नेपाली फिल्मको दोहोरो चित्र

ब्लकबस्टरको उछाल, सुपरहिटको स्थिरता र फ्लप फिल्मको बढ्दो दबाब

940
Shares

वर्ष २०८२ नेपाली फिल्म उद्योगका लागि संरचनात्मक रूपमै महत्वपूर्ण वर्षका रूपमा देखा परेको छ। वर्षभरिमा प्रदर्शनमा आएका ५६ फिल्मको बक्स अफिस विश्लेषणले उद्योग एकातिर व्यावसायिक विस्तारको चरणमा पुगेको देखाएको छ भने अर्कोतिर असफल फिल्मको उच्च संख्याले बजारको जोखिम र प्रतिस्पर्धा दुवै तीव्र बनेको संकेत दिएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार वर्षभरिका फिल्मको कुल कलेक्सन १ सय ८ करोड २५ लाख देखिएको छ।

ठूला (१ करोडभन्दा माथि) फिल्मबाट मात्र करिब १००.८४ करोड ग्रस कलेक्सन भएको छ भने साना तथा मध्यम (लाख स्तरका) फिल्मले थप करिब ७.४३ करोड योगदान गरेका छन्। यसले के देखाउ“छ भने कुल बजारको आकार १०० करोडभन्दा माथि पुगिसकेको छ। तर, ठूलो हिस्सा केही सीमित फिल्मले ओगटेका छन्। साना फिल्मको संयुक्त योगदान भए पनि प्रभाव तुलनात्मक रूपमा कम छ।


यस वर्ष चार फिल्मले १० करोडभन्दा माथिको कमाइ गर्दै ब्लकबस्टर श्रेणीमा स्थान बनाए। तीमध्ये परान वर्षकै सर्वाधिक सफल फिल्म बन्यो। १७ करोड ७६ लाखभन्दा बढी ग्रस कलेक्सन गर्दै यसले नेपाली बजारमा उच्च व्यापारिक सम्भावनाको संकेत मात्र दिएन, दर्शकको ठूलो आधार अझै सक्रिय रहेको पुष्टि पनि गरेको छ।

ब्लकबस्टरको सूचीमा परानसगै आबाट आमा, जेरी अन टप र ऊनको स्वीटर पनि छन्। आबाट आमाले १३ करोड १३ लाख, जेरी अन टपले १२ करोड २८ लाख र ऊनको स्वीटरले ११ करोड ४१ लाखभन्दा बढी कमाइ गरेका छन्। यी तीन फिल्मको संयुक्त कलेक्सन मात्रै करिब ३६ करोड ८३ लाख पुग्छ। यसले १० करोड क्लब अब अपवाद नभई सम्भावित लक्ष्य बन्दै गएको देखाएको छ।

उता सुपरहिट श्रेणीमा पर्ने फिल्महरूले उद्योगलाई उल्लेखनीय स्थायित्व प्रदान गरेका छन्। जारी २, बलिदान, मोहर, हरि बहादुरको जुत्ता, माग्ने राजा र माइतीघर सबै फिल्मले ४ देखि १० करोडभन्दा कमको दायरामा कमाइ गर्दै मध्यमदेखि उच्च स्तरको व्यावसायिक सफलता हासिल गरेका छन्। यी फिल्मले ब्लकबस्टरबाहेकको बजारलाई मजबुत बनाउ“दै लगानीकर्तामा भरोसा कायम गरेका छन् र नियमित दर्शक उपस्थिति सुनिश्चित गरेका छन्।

त्यसैगरी हिट श्रेणीका फिल्मले पनि उद्योगको आर्थिक संरचना सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेलेका छन्। नरसिंह अवतार, जनै हराएको मान्छे, कोशेढुंगा, रिमै, झरीपछिको इन्द्रेणी र गोबर गणेश सबै फिल्मले १ करोडदेखि ४ करोडको दायरामा कमाइ गर्दै लगानी सुरक्षित गर्ने स्तरको प्रदर्शन गरेका छन्। यी फिल्मले सशक्त सामग्री र लक्षित दर्शक समूह मिल्दा मध्यम बजेटका फिल्म पनि सफल हुनसक्ने स्पष्ट संकेत दिएका छन्।


तर यी सकारात्मक उपलब्धिसगै चिन्ताजनक पक्ष पनि उत्तिकै बलियो छ। बक्स अफिस तथ्यांकअनुसार ५६ मध्ये करिब ३० फिल्म प्mलप भएका छन्, जुन कुल उत्पादनको आधाभन्दा बढी हो। यसले फिल्म उद्योगमा अहिले पनि लगानीको जोखिम उच्च रहेको स्पष्ट देखाएको छ। विशेषगरी कमजोर प्रचार रणनीति, असन्तुलित रिलिज मिति, वितरण व्यवस्थापनको कमजोरी र सामग्रीमा नवीनताको अभावका कारण धेरै फिल्म दर्शकसम्म पुग्नै नसकेको देखिन्छ।

वास्तवमा अहिलेको बजारमा केवल स्टारकास्ट वा प्रचार मात्र पर्याप्त छैन। दर्शकको रुचि तीव्र रूपमा परिवर्तन भइरहेको अवस्थामा बलियो कथा, निर्माण गुणस्तर र डिजिटल प्रचार रणनीति अनिवार्य बन्दै गएको छ। साथै, एउटै मितिमा धेरै फिल्म रिलिज हुदा प्रतिस्पर्धा अस्वस्थ बन्ने र कमाइ विभाजित हुने समस्या पनि देखिएको छ।
२०८२ सालको तथ्यांकले अर्को महत्वपूर्ण संकेत पनि दिएको छ। शीर्ष १० फिल्मको कलेक्सनले कुल बजारको ठूलो हिस्सा ओगटेको छ, जसले आम्दानी केही फिल्ममा केन्द्रित हु“दै गएको देखाउ“छ। यसले साना फिल्मका लागि बजारमा स्थान बनाउन झन् कठिन हु“दै गएको प्रष्ट्याएको छ।

समग्रमा हेर्दा २०८२ नेपाली फिल्म उद्योगका लागि अवसर र चुनौतीको सन्तुलित वर्ष बनेको छ। एकातिर ब्लकबस्टर फिल्मले उद्योगलाई आर्थिक रूपमा माथि उठाएका छन् भने अर्कोतिर ठूलो संख्याका असफल फिल्मले संरचनागत सुधारको आवश्यकता औंल्याएका छन्। आगामी वर्षमा योजनाबद्ध उत्पादन, सन्तुलित वितरण र दर्शकमुखी सामग्री निर्माणमा ध्यान दिन सके मात्र उद्योग दीर्घकालीन रूपमा स्थिर र सशक्त बन्न सक्ने देखिन्छ।