दै दक्षिण एसियाली जनताबीच सम्बन्ध सुदृढ बनाउन यस्ता सांस्कृतिक आदान–प्रदान अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले विविधताभित्रको एकता, सहअस्तित्व र सद्भावनाको प्रतीकका रूपमा ‘पहेला बोइशाख’ लाई व्याख्या गरे।

कार्यक्रममा बंगाली र नेपाली गीतसहित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। नेपाली कलाकार सबु लामा तथा स्थानीय विद्यालयका विद्यार्थीहरूले बंगाली र नेपाली गीत प्रस्तुत गरेका थिए। बंगलादेशी समुदायका सदस्यहरूको सहभागिताले कार्यक्रम अझ आकर्षक बनेको थियो। बालबालिकाका लागि मनोरञ्जनात्मक खेलकुद तथा पुरस्कार वितरण कार्यक्रमले उत्सवमा थप रौनक थपेको थियो।

दूतावास परिसर रंगीन झिलिमिली सजावट र परम्परागत बंगलादेशी सामग्रीले सिँगारिएको थियो। कार्यक्रममा सहभागी पाहुनाहरूलाई ‘पान्ता–इलिश’ (भिजाइएको भात र हिल्सा माछा) लगायत नयाँ वर्षसँग सम्बन्धित परम्परागत परिकार तथा विभिन्न मिठाई परोसिएको थियो।

कार्यक्रमले नेपाल र बंगलादेशबीचको सांस्कृतिक समानतालाई पनि उजागर गरेको थियो। बंगलादेशको ‘पहेला बोइशाख’ र नेपालको ‘नयाँ वर्ष’ दुवै सौर पात्रोअनुसार मध्य अप्रिलमा पर्ने भएकाले यी पर्वहरूले साझा सभ्यतागत सम्बन्ध र मौसमी जीवनशैलीलाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको थियो।

कार्यक्रम अन्त्यमा परम्परागत बंगलादेशी परिकारसहितको रात्रीभोजसँगै सम्पन्न भएको थियो।