रास्वपा सचिवालय बैठक आइतबार, महाधिवेशन तयारी मुख्य एजेन्डा


काठमाडौँ ।

काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका छन्। प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशन तयारी केन्द्रमा राखेर ६ वटा मुख्य एजेन्डामा छलफल हुनेछ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय प्रमुख रहनेछ। साथै आर्थिक पारदर्शिता सुनिश्चित गर्न बैंक खाता सञ्चालनबारे पनि निर्णय लिइनेछ।

पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागमा मनोनयनसम्बन्धी विषय पनि उठाइनेछ। यसपटक ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ पहलसमेत बैठकको एजेन्डामा समेटिएको छ।

यस्तै, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।