काठमाडौँ।
नेपाल प्रभाव मूल्यांकन संघद्वारा “इन्भाइरोन्मेन्ट प्रोफेशनल डे २०२६” भव्य रूपमा मनाइएको छ। उक्त कार्यक्रम अप्रिल १५ मा पाटन संयुक्त क्याम्पसको सभाहलमा वातावरण संरक्षण क्षेत्रमा कार्यरत पेशागत विज्ञहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रमले वातावरणीय क्षेत्रका सरोकारवालाहरूबीच ज्ञान आदान–प्रदान तथा भावी रणनीतिबारे गहन छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ पुस्तालाई वातावरण संरक्षणप्रति आकर्षित गर्ने र यस क्षेत्रमा सक्रिय रूपमा संलग्न गराउने रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरूलाई वातावरणीय चुनौतीहरूबारे सचेत गराउँदै उनीहरूलाई व्यवहारिक तथा अनुसन्धानमुखी काममा प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि पूर्व सचिव अनुप राज उपाध्यायले वातावरणीय क्षेत्रको दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले दिगो विकासका अवधारणालाई व्यवहारमा उतार्न युवामैत्री योजना तथा कार्यक्रमहरू आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, संघका अध्यक्ष मिलन दाहालले पनि वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरू अझ प्रभावकारी र युवा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। संस्थाका सचिव नवराज पोखरेलले दिगो विकास भनेको भविष्यका पुस्तालाई ध्यानमा राखेर गरिने समग्र विकास भएको बताउँदै यसले स्वभाविक रूपमा युवाहरूलाई केन्द्रमा राख्ने उल्लेख गर्नुभयो। उहाँले युवामुखी कार्यक्रमहरू पूर्ण रूपमा वातावरणमैत्री हुनु पर्नेमा विशेष जोड दिनुभयो।
कार्यक्रममा सहप्राध्यापक डा. नारायण गैरेले अनुसन्धान र अध्ययन क्षेत्रमा युवाहरूको सक्रियता बढाउन सरकार, विश्वविद्यालय तथा अन्य सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार वातावरणीय समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन र प्रमाणमा आधारित नीति निर्माण अपरिहार्य छ। कार्यक्रममा वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न विज्ञ तथा पेशागत व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले वातावरणीय चेतना अभिवृद्धि गर्न तथा भावी पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।एन्भाइरोन्मेन्ट प्रोफेसनल दिवस वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा कार्यरत पेशागत विज्ञहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक बर्ष को अप्रिल १५ तारिख मा मनाईने गरिन्छ ।











प्रतिक्रिया