काठमाडौँ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ले सरकारले गरिब नागरिकमाथि लुटपाट मच्चाएको आरोप लगाएका छन्। समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्दै उनले संसद् प्रतिपक्षविहीन बनेको दाबी गरे।
उनका अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने अपेक्षा गरिए पनि उपसभामुख लिएर सरकारमै सहभागी भएपछि प्रभावकारी प्रतिपक्ष नरहेको स्थिति बनेको हो। उनले गरिब नागरिकमाथि अन्याय हुँदा पनि प्रतिपक्षी दलहरू मौन रहेको आरोप लगाए।
प्रसाईँले निर्वाचन परिणामपछि अधिकांश दल संकटमा रहेको र केही दल फुटको अवस्थामा पुगेकाले नागरिकको पक्षमा आवाज उठाउन नसकेको बताए। साथै, सरकारले गरेको विकास सामाजिक सञ्जालमै सीमित भएको उनको टिप्पणी छ।
बालेन शाह प्रति आक्रामक टिप्पणी गर्दै उनले तीन महिना चुप लाग्न आग्रह गर्दा पनि नमानिएको बताए। प्रसाईँले हिन्दु अधिराज्य पुनःस्थापना, एसपीपी र एमसीसी खारेज भएमा सरकारलाई समर्थन गर्न तयार रहेको पनि उल्लेख गरे।
त्यस्तै, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको करिब ९ अर्ब रुपैयाँ अझै भुक्तानी नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। स्वास्थ्य बीमाको १९ अर्ब रुपैयाँ पनि भुक्तानी हुन बाँकी रहेको उनको दाबी छ।











प्रतिक्रिया